बागलुङ, २३ पुस – अनिच्छित गर्भधारण रोक्न तथा जन्मान्तरको लागि सेवन गरिने गर्भनिरोधक औषधिले डिप्रेसन बढाउने तथ्य सार्वजनिक भएको छ। गर्भनिरोधक औषधिको सेवनले डिप्रेसनमात्रै नभएर रगतको जम्ने समस्या पनि बढाउने अनुसन्धानमा सहभागीहरुले बताएका छन्। यस्ता साइडइफेक्टलाई हल्का रूपमा लिए घातक परिणाम भोग्नुपर्ने अवस्था आउनसक्ने उनीहरुको भनाइ छ।
बीबीसीका अनुसार यो अध्ययन डेनमार्कमा गरिएको हो। डेनमार्कका अनुसन्धानकर्ताले करिब १० लाख महिलाको मेडिकल रेकर्डलाई अध्ययनमा समावेश गरी प्रतिवेदन तयार पारेका थिए। जसमा १५ देखि ३४ वर्ष उमेरका ती महिला कसैमा पनि पहिला डिप्रेसनको लक्षण देखिएको थिएन। तर जो महिला गर्भनिरोधक औषधिको प्रयोग गर्थे उनीहरूले पछि डिप्रेसनको औषधि लिनुपर्ने अवस्था आएको पाइयो। कतिपयले त अस्पतालमा भर्ना नै हुनुपर्यो।
अध्ययनको यो परिणामलाई डेनमार्कका मिडियाले निकै प्राथमिकताका साथ खबर बनाएका थिए। कतिपय मिडियाले त गर्भनिरोधक औषधि खाने भए डिप्रेसनको विरामी हुन तयार हुनुपर्ने आशयसहित समाचार छापेका थिए।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर करिब १० करोडभन्दा बढी महिलाले गर्भनिरोधक औषधिको प्रयोग गर्ने गरेका छन्। सन् १९६० को दशकमा गर्भनिरोधक गोलीको सुरुवात भएपछि यसको प्रयोगले फरकफरक खालका स्वास्थ्य समस्या (साइड इफेक्ट)हरू देखा पर्न थालेको पाइएको छ। युनिभर्सिटी अफ एबरडिन, डेनमार्कका प्राइमरी केयरका प्रोफेसर फिल हेनाफोर्डले गर्भनिरोधक औषधिको सेवनले महिलामा डिप्रेसन बढाउने बताएका छन्।
Previous Articleबरामद सुनका मालिक पत्ता लगाउनै गाह्रो
Next Article मिलनकान्छा किराँती – युद्धको सपना