प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे नजिकिँदै गर्दा पुष्पव्यसायीहरुले गुलाफको फूलको हिसाब किताब निकाल्न थालेका छन् । आगामी सोमबार परेको भ्यालेन्टाइन डेको लागि राजधानी काठमाडौंमा दुई लाख बढी रातो गुलाफको फूलको माग हुने उनीहरुको आकलन छ ।
‘दुई लाख सात हजार थान (स्ट्रिम) गुलाबको फूल नेपाल भित्र्याइन्छ,’ फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) ले बताएको छ । प्रणय दिवलाई लक्षित गर्दै उक्त फूल छिमेकी मुलुक भारतबाट आयात गर्न लागिएको हो ।
‘यस वर्षको भ्यालेन्टाइन डेलाई लक्षित गर्दै हामीले भारतबाट दुई लाख सात हजार थान गुलाबको फूल मगाएका छौं,’ फानका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनले भने, ‘सोमबारको लागि एक करोड रुपैयाँको गुलाव भारतबाट ल्याउँछौ ।’
‘भ्यालेनटाइन डे’ पश्चिमा संस्कृति भए पनि पछिल्ला वर्षमा नेपालमा यो दिनलाई प्रेमील जोडीहरुले विशेष रुपमा मनाउने गरेका छन् । १४ फेब्रुअरीका दिन उक्त दिवस विश्वभर मनाउने गरिन्छ । त्यो दिन आफूले माया गर्ने वा मन पराएको व्यक्तिलाई गुलाबको फूल दिने प्रचलन छ । सोहीकारण उक्त दिन गुलाबको फूलको माग बढी हुने गरेको छ ।
नेपालमा अन्य दिनको तुलनामा भ्यालेन्टाइन डेका दिन गुलाबको फूलको माग १३ गुणा बढी हुने गरेको छ । नेपाल नौ महिना मात्र गुलाबको पूmलमा आत्मनिर्भर रहेको फानका अध्यक्ष तामाङले बताए ।
उनका अनुसार चैतदेखि मंसिरसम्म गुलाबको फूल भारतबाट आयात गर्नु पर्दैन । नौ महिना नेपाली बजारको मागलाई नेपालमै उत्पादित गुलाबले धान्दै आएको छ । ‘नौ महिना गुलाबमा हामी आत्मनिर्भर छौं,’ तामाङले भने, ‘बाँकी महिना पनि हामी आत्मनिर्भर बन्न सक्थ्यौं तर कोरोना महामारीले गर्दा हुन सकेका छैनौं ।’
उनका अनुसार आउँदो ‘भ्यालेन्टाइन डे’ मा नेपालभर दुई लाख ३० हजार गुलाबको फूल बिक्री हुने अनुमान छ । जसमध्ये १० प्रतिशत माग नेपालमा उत्पादन भएको गुलाब र बाँकी ९० प्रतिशत भारतबाट ल्याइएकोले धान्ने छ । तीमध्ये ९० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा खपत हुने विश्वास गरिएको छ ।