संखुवासभा, ६ मंसीर – राष्ट्रपति विद्यादेबी भण्डारीले छिमेकी मुलुक चीनसँगको कनेक्टिभिटी बढाउन मद्दत पुग्ने किमाथान्का–विराटनगर सडक निर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइन् ।
संखुवासभाको चिचिलाडाँडामा सोमबार आयोजित मकालु हिमालको हिरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीको भनाई थियो –‘यस क्षेत्रको सामाजिक आर्थिक विकासका आधारहरुको सन्दर्भमा चर्चा गर्दा हाम्रो उत्तरतर्फको छिमकी मुलुक चीनसँगको कनेक्टिभिटी बढाउन मद्दत पुग्ने किमाथान्का नाकालाई जोड्ने किमाथान्का–बिराटनगर सडक निर्माणको कामलाई दूतगतिमा अगाडि बढाउनु पर्ने अवस्था छ ।’
राष्ट्रपति भण्डारीले विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको असर हाम्रो महत्वपूर्ण पर्वतीय पर्यटनमा पर्ने र यसको नकारात्मक प्रभाव आमजनतासम्म पुग्ने भएकोले चिन्ता व्यक्त भयो ।
विश्वको पाँचौँ हिमशिखर मकालुको फेदी चिचिलामा मकालु हीरक महोत्सवको आयोजना गरिएको छ । २०१२ साल जेठ १ गते फ्रान्सका दुई पर्वतारोहीले मकालु हिमालमा पहिलो पाइला टेकेका थिए । मकालु हिमालको सफल आरोहण गरेको साठी वर्ष पुगेको अवसरमा महोत्सवको आयोजना गरिएको हो ।
समारोहाम राष्ट्रपति भण्डारीले महोत्सवको आयोजनाबाट पर्यटकीय गन्तव्यका रुपमा जिल्लालाई स्थापित गर्न, विभिन्न जातजाती, भाषाभाषी तथा संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा सहयोग पुर्याउन, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न ठोस मद्दत पुग्ने अपेक्षा थियो ।
राष्ट्रपतिले सुन्दर उपत्यका, पोखरी र तालतलैया, दोभान, मठमन्दिर, गुफा, रमणीय पार्कले त्यस क्षेत्रलाई सिँगारेको छ भन्दै बहुमूल्य रुद्राक्ष, अलैँची, जडिबूटीको उत्पादनले त्यस क्षेत्रका जनताको आर्थिकस्तर बृद्धिमा समेत मद्दत पुर्याएको बताइन् ।
त्यस क्षेत्रमा निरन्तर प्रवाहित नदीहरुबाट जलविद्यूत उत्पादन गरी उत्पादकत्व बढाउन मात्र होइन पर्यटन विस्तार गर्न पनि सकिने प्रशस्त आधारहरु रहेको राष्ट्रपतिको भनाई थियो ।
राष्ट्रपतिले विविध जातजाति, भाषाभाषी र धर्मावलम्बीको बसोबास रहेको संखुवासभा जिल्लाका ऐतिहासिक, धार्मिक, प्राकृतिक र साँस्कृतिक सम्पदाहरुले समग्र नेपालको अनेकताबीचको एकताको स्वरुपलाई प्रतिविम्बित गरेको पनि बताइन् ।
संखुवासभा जिल्लालाई एक प्रमुख पर्यटन केन्द्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरी पर्याप्त बजेट छुट्याउनु आवश्यक रहेको राष्ट्रपतिको भनाई थियो ।राष्ट्रपतिले समाज सुधारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने त्यागकी प्रतिमूर्ति योगमायाको नाममा स्थापना हुन लागेको प्रस्तावित विश्वविद्यालयलाई चाँडो भन्दा चाँडो संचालनमा ल्याउदा त्यस क्षेत्रका निम्ति गौरवको विषय बन्ने धारणा राष्ट्रपतिको थियो । राष्ट्रपतिले –‘विशेष गरी पर्यावरण र भौगोलिकरुपले अत्यन्त सम्बेदनशील हाम्रो मुलुकमा जलवायु परिवर्तन र पर्यटन एक अर्कासँग अविच्छिन्न रुपले जोडिएका छन् । हिमालमा बढ्दो वरफ पग्लने प्रक्रिया, बद्दो उष्णताले हिमनदीका आकार बढ्दै हिमताल विष्फोटको खतरा, बाढी, पहिरो, पिउने पानीको स्रोत र बालिनालीमा पर्ने नकारात्मक असरले मानव जीवन र भौतिक पूर्वाधारलाई प्रभावित गरिरहेको छ । विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको असर हाम्रो महत्वपूर्ण पर्वतीय पर्यटनमा पर्ने र यसको नकारात्मक प्रभाव आमजनतासम्म पुग्ने गर्दछ । स्थानीय समुदाय पर्वतीय पर्यटनका मुटु हुन्, पर्यटकलाई मार्गदर्शन, आवास, खानालगायत विभिन्न सेवा सुविधाहरु उपलब्ध गराइ पर्वतीय पर्यटनलाई सुरक्षित र भरपर्दो बनाउन सहयोग गर्दछन् ।’