काठमाडौं, ६ पुस – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान समस्या समाधानको एकमात्र विकल्प चुनाव भएको बताएका छन् । बुधबार आफ्नै निवास बालकोटमा पूर्व सांसद् मञ्च नेपालका प्रतिनिधीहरुसंँगको भेटमा ओलीले यस्तो बताएका हुन् ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार चुनाव नगराउने नियतबाट अघि बढेको उनले आरोप लगाए । ‘गैरसंवैधानिक तरिकाले ल्याएको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य छैन,’ उनले भने, ‘प्रस्ताव गैरसंवैधानिक भएकोले यसलाई छलफलमै लैजान दिदैनौँ ।’
उनले वर्तमान सरकारको काम निर्वाचन गरेर संक्रमणकाल टुंग्याउने भए पनि त्यसतर्फ नलागेको उनको आरोप थियो । ‘यो सरकार पराइको चाहनामा आफ्नो अधिकार र कर्तवय दुवै भुलिरहेको छ,’ उनले भने ।
पूर्वसांसद्हरुले कांग्रेस र एमालेलाई मिलेर देशको समस्या समाधान गर्न सुझाव दिएका थिए । जवाफमा ओलीले आफूले विगतदेखि नै त्यो प्रयास गरे पनि कांग्रेसले दुई ठुला दल मिलेर अघि बढ्नु नुहुने नीति बनाएका कारण त्यो सम्भव नभएको बताए । ‘अहिले सरकार उहाँहरुले नै चलाए भयो’ ओलीले भने, ‘अहिले हामीलाई सरकारमा जान रुचि छैन । सरकारमा भाग पनि चाहिएन निर्वाचन घोषणा गर्नुहोस् साथ हामी दिन्छौं भनेका छौं ।’
पूर्वसांसद मञ्चका अधयक्ष ओमकार प्रसाद श्रेष्ठले ओलीलाई अडानबाट पछि नहटी संविधान संशोधनलाई असफल बनाउँन आग्रह गरेका थिए । ‘संशोधन प्रस्ताव वैधानिक छैन,’ उनले भने, ‘यस्तो संशोधनले देशलाई थप द्वन्द्व लैजान्छ ।
कतिपय मधेसी दलका नेताहरुले देशद्रोही भाषण गर्दै हिडेकोले उनीहरुलाई जेल हाल्नु पर्ने पूर्वसांसदले माग गरेका थिए । ‘देश सिध्याउछु भन्नेहरु देशका नेता हुन सक्दैनन्,’ पूर्वसांसद् शारदा पोख्रेलले भने, ‘देशकाविरुद्ध जथाभावी बोल्नेहरुलाई संवैधानिक तरिकाले अंकुश लगाउनुपर्छ ।’
पूर्वसांसद्हरुले भने– ‘देशद्रोही गर्ने नेतालाई जेल हाल्नुपर्छ’
Previous Articleबेलायती सांसद ढाका टोपी र दोसल्ला ओढेर मञ्चमा
Next Article आफ्नै स्याटलाइट स्थापनाको तयारीमा नेपाल