हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–७ र ८ अन्तरगत पर्ने बेनी बजार सुरक्षा र सुन्दरताका लागि कालीगण्डकी किनारमा सडक ढलान सोमबारदेखि शुरु भएको छ । बेनी बजार रिङरोडको मुख्य मार्ग पर्ने उक्त सडक व्यवस्थीत गर्नका लागि पनि सडक पक्की गर्न थालिएको हो ।
बेनी बजारमा आउने धुलो नियन्त्रणका साथै सवारी साधनहरुलाई बजार बाहिरैबाट गन्तव्यमा पुग्न सहजताका लागि आवश्यक सडक यस वर्ष निर्माण थालिएको हो । बेनी नगरपालिका–८ कालीपुल देखि बेनी नगरपालिका–७ जिल्ला प्रहरी कार्यालय सम्म नौ सय ९१ मिटर सडक ढलान गर्न लागिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । चार करोड ५० लाख रुपियाँ लागत स्टमेट गरी ठेक्का आह्वान गरिएकोमा तीन करोड १९ लाख रुपियाँमा विकेश दुप्चेश्वर जेभीले ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो ।
शहरी विकास मन्त्रालय अन्तरगत शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङ मार्फत हुन लागेको निर्माण कार्यको समय छ महिना रहेको भएतापनि २०८२ को असार भित्रै सक्ने गरी काम थालेको निर्माण कम्पनिका सञ्चालक सुवासचन्द्र कार्कीले जानकारी दिनुभयो ।
बेनी बजार सौन्दर्यकरणका लागि पनि निकै महत्वपूर्ण रहेको उक्त सडक निर्माण पछि बेनी बजार क्षेत्रमा ठुला तथा अन्य सवारी साधनहरु प्रवेस गर्नु पर्ने बाध्यता पनि हटेर जाने छ । पर्वतको जलजला गाउँपालिकाबाट बेनी नगरपालिका प्रवेशद्वार पर्ने कालीपलु देखि पश्चिम म्याग्दीको दरवाङलगायतका क्षेत्र जाने वसपार्क सम्मको दुरी चालु वर्षमै ढलान सक्ने गरी काम थालनी भएको नगर प्रमुख केसीको भनाई छ । नेपालका १० वटा नमुना नगरपालिकाहरु मध्येमा बेनी नगरपालिका पनि परेको र सोही अनुरुप पनि यो सडक रहेको उहाँको तर्क छ । आदर्श सञ्चारबाट साभार