रेडियोसेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ । आकासमा एक्कासि नाइटभिजन भटटटट गर्दै आयो । लाइटले पूरै जङ्गल उज्यालो भयो । हेलिकप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश गरे’थ्यो । म त्यहीँ थिएँ । वरिपरि बम, बारुद बर्सिन थाल्यो–ढड्यङ, ठ्याङ, ठडङ्, ढ्वङ् ! एकोहोरो बम–बारुद बर्सियो । साथीहरु पनि तितर–वितर भए । कोही देखिएनन् । सबै ज्यान जोगाउनपट्टि लागे क्यारे ! म डरले त्राही–त्राही भएँ । मुटु उफ्रेर थामिनसक्नु भो । अहिल्यै बाहिर फुत्त निस्केला जस्तो भो । अप्ठ्यरो भीरमा आपत पर्यो । खुट्टा लुग्लुग् काँपेर भुइँमा टेक्न छाड्यो । म थ्याच्च बसेँ ।
‘मर्नुभन्दा बौलाउनु निको ।’ यो उखान झ्वास्स सम्झेँ । मर्नु त छँदैछ । हो, मैले आज मर्नुभन्दा अघि बौलाउने अठोट गरेँ । किन कि, त्यो फौजको म कमान्डर थिएँ । एक किलोको दूरीमा अगाडिपट्टि हाम्रो मुक्तिफौज दुस्मनसँग लडिरहेका थिए । दुस्मनमाथि धावा बोलिरहेका थिए । कब्जा जमाइरहेका थिए । मलाई यस्तो लाग्यो, दुस्मनको हार निश्चित हँुदै गएपछि हाम्रो फौजको मनोबल गिराउन यो हमला हँुदैछ । युद्धविजय प्राप्त गर्न सीधै ममाथि आक्रमण गरिरहेछन् । मेरो पूरै जिउ काँप्दै थियो । साहस बटुलेँ । जुरुक्क उठेँ । मेसिनगन समातेँ । मसँग भएका ब्लक टिमलाई पोजिसन सेट गर्न भनेँ । बल्लतल्ल पोजिसन सेट भो । बम वर्षा झन् हुन थाल्यो । दुस्मनले नजिकबाट घेर्न थाल्यो । स्थिति झन भयवह भयो । ठीक त्यहीबेला बाघजस्तै गर्जेर कासन गरेँ–साथीहरु ! वीरतापूर्वक मरिन्छ भने माटोमा चिहान, बाँचिन्छ भने अवश्य आउनेछ नौलो बिहान– फायर…! ठ्याङ, डढ्यङ, ठङ, ठडडङ् ! सबैले आक्रामक चार्ज गर्यौँ । करिब डेढ घण्टा डटेर लड्यौँ । अन्ततः दुस्मनको गोला–बारुद सकिएछ । भीर–पाखा र थुम्काभरी साल, सल्ला र सिमलका हाँगा, झाडी हल्लाउँदै हेलिकोप्टर फर्कियो । नाइटभिजन गएपछि अध्याँरो चुकझै घोप्टियो । साँथीहरु छामछुम गर्दै खोज्न थाल्यौँ । खाजिरह्यौँ ।
एकजनाको सहादत तीन जना घाइते भएका रहेछौँ । आधा रातमा खाल्डो खनेर सहादत साथीलाई पुर्यौँ । मुठ्ठी कसेर माटो चढायौँ । अन्तिम बिदाइ गर्यौँ र त्यहाँबाट प्लेसचेन्ज गर्ने निर्णय भयो । हाम्रो सिद्धान्तभित्र सफलताको निम्ति दुई कदम अघिबढ्ने र एक कदम पछि हट्ने नीतिअनुरुप हामी पछि हट्यौँ । बन्दुक, गोलीगठ्ठा, बन्दोबस्तीका सामानहरु अनि घाइते साथीहरु लिएर पहाडबाट झर्यौँ । बाटोमा अनेकौँ दुःखकष्ट सहनुपर्यो । सबैजना लस्करै लाइन लागेर मसिना–ठुला चुरे पहाडहरुमा गग्रेटो, खरखरे भीरबाटो छिचोल्यौँ । भत्किँदै गरेका पहिरोका ढिक–ढिकमा टेक्दै झर्दा जङ्गलभरि पिरे, थाकल अनि अनेकथरी काँडाहरु लुगामा टाँसिए । जिउभरी खपिनसक्नु चिलायो । बेस्सरी घोचे । धेरै पीडा दिए । थकान उस्तै लागिरहेको थियो । भोक–तिर्खाको के कुरा ! उफ् ! तीन दिनदेखि मुखमा एक थोपा पानी परेको थिएन । विचार र बन्दुकले सजिएर समरको यात्रामा थियौँ । यस यात्रामा थुप्रै प्रेमिल सङ्गी, आत्मीय साथी गुमाइसकेका थियौँ । अझै गुमाउने क्रम जारी नै थियो । जसरी पनि अन्तिम श्वास रहुञ्जेल लडेर भोलिको नौलो बिहान ल्याउने कसम खाएका थियौँ । हामी दृढविश्वासका साथ अघि बढिरहेका थियौँ । हामीले जताततै काँडेतार पन्छाउनु थियो । अन्धविश्वासको कालो पर्दा च्यातेर चेतनाको चम्किलो बिहान ल्याउनु अहोरात्र खटिरहेका थियौँ । निकै लामो यात्रामा भञ्ज्याङ–देउराली, थुम्की, वनपाखा छिचोल्दै थियौँ । यात्राको क्रममा हिँड्दै जाँदा मूलबाटो छेउमा पानी भएको ठूलो आहाल भेट्यौँ । कतिदिनको तिर्खा–प्यास मेट्न सबै हतारियौँ । सबैले धमिलो पानी मिठो मानेर पेटभरी पियौँ । छेवैको एक सहयात्री भन्दै थिए, ‘अब मरिँदैन ।’ फेरि बाटो लाग्यौँ– उस्तै भिरालो–खरखरे उस्तै काँडेदार जङ्गल ।
यतिखेर हाम्रो टिम एक किलो अगाडिको मोर्चामा लड्ने फौजसँग भेटिएर मिसिइसकेको छ । बिहानको झिसमिसे मधुरो उज्यालो भुइँमा खस्दैछ । पूर्वी पहाडका थुम्काहरु आकाशसँग आलिङ्गन गरिरहेको देखिन्छ । अहा ! बिहानको रातो लालीमा प्रकृति कति मनमोहक छ । कत्ति सुन्दर देखिन्छ । साँच्चै कसैले मलाई स्वर्ग सोधे सजिलै भनिदिन्थेँ– यही धर्ती हो । यो धर्तीको पनि नेपाल हो । नेपालको पनि त्यो म जन्मेको गाउँ हो । मेलापात, खोला–खाल्सी, छहरा–छाँगा, देउराली–भञ्ज्याङ हो । अहा कति सुन्दर छ ! तर, त्यो सुन्दरतामाथि धुलोमैलो–हिलो छ्याप्ने रत्नेकाजीहरु पनि छन् । अब तह लगाइन्छ । रत्नेकाजीहरु सिङ्गो देशको मुहारमा हिलो छ्याप्दैछन् । अब सबका सब तह लाग्छन् । तह लगाएरै छाडिन्छ । यस्तै मनमनै अठोट गर्दै थिएँ, झल्यास्स सम्झेँ–दिव्य । हो, मेरो मुटुको धड्कन दिव्य । त्यही मोर्चाको अग्रपङ्तिमा उभिएर लडेकी थिइन् । उनी फर्किइन या उतै सहादत भइन् ! मनमा अनेक कुराहरु बादलझैँ मडारिन थाले । बिहान तराईको ठिहीमा चिटचिट पसिना आउन थाल्यो । लाइनमा लस्करै उभिएर अगाडि बढिरहेका हुलको ठीक विपरीत दौडिन थालेँ । दिव्यलाई खोज्दै म प्रत्येकको अनुहार नियाल्दै दौडिएँ । लाइनको अन्तिमसम्म पुग्दा पनि दिव्यलाई देखिनँ । मुटु बेस्सरी दुख्यो । भक्कानो फुटेर आयो । बाहिर आँशु बगाउन इजाजत थिएन । किन कि, मुक्ति यात्रामा हजारौँ योद्धाका आशा, आँट र साहसका प्रतिविम्ब थिएँ । फौजको कमान्डर थिएँ । मुक्तिको नायक थिएँ । तर, के गर्नु ? यी सबै बाहिर देखाउने दायित्व र कर्तव्यको निम्ति रहेछन् । म पनि त्यसकै निम्ति पत्थर थिएँ । भित्र–भित्रै आँशुको नदी थाम्नै गाह्रो थियो । थाम्नै नसकिने गरी बगिरहेको थियो ।
जलिरहेको थिएँ । मन थाम्न नसकेपछि एकान्तमा गएँ । बन्दुक भुइँमा बिसाएँ । दिव्यले भनेका प्रत्येक शब्द–शब्दहरुमा आँशु बगाउँदै डुबुल्की मार्न थालेँ । उनी भन्थिन्, हेर विक्रम ! तिमी पढाइमा तेजिलो छौ र बलियो पनि । यो लडाइँ–सडाइँ छाडिदेऊ । आफ्नो भविष्य बनाउनेतिर लाग । तिमीले गर्दा म पनि यही युद्धको भुमरीमा फसेकी छु । मतलब, म तिमीलाई साँचो माया गर्छु । त्यसैले, म पनि तिमीसँगै छु । यो मार्ने र मर्ने खेल कहिलेसम्म ? आज, भरै, भोलि कहिले मरिने हो थाहा छैन । तिमी मेरो कुरा मान्छौ भने विक्रम, तत्काल विदेश जाऊ । म कत्तै सहरतिर एड्जस्ट हुन्छु । त्यसैमा हाम्रो भविष्य छ । यहाँ बाँचियो भने न संसार छ । मरियो भने के चाहिँ छ ? लु तिमी आफै भन त ! फेरि मुक्ति र समानता कसले ल्याउने ? कसका लागि ? लडाइँ जितिहाल्यौ भने पनि आउँछ भन्ने तिमीसँग के आधार छ ? को माथि त्यति धेरै विश्वास छ ? अहँ मेरो मनले त भन्छ, यहाँ सम्भव छैन । हामीमाथि शोषण–अन्याय छ । तर, समानता ल्याउन अहिले नै सम्भव देख्दिनँ । यो युद्धको नाममा धन, जन र समयको बर्बादी मात्रै हो । उनले यसो भनिरहँदा म भन्थेँ, हेर दिव्य । म पनि तिमीलाई आफूभन्दा धेरै माया गर्छु । तिम्रो अटुट साथको लागि सहृदय असीम माया छ । हामी सँगसँगै बाँच्ने छौँ । सँगसँगै मर्ने छौँ । यहाँ अवश्य मुक्तिको नौलो बिहान आउने छ । समानता, शान्ति र समृद्धि छाउनेछ । नेतृत्वबाट कहिल्यै धोका हुने छैन । जसरी म तिमीलाई धोका दिन सक्दिनँ । त्यसरी नै… म दिव्यलाई अँगालो हाल्न अनायसै अगाडि हुत्तिएँ । बेस्सरी तुषारो–ठिहीले चिसिएको ढुङ्गामा ठोक्किएँ । एक्कासि डाँको छाडेर ह्वाँऽऽऽ रोएछु । झल्यास्स ब्यँुझिएँ । रुम पार्टनर बाहिर निस्केर योगा गरिरहे’थ्यो । बाथरुम गएँ । रिफ्रेस भएँ । विदेशको ठाउँ टाइमको बहुत ख्याल गर्नुपर्छ । बिहानको खाना खाएर ड्युटी जाने तयारी गरेँ ।
Previous Articleगर्भनिरोधक औषधिले डिप्रेसन बढाउँछ
Next Article वेष्टहृयाममाथि म्यानचेष्टर सिटीको शानदार जित