लन्डन, ६ पुस – नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च यूकेले मंगलबार १२ औं स्थापना दिवस मनाएको छ । लन्डनमा एक कार्यक्रमबीचसंस्थाको स्थापना दिवस मनाइएको हो । कार्यक्रममा नेपालीसहित बेलायती सांसदहरु ढाका टोपी र दोसल्ला ओढेर मञ्चमा देखिँदा अलिक पृथक लाग्थ्यो ।
कार्यक्रमलाई सांसद कृष्णभक्त पोखरेल, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, बेलायती सांसदहरु वीरेन्द्र शर्मा, ब्यारी गार्डनर र ग्यारेथ थोमस, एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य लगायतले सम्बोधन गरे ।
तीनै जना बेलायती सांसदहरु वीरेन्द्र शर्मा, ब्यारी गार्डनर र ग्यारेथ थोमसले बेलायत नेपालबीच दुई सय वर्ष पुरानो कुटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उनीहरुले बेलायतमा नेपाली जनसंख्या बढ्दै जाँदा अब नेपालीलाई बेलायती राजनीतिको मूल प्रवाहमा सक्रिय हुन सुझाव दिए ।मञ्चका अध्यक्ष रामशरण सिम्खडाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि सांसद पोखरेलले नेपालमा नयाँ संविधान जारीपछि देश आर्थिक समृद्धिको बाटोमा अघि बढेकाले देशलाई प्रवासी नेपालीहरुको रचनात्मक सहयोग खाँचो रहेको बताए ।
विशेष अतिथि बेलायतका लागि नेपाली राजदूत सुवेदीले विदेशमा बसोबास गर्ने नेपालीहरु जुनसुकै आस्थाका रुपमा भएपनि नेपाल र नेपालीको हितमा सदैव क्रियाशील रहनुपर्ने धारणा राखे । एनआरएनए युरोप क्षेत्रीय संयोजक कुल आचार्यले मञ्चले राजनीतिकमात्र होइन, सामाजिक क्षेत्रमा समेत उदाहरणीय कामहरु गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रमको दोश्रो चरणमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त अवसरमा बिग आइकन २०१६ विजेता साजन आलेले गायन र प्रतिष्ठा त्रिपाठी, रश्मी गौतम, विजया भण्डारी लगायतले आकर्षक नृत्य प्रस्तुत गरे ।