औजारका मद्दतले भुइँबाटै अग्लो बोटका टुप्पाटुप्पाका सुन्तला टिप्न सकिन्छ । औजारको प्रयोगपछि यहाँका व्यावसायिक किसानलाई राहत मिल्ने कृषि विकास कार्यालयले जनाएको छ । ‘सुन्तलाको रूखमा चढदा लडिने हो कि भन्ने डर हुन्थ्यो,’ सुन्तला किसान नित्यानन्द पोखरेलले भने, ‘यो औजारको प्रयोगले छिटो टिप्न र व्यवस्थित तरिकाले राख्नसमेत सजिलो हुने रहेछ ।’ केन्द्रका सञ्चालक खुमबहादुले विश्वकर्माले मेसिनको प्रयोगपछि किसानहरू सुरक्षित भएर सुन्तला टिप्न पाउने उनले बताए ।
विश्वकर्माका अनुसार गोलो आकार, फलामको भित्री भागमा धारिलो भाग र जाली लगाएर डोकोसम्म ल्याएपछि सुन्तलाको दाना तान्दा काटिएर आउँछ । ‘यसको प्रयोगले सुन्तला जालीमा अडाएर राख्न चाहेको स्थानमा आउँछ,’ उनले भने, ‘सुन्तलाको रूखअनुसार लठ्ठी फिट गरेर लामो छोटो बनाउन सकिन्छ ।’
यसरी टिपेको सुन्तला धेरै दिनसम्म रहनेसमेत उनले बताए । ‘भेट्नोभन्दा माथिबाट यसले टिप्न मिल्छ, यसले गर्दा फलमा असर गर्दैन,’ विश्वकर्माले भने, ‘हातले टिपेको सुन्तला फलमै असर गरेर टिपिएको हुन्छ ।’ सुन्तला उत्पादक किसान रामबहादुर कुँवरले औजारको प्रयोगले टिप्न सजिलो र सुन्तलालाई दख्खल नपर्ने अनुभव सुनाए । यसको मूल्य ३ सय रुपैयाँ छ ।