” यो उमेर भयो,बिहे गरेका महिला यसरी फुङ्ग भएर बसेको कहिले देखेकी थिइन् ।खै यो आइमाईको चाला हेर्दा पोइलाई अगाडि लाउली जस्तो पो छ!”
कहिलेकाहीँ सोचेको भन्दापनि नसोचेको कुराले जीवनमा आँधीबेहरी ल्याउछ।विचारी बितेको एक बर्ष मात्रै त भयो।यता छोराबुहारीको संबन्धमा तिक्तता बढ्न शुरूभइगयो।
“खै! बिहे गरेको पाँच बर्ष भइसक्दा पनि यो आइमाईको कोख फुटेन।बिहे गरेका बर्ष न दिनमा बच्चा भएको भए अहिले चारबर्षको भैसक्थ्यो।कमसेकम बुढेसकालमा मेरो साथी त हुन्थ्यो!यो कर्णेलाई धेरै पटक अब अर्की ल्याउन पर्छ ,यो आइमाईबाट घरबार हुन्न भनेर संझाएकै थिए ।”,मर्दका दशवटी” नभनेको कहाँ हो र?कानमा बतास लाएको हैन।यो दमयन्तीले भरदेली जस्तो मलाई चाहिँ लाग्दैन ।” पिढीमा बसेर विचार्नी बुढी फत्तरफत्तर गर्न थालिन् ।नगरुन पनि किन ?उबेला विचारीको रबाफ देख्दा चार गाउँ छक्क पर्थ्यो।त्यस्तो धनमाथिको लालगेडी हो कर्णबीर।उसलाई बाआमाले भने कर्णे नै भन्थे ।विचारीका घरको खान्की र लक्का जवान कर्णबीर असाध्यै सुन्दर युवक थियोे ।त्यसैकारण विचारी बाले सुबिदारकी एक्लौटी छोरी दमायन्तीलाई बुहारीको रूपमा भित्र्याएका थिए ।चारगाँउका चिनेजानेका मान्छे बोलाउँदा मात्रै दशवटा खसी काटेर धुमधामकै भोज दिएका थिए।उनलाई नचिन्ने र नजान्ने मान्छे कमै थियो ।फलानो विचारी भनेपछि जिल्लानै थर्काउथे।शक्तिको खेल न हो ।अन्तिम शक्ति भनेको आखिर पैसामा गएर जोडिन्छ। त्यसैले छिमेकी जिल्लाका सुबेदारकी छोरी मगनीमा परिन् ।सुबेधार पनि कम हैनन्।छोरी अन्माउदा सुनाचाँदीले छपक्क बनाएर ,सहयोगीका साथ डोलीमा पठाएका थिए ।सोह्र श्रृङ्गारले सजिएकी दमयन्ती देख्दा जो कोही लोभिन्थे।भनिन्छ नि स्वर्गका अप्सरा !तिनै अपसराका समिप्यताले गर्दा इन्द्रको नाम सबैको जिब्रोले फडकारेकै छ।यता अप्सरा जस्ती दमयन्ती देखेर होला कर्णेका साथीहरू घुटुक्क थुक निल्थे।
बिहे गरेको केही समय भएको थियोे ।दमयन्ती घरको बरण्डामा बसेर परपरको दृश्य नियाल्दै थिइ।बादलको घुम्टो भित्र हरियो फरिया,अनि लालिगुराँसको शिरफूल सिउरेको हिमाल एक षोडशी भन्दा कम देखिन्न थियो ।त्यसैले त मान्छे प्रकृति प्रेमी बन्छ।उ रम्दै थिइ।अचानक उसको आँखा बगैंचामा फूल गोड्दै गरेकी प्याकुली माथि पर्न गयो ।उसले फूल गोड्दै गर्दा राम्रो फूलेको गुलाफको हाँगो पिटिक्कै भाँचियो।बरण्डाबाट दमयन्ती जोडले चिच्याइ। ” त्यति सुन्दर बोटको हाँगा भाँचेपछि बगैंचाको शोभा नै गयौं ।जतन गरेर काम गर्नपर्छ नि!”ढंग नभएकी।
थुतिन्छ पत्ता ,जब खातबाट
सिद्धिन्छ शोभा ,अनि फूलबाट
पारिन्छ सत्ता,जब खण्ड -खण्ड
रहन्छ के राज्य ,त्यहाँ अखण्ड ।।
राष्ट्र कवि माधव घिमिरे को यो सर्ग बाचेर उसले प्याकुलीलाई निकै गाली गरि।
” जानी जानी हैन त भाउजू! के साह्रो चिच्याउनु भएको ? नाथे फूलको हाँगो भाँचिदा।”प्याकुलीले निर्धक्क र निसक्कोच उत्तर दिई।
” लौन कस्ता नोकरचाकर हँ यो घरमा !मालिक्नीलाई मुखमुखै लाग्ने ।तँ यो घरबाट निस्किहाल।”दमयन्तीले टोल थर्किने गरि चिच्याइ।
उता बारीको कामले थाकेकी प्याकुली खासमा विचारीकै घरमा जन्मेकी हो ।आफ्ना छोरी नभएकोले होला विचार्नीले प्याकुलीलाई छोरी सरह माया गर्छिन् ।उता कर्णबीर आफूलाई भाइटिका लगाइ दिने बैनी दमयान्तीको गाली गराइले रूएको हेर्न नसकी फकाउन बारीमै पुग्यो ।” नरो प्याकुली !तेरा लागि म छदैछु नि !उसले प्याकुलीका आँसु पुछिदियो।दमयन्ती तर्फ हेरेर ” घरका बुहारीले सोचविचार गरेर बोल्न पर्छ” भन्यो ।
धन इज्जत र घरबार देख्छु बढिया छैनन् कुनै चिज कमी।
बुहारी यदि कर्कशा हुन गया क्या घर गरौला तिमी ।।
साह्रै झोक उठयो मलाई र बधुशिक्षा बनाया पनि ।
यसले पत्नि ,बुहारी ,छोरीहरूको तालिम गरौला भनी।।
आदिकवि भानुभक्त आचार्य
घरमा यस्ता अविवेकपुर्ण ,सोमतहिन बुहारी आउने भएको कारण भानुभक्तले यस्ता श्लोकको रचना गर्न भ्याएछन्।
कर्णबीरको व्यबहार र कुराले दमयन्ती आक्रोश भइ।उ नबोली बेडरूम तर्फ गई।बेडरूममा उतानो परेर ढङ्रङ्ग पछारिइ।अनि निदाल तर्फ हेरेर उ सोच्न थाली।” पक्कै पनि प्याकुली संग कर्णबीरको लसपस हुनपर्छ ।मलाई यता गाली गर्ने उता प्याकुलीलाई आफ्नै हातले आँसु पुछिदिने। फेरि तेरा लागि म छदैछु पनि भन्न भ्याएका! त्यो नखरमाउली पनि कहाँ कम छ? त्यति भन्दैमा रोएर नाटक गर्छे।अझ अर्को अचम्मको कुरा प्याकुली संग छोरो पल्केकाले होला, सासू भनाउदी पनि पटकपटक यो बाट घरबार चल्दैन अर्को ल्या भन्छिन्।सबैको आड पाएर होला त्यो मात्तेकी!नत्र एउटी नोकर्नीले मालिक्नीलाई मुख लगाउन सक्छे?”
ठूलो साँझ पर्यो ।कर्णबीर अफिसबाट आएपनि दमयन्तीको मुख उजेलो हुनसकेको थिएन ।कर्णबीरले नरम भाषामा खाना खान बोलायो।” दमयन्ती! खाना खान आउ।”
” परेको छैन यो घरमा खानलाई ।म भोलि बिहानै माइत जान्छु।कर्णबीरले धेरै कर गरेपनि उसले त्यो साँझको खाना खाइन।
” घरानका छोरी भनेर कत्रो हौसलाले भित्र्याएकी थिएं।के गर्नु संस्कार भनेको पटक्कै पो रहेनछ।अझ मेरै जस्तो नन्द आमाजु झेल्नुपरेको भए के हालत हुन्थ्यो ?एउटा लोग्ने त रिजाएर खानपर्छ नि।” भान्साबाट विचार्नीले बोलेको सुन्दा दमयन्तीलाई आगोमा घिउ हाले झैं भयो ।हुनतः यो घरका मान्छे सबै प्याकुलीको पक्षमा छन।नोकर्नी भएर पनि कत्रो मानसम्मान छ उसको !म भने मालिक्कनी भएर के भो?अपमानित छु।पक्कै पनि प्याकुली संगको लसपसकै कारण हुनपर्छ।”दमयन्तिले निष्कर्ष निकाली।
दमयन्ती बेहुली भएर भित्रिएको यस्तै दुईचार महिना भएको थियो ।कर्णबीरले “यो प्याकुली !कति थसुल्ली हो ।जीउ घटा भन्यो झन धेरै मोटाउछे।खान कन्ट्रोल गर।अनि त्यो मेरो बिहेमा ल्यादिएको साडी किन नलगाकी ?मोटी भएं भनेर!कि मन नपरेर”?भनेर सोध्दा कस्तो मसक्क मस्केर ” ह्या! दाइ पनि के के कुरा गरिसिन्छ।दशैंमा लगाउछु क्या! हजुरले कतिधेरै लुगा ल्याइदिसिन्छ ,खाँचो छैन “।भनेकी थिइ।
त्यहीँ दिन हो क्यार !प्याकुलीले आलु परठा बनाएर ।”भाउजू!दाइलाई खाजामा आलु परठा धेरै मनपर्छ ;हजुरलाई नि?”भनेर सोधेकी थिइ।
कहिँकी थसुल्ली ।दाइलाई मनपर्ने नपर्ने उ पो जान्ने हुँदीरहिछ।”दाइलाई म खाजा आफैं बनाएर दिन्छु।तैंले बनाएको मनपर्दैन।”दमयन्तीले चाउचाउ बनाएर कर्णबीरलाई दिई।कर्णबीरले मलाई चाउचाउ मनपर्दैन भनेर छुदैछोएन्।
विचार्नीले “अलिकति ढकने छ त्यो तताएर दे”भनिन् ।दमयन्तीले गह्र’गो हात बनाएर ढकने तताएर लगिदिइ।कर्णबीरले साह्रै मीठो मानेर खायो ।उ भित्रभित्रै मुर्मुरिइ।मैले बनाएको छुदैनछुने,अरूले बनाएको स्वाद मानेर खाने!उ कर्णबीर संग नबोली कोठामा गएर झ्यालको छेवैमा बसी।
न घाम न पानी ।ओहो कति रमाइलो मौसम ।प्रकृति वास्तव मा आफै अतुलनीय सुन्दर छ।सुन्दरतामा प्रकृतिलाई कसैले जित्न सक्दै सक्दैन ।उ गम्भीर हुँदै थिइ ,बाटोमा एक युगल हात समाएर हिड्दैथिए।ती महिलाको लवजले बताउदै थियो उनी भरखरै बिहे गरेकी हुन्।दमयन्तीलाई लाग्यो पति खुशी पार्न त सोह्र श्रृङ्गार पो गर्नुपर्ने रहेछ।उसलेे दराज खोलि।बिहेको बनारसी सारी निकालि।भए मध्येका राम्रा चुरा,टीका ,अनि दोकाधे तिलहरी ।सिउँदोमा सिंदुर सजाएर एकपटक ऐना हेरि।उसलाई आफू विछट्ट राम्री लाग्यो । अब कसो ख्वामितका नजर अन्त जालान्।उ ढुक्क भएर बरण्डा बाट चारैतिर हेरेर मुसुक्क मुस्काइ।
प्याकुलीका आँखा कति तिखा हन्?करेसाबारीबाट “ओहो ! भाउजू यति सुन्दर भएर माइत जान लागिसिइएको हो ?”भनिहाली।
दमयन्ती रिसले आगो भइ।तर नबोली कोठा भित्र पसि।”म माइत गए कर्णबीर संग मोज गरौंला भन्दी हो !यो बाइफाला।”उसले भए भरका गहना खोलेर मेकअप उतारी।अनि भए मध्येको पुरानो लुगा लगाएर धुम्म परेर बसि।
कर्णबीर कामबाट फर्केर सिदै कोठा छिर्यो।उसले दमयन्ती निन्याउरो परेर बसेकाले सोधि हाल्यो ।” तिमीलाई सन्चो छैन ?”
” एकदमै ठिक छु।किन सोध्नुभयो ?”दमयन्तीले रूखो स्वरमा प्रतिप्रश्न गरि।
” बिहे गरेका महिला श्रृङ्गार प्रेमी हुन्छन् तर तिमी त ..!”
” म कस्का लागि श्रृङ्गार गरौं ?”उ ठूलो स्वरले चिच्याइ।
” एकैठाउँमा बस्यो भने तनाव हुन्छ।कतै घुम्न जाऔ ” कर्णबीरले भन्यो ।तर दमयन्तीले त्यो कुरा पनि इन्कार गरि।
“मलाई घुम्न मन पर्दैन ।”
पल्लो कोठाबाट विचार्नीले ” बुहारीले यसो पाउनापासा आउदा डाडुपन्यु हल्लाएको राम्रो हुन्छ।अरू काम नोकरचाकरले गर्छन् ।यसरी कोठामा धुमधुम्ती बस्न हुन्न ।बुहारीलाई राम्ररी संझाएस् कर्णे।”
कर्णबीर दोधारमा पर्यो ।आखिर संझाउ कसरी ?बरू दुईचार दिन माइत पठाइदिनुपर्यो फ्रेस भएर आउछे।
” दमयन्ती! तिमी दुईचार दिन माइत गएर बस।म पूर्याएर आउछु।”
दमयन्तीले मनमनै सोचि ;मलाई माइती पूर्याएर त्यहीँ प्याकुली संग बस्ने होला ।त्यहीँ संग बस्नलाई मलाई चाँहि किन बिहे गरेका हुन? अह:माइती त मरेनी जान्न।” किन ?म यो घरमा धेर भएं?” नमिठो जबाफ दिई।
“हैट;कस्तो संका हो ?मेरो उदेश्य त तिमीलाई फ्रेस गराउन मात्रै हो ।”
कर्णबीरको अफिस समय हुन्छ।”दादा!टिफिन”।प्याकुली कर्णबीरलाई टिफिन दिन्छे।टिफिनको भाँडो समाउदै कर्णबीरले ” भाउजू अलि बिमार जस्ति छ।ख्याल गर्नु है। बाइ…”! उ फटाफट अगाडि बढ्यो ।प्याकुलीले पर पुगुन्जेल हेरिरही।दमयन्तीले कोठाको झ्यालबाट यो दृश्य नियालिरहेकी थिइ।त्यसैले उसको संकाले पूर्णता पायो ।पक्कै प्याकुली कर्णबीरकी पहिली पत्नी हो ।तर संकाले लंका डडाउछ।पत्नी नै हो भने किन यो संग श्रृङ्गार छैन ।पक्कै बच्चा नभएको कारण मसंग बिहे गर्न यो नाटक रचेछन्।
बाहिर ढोका ढ्याकढ्याक गर्दै प्याकुली ” भाउजू! हजुर के खाइसिन्छ?
” एककप चिया”।
प्याकुली सकेसम्म मीठो चिया बनाएर कोठामा पुर्याउछे।चिया लिदै दमयन्ती “यहाँ बस ,केही सोध्न छ।”
” भान्सामा धेरै काम छ,बस्न भ्याउदिन्।उ बाहिरीन खोज्छे।दमयन्तीले आग्रह गरेपछि पून:छेउमा बस्छे।
दमयन्तीः”प्याकुली! तैंले बिहे किन नगरेकी?”
बेमतलवको प्रशले उ अनुत्तरित हुन्छे ।उ ट्वाल्ल परेर दमयन्तीलाई हेर्छे।
दमयन्ती पून:” यो घरमा के नाता छ तेरो ?”
दमयन्तीको प्रश्नले उ चिमोटिन्छे।उसका दुबै नयन रसाउछन्।दोपटाको सप्कोले आँसु पुछ्दै ” खै के भनौं ?म नाताको परिभाषा जान्दिन्।”
दमयन्ती:” ” मालिक्नी हुने दाउ भएपछि जान्नु पनि कसरी ?”
प्याकुली निशब्द कोठाबाट बाहिरिन्छे।
अफिसबाट फर्कदा कर्णबीर संग एक युवक पनि संगै आएको थियोे ।कयौंपटकको प्रयास पछि उक्त युवक प्याकुली संग बिहे गर्न राजी भएको थियोे ।कर्णबीर निकै खुशी थियो ।प्याकुलीकी आमाले ” बाबु !प्याकुलीको बिहेदानको जिम्मा तिम्रो भयो है। यसको बिहे नभए मैले मृत्यु लोकमा पनि मुक्ति पाउदिन्।भनेकी थिई।धाइ भएर होला आफ्नी आमाको जतिकै प्रेम गर्थियो कर्णबीरले।घरको चारैतिर खोज्दा नभेटेपछि उसले दमयन्तीलाई सोधेको हो ।” दमयन्ती! प्याकुली खै?”
दमयन्ती: “घर आउन पाछैन ,प्याकुली चाहिगो!” झनक्क झन्केर कोठाभित्र पसि।
विचार्नी:” बाबै!हुनुभयो ।घरमा बुहारी ल्याउदा शान्ति हुन्छ भन्नेथियो,झन अशान्ति भयो ।प्याकुलीले घर छोडेर भागिछे।”
कर्णबीर निशासिन्छ।अबभने दमयन्ती प्रति भित्रबाट अनादर पैदा हुन्छ ।हो त्यहीँ दिन देखि उसले आफू दमयन्ती संग सहबास नगर्ने निर्णय गरि बैठककोठामा गएर सुत्छ।
पश्चतापले पिरोलिएकी दमयन्ती कोठामा एक्ली भइ।उसलाई गहना र श्रृङ्गारका सामनले गिज्याउन लागे।उसले ढोका थुनी।झ्यालका पर्दा लगाइ ।सबै बस्त्र खोली।कताकता श्वास बढेजस्तो भयो ।दायाँबायाँ गरि निद्रा लागेन्।धिमा बत्ती बाली कोठामा कर्णबीरले अंगालो मारेको तस्बिरमा पुष्ट उठेका छातीले उसको दमित बासनालाई उजगार गर्यो।पूनः बत्ती निभाइ।कर्णबीरले विछ्याइएको तकियालाई एकपटक जोडले अंगाली ।अनि तकियाले जबर्जस्त छाती दबाइ ।अनि उसले अनन्त अतृप्त बासनाको समाप्ति गरी।/रातोपुल