सरिता पौडेल
धेरै स्थानहरुमा वेवारीसे बालबालिकाहरु हामीले देखेकै हुन्छौं तर तीनीहरुको अवस्थाको बारेमा सोच्न भन्दा पनि हेयको दृष्टिले हेर्ने बानी हुन्छ प्रायमा । निकै न्युन मात्रामा उनीहरुको बारेमा र उनीहरुको पछाडीको पाटो खोज्ने गर्दछौं हामी । मानिसको मुहार हेरेर विष्लेषण गरीयो भने अन्याय पनि हुन सक्छ । तर त्यता तर्फ कतिले सोचेका हुन्छौं होला भन्ने पनि छ । हँसिलो मुहार भित्र दबिएर रहेको पिडा अनि पिडा मिश्रीत अनुहार फरक पक्कै हो तर व्यक्त गर्न सक्ने नसक्ने पाटाहरुले पनि मानिसलाई अलमल्याउन सक्ला । समाजमा भएका धेरै पिडा अनि समस्याहरु मध्ये केही हामीले सुने भोगेका हुन्छौं भने कतिपय हामीले नजरअन्दाज गरेका पनि हुन्छौं । त्यस्तै एउटा प्रसंग हामीले यहाँ प्रस्तुत गर्ने जमर्को गरौं ।
घटना भनौं या प्रसंग बुझ्नलाइ सजिलो होस भनेरै अनि जानकारी दिने हेतुले यहाँ प्रस्ततु गर्ने जमर्को गरौं । गएको २०७८ माघ १० गते बिहानको झण्डै ११ बज्न लागेको थियो । मेरो दैनिकी भनौं वा सदाझैँ आफ्नै कार्यकक्षमा मेरो काम । म त्यही दैनिक रुटीनकै काम गरिरहेको थिएँ । अहिलेको मौषम अनि अघिल्लो रातमा परेको पानीले बाहिरको मौषम कठ्याङ्ग्रिने खालको चिसो थियो । तर पनि आफ्नो दैनिकी पुरा गर्नु नै थियो । अरु समकक्षी साथीहरु पनि आ–आपनै काममा व्यस्त थिए सँधै जस्तो । कसैलाई अरुको बारेमा बुझ्न जान्नका लागि पनि फुर्सदै थिएन साहेद त्यो समयमा । आफ्नो कार्यकक्षमा काममा व्यस्त रहेकै समयमा अफिसको ढोकाबाट आवाज आयो, म भित्र आउन सक्छु ? त्यो आवाजले मेरो काम प्रतिको एकाग्रतालाई भङ्ग गरेको थियो । मलाइ लाग्यो करिब ४० देखि ४५ वर्ष उमेर भएकी महिला एउटा बच्चा सहित मेरो कार्यकक्षको ढोकामा उभिनुभएको थियो । उताबाट आएको आवाज सुनेपछि हाम्रो साथीले भित्र आउनका लागि अनुरोध सहित प्रतिक्रिया दिनुभयो । मेरो कार्यकक्षमै भएका अर्को साथी सँग एकछिन कुरा भएपछि ती महिलालाई मेरो नजिक लिएर आउनुभयो अनि साथीले भन्नुभयो उहाँले हजुरसँग कुरा गर्ने अरे ।
आफ्नो काम अनि दैनिक रुटीनका काम गर्नु पर्ने हुँदा प्राय म व्यवस्तै हुने गर्छु र त्यो दिन पनि म मेरो कामको बारेमा आफ्नो रिपोर्टिङको शिलशिलामै अलि बढी नै व्यस्त थिएँ । तर पनि म सँग कुरा गर्न चाहनु भएको कारणले मैले उहाँलाई आफ्नै नजिक रहेको कुर्सीमा बस्न आग्रह गरेँ । अनि सोधेँ पानी पिउनुहुन्छ भनेर । मेरो सोधाइमा उहाँले मुन्टो हल्लाएर नलिने प्रतिक्रिया दिनुभयो । उहाँ सँगको त्यो बार्ता हुदै गर्दा पनि म काममै तल्लीन थिएँ । त्यसपछि मैले आफ्नो कामलाई थाँती राखेर उहाँसग कुरा गर्न थालेँ ।
उहाँले कुराकानी थाल्नु भयो आफ्नो परिचय सँगै ।
नमस्कार, मेरो घर सुर्खेत ।
यहाँ तपाइँहरुले म जस्ता महिलाहरुलाई सहयोग गर्नुहुन्छ अरे भनेर एकजना साथी भन्नुभएको थियो अनि मेरो पनि दुःख बिसाउँछु हजुर सँग भनेर आएको ।
उहाँको यती शब्द पछि मैले प्रतिकृया जनाएँ यानकी उहाँलाइ थप कुरा गर्न आग्रह गरे । भन्नु न कस्तो सहयोग हो ? हामी तपाइँका लागि के गर्न सक्छौं ?
माघको महिना त्यसै पनि चिसो हुने नै भयो । त्यसमाथि पनि अघिल्ला दिनमा पानी परेकोले बाहिर निकै चिसो थियो । तर उहाँको शरिरमा एउटा गुलाबी रङको खासै सुकिलो थिएन । पुरै फोहोर पनि होइन हल्का मैलो–मैलो हातको कुममा टालेको चोलो र लुङगीसँग एउटा पछ्र्यौरी मात्र थियो । यो चिसोको समयमा यतीले के थेग्थ्यो र तर पनि उहाँले यो भन्दा बढ्ता लगाउनु भएको थिएन ।
आफ्नो काखको बच्चालाई आफ्नो टाउकोको साहराले देखाउँँदै यसको र ठूलो छोरीको जन्मदर्ता अहिले सम्म पनि भएको छैन । यहाँहरुको सहयोगले जन्मदर्ता बन्छ भनेर सहयोग पाउँछु कि भनेर आएकी हुँ ।
त्यसपछि मैलै सोधेँ हजुरको नागरिकता छ ?
उहाँको उत्तर आयो छैन ।
अनि आफ्ना बिबरण सुनाउन थाल्नुभयो
म सानैदेखि यही बसेको, मेरो परिवारको बारेमा मलाई केही थाहा छैन । अरुको घरमा भाँडा माँझ्दै मेरो बाल्यकाल बित्यो । जब म १५–१६ वर्षकी थिएँ, ज्यामी काममा जान थालेँ त्यहीँ काम गर्ने समयमा यसको बाबासँग भेट भयो र अलि पछि हामीले बिहे ग¥यौं ।
विवाह पछि अहिले २ वटा केटाकेटी छन्, यो सानो र ठूलो छोरी छ । ठुलो छोरीले अहिले कक्षा ८ मा पढ्छिन् स्कुलमा भर्ना गर्दा हेडमास्टरले आठ कक्षामा फर्म भर्दा जन्मदर्ता चाहिन्छ भनेका छन् । त्यो भएन भने त्यसले परीक्षा दिन पनि पाउँदिन रे । यती भन्दै गर्दा उहाँका आँखाभरी आँसु थिए । उहाँ थप्नुभयो कतै बाटो नभएर केही सहयोग हुन्छ कि भनेर यहाँ आएको हो ।
मैले सोधेँ अनि श्रीमान् कहाँ हुनुहुन्छ ? उहाँको त नागरिकता छ नि ? मेरा प्रश्नहरु हुँदै गर्दा उहाँको आँखामा डिलभरीको आँसुले बाटो खोज्दै गएँ । मैले मेरो टेबलमा रहेको पानीको गिलास उहाँँतिर सारेँ । एक घुट्की पानी पिएर फेरि भन्न थाल्नुभयो । मेरो बाबा आमा अनि अरु के मलाइ थाहै छैन । मेरा श्रीमानले घर सुर्खेत भन्नुभएको थियो तर उहाँले घरमा लिएर कहिल्यै जानु भएन ।
अहिले सम्म नागरिकता अनि विवाह दर्ता केही छैन । हाम्रो सुर्खेत ठाउँ थाहा भए पनि कँहा, के, को, को छन् घरमा कहिल्यै बताउनुभएन । अघिल्लो वर्ष कोरोना लागेर आफू बित्नुभयो । मैले यी दुईटा र मेरो जीवन ज्यामी काम गरेरै जेनतेन धानेकी छु । आफ्नो जस्तो जीवन केटाकेटीको नहोस् भनेर स्कुल भर्ना गरेको त्यहीँ पनि जन्मदर्ताको कारणले पढ्न नै नपाउने भए भनेर उता नानी पनि रोएर हैरान पारी लौ न के गर्न सकिन्छ ? सहयोग गरिदिनुप¥यो ।
हुन त जन्मदर्ता कुनै पनि संघसंस्थाले उपलब्ध गराउँदैन तर पनि सेवाग्राहीहरुलाई एउटा झिनो आशा भने हुँदोरहेछ यद्यपि उहाँलाई कागजपत्र केही पनि नभएकाले एकदमै गाह्रो छ । अझ हजुरको त सुर्खेत घर भएको कारणले त्यहीँबाट नै बनाउनुपर्छ, हजुर श्रीमानको आफन्त कोही छन् कि ? त्यो बुझ्नतिर लाग्नुस हामी यस्तो कुरामा के गर्न सकिन्छ हामी यता टिममा कुरा गर्र्छौ र हजुरलाई खबर गर्छौं नि है नम्बर दिएर छोड्नुहोला भनेर जाँदाजाँदै आफ्नो सम्बन्ध खुल्ने कागजको बन्दोवस्त गर्नतिर लाउनुस् है भनेँ ।
आमाको नागरिकताको आधारमा बालबालिकालाई कानुनी कागज पाउने अधिकार नेपालको संविधानमा नै इङ्गित भएको कुरा नै हो । यद्यपि कार्यान्वयनमा आएको भने देखिदैन । उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन् । जो आज आफ्नो छोराछोरीको जन्मदर्ताको लागि एक्लै लडिरहेकी छन् । यस्ता अनेकौ छन् । जो आफ्नो नागरिता हुँदाहुँदै पनि आफ्ना बच्चाबच्चीको जन्मदर्ता निकाल्न सकिरहेका छैनन् ? (कहिले बच्चाको बाबासँग सम्बन्ध खुल्दैन त कहिले हजुरबाबासँग) संविधानको सुनौला पानामा लेखिएका कुरालाई कार्यान्वयनमा ल्याइदिने हो भने यस्ता अनेकौं नारीहरुले पक्कै नै राहत पाउने थिए होलान् ।
अस्पतालले दिने कागजमा अलिकति सहजता ल्याइदिने हो भने पनि यस्ता समस्यालाई अलिकति व्यवस्थित गर्न सकिने थियो कि ? अहिले कोही अस्पतालमा डेलिभरी भयो भने बाबु र आमाको नागरिकताबिना बच्चालाई अस्पतालले दिने जन्मदर्ताबाट पनि बञ्चित गराइन्छ । के त्यो सही हो त ?
लेखक सरिता पौडेल शक्ति समूहमा कार्यरत छिन्
Previous Articleभ्यालेन्टाइनको चुमचुम सुरु
Next Article नेकपा एमाले बेनी नगर कमिटिद्वारा प्रशिक्षण कार्यक्रम