काठमाडौं, २३ पुस – त्रिभुवन विमानस्थलबाट तस्करीको सुन बाहिरिएको विषयमा अनुसनधान गर्न भन्सार विभागले समिति गठन गरेको छ । एयरपोर्ट भन्सारमा कार्यरत २९ जना कर्मचारीलाई कामबाट जिम्मेवारीमुक्त गर्दै भन्सारले छानविन थालेको हो । 
विभागका प्रवक्ता कुलराज ज्ञवालीले विभागका उपमहानिर्देशक सुमन दाहालको नेतृत्वमा सो घटना बारे सत्य तथ्य छानविनका लागि एक समिति गठन भएको जनाएका छन् । उनले सो विषयसंग सम्बन्धित जानकारी तथा सूचना भएमा विभागलाई उपलब्ध गराउन समेत अनुरोध गरेका छन् ।
त्रिभुवन विमानस्थलबाट भन्सार छलेर पार गराइएको ३३ किलो सुन प्रहरीले हिँजो पक्राउ गरेको थियो । प्रहरीले ३३ किलो तस्करीको सुन सहित तीन जनालाई पक्राउ गरेको थियो । सुन ल्याएका एक जना र उनीसँग सुन लिन गएका अरु दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले २९ जना एयरपोर्ट भन्सारका कर्मचारीलाई हाललाई जिम्मेवारीमुक्त गर्दै अनुसन्धान थालिएको बताए ।