म्याग्देली युवाहरुको अगुवाइमा सञ्चालीत शैक्षिक परामर्श दिने संस्था एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीले अष्ट्रेलियाको सिड्नी रकडेलमा पाँचौ शाखा विस्तार भएको छ । सिड्नीमा आइतबार एक समारोहका बिच टिकमायाँ बानियाँ, एभरेष्ट ग्लोबलका अध्यक्ष याम केसी, कार्यकारी प्रमुख धनकुमारी बरुवाल केसीले शाखाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । अष्ट्रेलियाको पर्थमा मुख्य कार्यालय रहेको एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीको म्याग्दीको सदरमुकाम बेनीबजार, गण्डकी प्रदेशको राजधानी पोखरा र नेपालको राजधानी काठमाण्डौमा समेत शाखा रहेका छन् ।
सिड्नी शाखा उद्घाटनको क्रममा एभरेष्ट ग्लोबल एजुकेशनका अध्यक्ष केसीले बिगत लामो समय देखिको अनुभवले गर्दा आफूहरुले उचित तथा उत्कृष्ट तबरले परामर्श दिने बताउनुभएको थियो । यदि कसैलाइ सही र सटिक परामर्श आवश्यक परेको भए त्यसका लागि एभरेष्ट ग्लोबललाइ अवसर दिन समेत उहाँले अनुरोध गर्नुभयो । हाल सम्मको अवस्था हेर्दा हरेक शाखाहरुबाट सेवा लिने महानुभावहरु पूर्णरुपमा सन्तुष्ट हुनुहुन्छ त्यसैले सिड्नीमा रहनुहुने नेपालीको मन जित्ने तरिकाले आफूहरुले सेवा दिने अध्यक्ष केसीको भनाइ थियो ।
शाखाको उद्घाटनमा सिड्नी शाखाका निर्देशक सुमन बानियाँ, बेनी शाखा प्रमुख अस्मिता केसी, मोना अष्ट्रेलियाका पदाधिकारी, नेपाली ब्यवसायी, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो। सिड्नी शाखाका निर्देशक बानियाँले शाखा मार्फत अष्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थी, नेपाली समुदाय र अन्तर्राष्ट्रिय विद्यार्थीलाईसमेत उचित शैक्षिक परामर्शका साथैं माईग्रेसन, भिसा, ईन्सुरेन्स लगायतका विश्वका अन्य मुलुकका कलेज तथा विश्वविद्यालयका लागि समेत काम गर्ने बताउनुभयो ।
एभरेष्ट ग्लोबल एजुकेशन बेनी शाखाले म्याग्दीमा शैक्षिक परार्मश सँगै विपन्न परिवारका छोराछोरीलाई शिक्षादीक्षामा समेत सहयोग गर्ने गरेको छ ।