तीते करेली
कृष्णराज शर्मा
गएको हप्ता दुई महिलाको व्यापक चर्चा परिचर्चा भयो । एक थिईन् हिलारी क्लिण्टन र अर्की थिईन् कुसुम श्रेष्ठ । विश्वभरी अमेरिकी महिला हिलारी क्लिण्टन र नेपालभरी तरकारीवाली किशोरी महिला कुसुम श्रेष्ठ चर्चाको शीखरमा रहे । हिलारी विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्दै चुनावी मैदानमा थिईन् । अमेरिकी इतिहासमा नयाँ इतिहास रच्दै थिईन् । तर सोचेअनुसार इतिहासको रचना हुन सकेन । सारा संसार उनको समर्थनमा थियो । मै हुँ भन्ने घाघडान् सर्वेक्षणहरूले पहिल्यै क्लिण्टनलाई जिताए । तर निर्वाचनको परिणाम आएपछि पराजित हुँदा उनका समर्थक निरास बने । उनी प्रतिको सहानुभूती खेर गयो । उनका प्रतिस्पर्धी डोनाल्ड ट्रमले चुनाव जिते । अमेरिकाको पहिलो निर्वाचित राष्ट्रपति बन्ने सुअवसर मिलेन । अझ भनौं उनी राष्ट्रपति भएको भए दम्पति नै राष्ट्रपति बनेको इतिहास बन्ने थियो । र त्यो नयाँ इतिहास बन्न सकेन । जो चर्चाको कारण बन्यो ।
यता नेपालको ग्रामीण कन्दरामा किसानी जीवन यापन गर्दै एघार कक्षा पढ्दै गरेकी एक किशोरीको धप्प बलेको रूपले त्यस्तै चर्चा पायो । एक कैमेरा मैनले यिनको रूप टिपेर फेसबुकमा देखाएपछि एकाएक चर्चाको शीखरमा पुगीन् । खोलापारीको तरकारी बजारमा पुल तारेर बिक्री गर्न लग्दै गरेकी र बिक्री गर्दै गरेकी यिनलाई ग्राफर रूपचन्द्र महर्जनले नयाँ जीवन दिए । उनको तस्वीर खिंचेर सार्वजनिक गरिदिए । उनको जीन्दगीको कायपलट नै गराई दिए । जो चर्चाको कारण बन्यो ।
झट्ट हेर्दा हिलारीसंग तरकारीवालीको के तुलना गरेको होला भन्ने लाग्न सक्छ । तर दुवैको तुलना सुन्दरतामै लोभिएको थियो । उमेरमा फरक छ । योग्यतामा फरक छ । एउटी धनाढ्य छिन्,अर्की छैनन् । तर आममान्छेको हेराई सुन्दरता मै थियो । पपुलर मतले विजयी भएपनि प्राबिधिक मतले हिलारी पछारिएकी हुन् । उनका प्रतिद्वन्द्वी ट्रम्प भद्दा र रूखो बाणीका थिए । त्यसैले आवरणका हिसाबले हिलारी प्रीय अनुहार थिईन् । यो अमेरिकाको कुरा भयो । यता कुसुम अत्यन्त निर्दोष परिश्रमी मिहिनेती आज्ञाकारी र अनुशासित किशोरी थिईन् । तडक भडकमा जीरो थिईन् । उनको रूप र शारिरिक बनावटले लोभिएका फोटो ग्राफरले उनलाई हेरि रहन उनको तस्वीर लिए । कैमेरा भित्र कैदी बनाएर राखे । मनले मानेन । तस्वीर लिएर मात्रै चित्त बुझेन । संसारलाई देखाउन मन लाग्यो । अझ उनी यो तस्वीरलाई फेसबुकमा पोष्ट गरेर सबैलाई देखाए । सार्वजनिक गरे । यसो हुनुमा कुसुमको सुन्दरताले गर्दा नै हो । यदी उनको बाहिरी सुन्दरताले ग्राफरको मनमा घर गर्दैन्थ्यो त आज त्यही फिस्लिङको पेरिफेरीमा उनी हराई रहेकी हुने थिईन् ।
नारीहरूमा सुन्दरा नै खोजिन्छ । देवगण र ऋषीगणका पालादेखि रियलमा नारीहरूमा रूप सौन्दर्यकै मूल्याङ्कन हुँदै आएको छ । आजकल यो भनाई राख्दा म कत्तिको ठीक लाग्छु या बेठीक थाहाछैन । तर मेरो छिमेकी एक बृद्ध आमाले भनेको लोकोक्ति जस्ताको तस्तै सुनाउन चाहन्छु । उनी अहिले छैनन्, बिति सकिन् । उनी भन्थिन् ‘छोरा, मेरो कुरा सुन् ! हिम्मत नहार ! हूप् निकाल् । यस्तो लाठे जवानीको उमेरमा के को चिन्ता गर्छस् । छोरो होस् हूपको, छोरी होस् रूपको । सुनेको छस् कि छैनस् ।’ मेरा अप्ठ्यारा दिनमा उनले त्यसरी संझाएकी थिईन् । आजभन्दा पैंतीस बर्ष पहिला सुनेको उनको आवाज बेलाबेलामा अझै पनि मेरो कानमा आएर ठोक्किन्छन् । काँग्रेसलाई द्विवीधा परे वीपीले भने अनुसार एकमुट्ठी माटो हातमा लिएर निर्णय लिनु भन्ने मन्त्र छोडे जस्तै मलाई मेरो जीवनमा आँट हरायो भने तिनै बृद्ध आमाको त्यो भनाई संझेर निर्णय गर्छु । अनि हूप् निकाल्छु । उनको भनाईको आशय थियो छोरी राम्री भै भने बिक्छे र छोरो शूरो भयो भने गरिखान्छ । राम्री छोरी भएकैले कुसुम बिकिन् । यहाँ बिक्नुको अर्थ बिक्री भएको भनिएको होईन । केटाको नजरमा पर्यो भने विवाह हुन्छ अभिभावकला चिन्ता हुँदैन भन्न खोजेर बिक्छन भनियो । तर कसैले पनि चाहेर हूप र रूपका छोराछोरी जन्माउने पनि होईनन् । जन्मिने पनि होईनन् । मोनालिसा क्लियोप्याट्रा ऐश्वर्य राय र माल्विका सुब्बा र झरना बज्राचार्यहरू कल्पनामा श्रृजना गरेर जन्मेका होईनन् । यि त नियतिले तयार गरेको क्यानभासमा छरपष्ट रङ्ग पोख्दा स्वतः बनेका रूपहरू हुन् । कहाँ हाम्रो हातले निर्माण गर्न सकिन्छ र त्यस्ता सौन्दर्य रूपहरू ! उनन्सत्तरी बर्षमा पनि हिलारीले आफ्नो रूप उछाली रहेकी थिईन् । अठार बर्षे किशोरीको त कुरै भएन, उनको रूप श्रृङ्गार नगरीकनै त्यसै त्यसै जगमगाएको थियो । तर रूप र हूप संगसंगै भएका मान्छे बिरलै जन्मिन्छन् । हूपले रूप निर्माण गर्छ तर,रूपले हूप निखार्दैन । नारीहरूमा रूप आएन भने वीरङ्गना बन्न सक्छन् । ‘जीवन काँडा कि फूल’ वीरङ्गनाले तयार गरेको महान कृति हो । तर पुरूषमा हूप् आएन भने न श्रृजना न त बहादुरी नै देखिन्छ । पत्तासाफ भएर बिलाउँछ ।
सोह्रबर्ष पहिले देखि राष्ट्रपतिको ख्वाव् देखेकी क्लिण्टनमा क्षमता पनि थियो रूप पनि थियो । ओवामा सरकारको अघिल्लो चारबर्षे कार्यकालमा यिनले विदेशमन्त्री बनेर आफ्नो क्षमता देखाई सकेकी थिईन् । यो चुनावमा राष्ट्रपति बन्ने आधार निर्माण गरेकी थिईन् । जुनसुकै प्रतिस्पर्धिसंग पनि मैदानमा उत्रने क्षमता राख्थिन् । महिला आरक्षणमा कृपा खोजेकी थिईनन् संसार हल्लाउने उच्च ओहोदामा बस्न । महिला अधिकारका लागि उनको उमेदवारी थिएन । अमेरिका र विश्वमा शान्ति र संबृद्धि ल्याउने जिम्मेवार अमेरिकी बन्न चाहेकी थिईन् । हामीकंहा जस्तो फरिया फर्फराएर पद हत्याए जस्तो अमेरिकी राष्ट्रपतिको पद थिएन । न त जनताले कठै ! महिला हो एक भोट त दिनुपर्छ भन्ने जनता नै छन त्यहाँ । महिलाले महिलालाई भोट दिनै पर्छ भन्ने मान्यता छैन त्याहाँ । परिणामले देखायो । उमेदवारका कार्यक्रममा आधारित भएर मतदिने निर्णय गरे अमेरिकीले । न कि महिला पुरूष भएर विभेद गरे ! रूप र लिङ्गका आधारमा राष्ट्र हाँक्नु राष्ट्रघात हुनपुग्छ । हामीकहां लेख्न बोल्न र उभीन नसक्ने महिलालाई समावेशीताका नाममा पद बाँडिएको छ । गजधम्म परेर सोफामा कारिन्दालाई कज्याएको राज्यलक्ष्मी गोल्छाले करोडौंमा पद खरिद गरेर देशको नीतिनिर्माण तहमा राखिएको छ । जवानीमा यौवनको स्वाद पाएको आधारमा महिलाहरूले पद पाएका छन् । महिलाहरू आँफै सक्षम र योग्य बनेर पदको दावी गरेको कहिल्यै सुनिएन । हिलारीको पराजयमा विश्वव्यापी रूपमा मात्र नभै नेपालमा त्यसको असर पर्ने समेत महिला अधिकारकर्मीका आवाज निस्के । त्यसो होईन, महिलाहरू आफ्नो अधिकारका साथसाथै आफ्नो क्षमता अभिबृद्धि तर्फ नलाग्नु नै देश निर्माणमा सहभागि हुन नसक्नु हो । हाम्रो देशमा यतिखेर राष्ट्रपति, सभामुख र प्रधानन्यायधिशको पदमा महिलाहरू नै छन् । यि तीनजनामा एकजनाको रमाईलो प्रदर्शन देख्न बाध्य छौं । टिभी हेर्दाहेर्दै उनको प्रश्तुती देखेर आँखाकान बन्द गर्छौं । यसको कारण अनुभव र क्षमतामा कमजोरी देखिएकाले हो । हजारौं महिलाहरूको आफ्नो क्षमता र प्रतिभा खेर गैरहेको छ । उनीहरू देशका लागि योगदान दिनबाट जहिल्यै बञ्चित भैरहेका छन् । त्यस्ता सक्षम महिलाहरू पाखा किन परे भनेर कसैले ध्यान दिएको देखिंदैन । लौ ! महिला भएकाले हिलारी हारिन् । महिलालाई कमजोर ठानेर हराईयो भन्नु हाम्रै महिला सोचाई हो ।
एउटा पर्यटक घुमाउने व्यक्तिले गाउंकी केटीलाई राजमार्गको छेउमा व्यवशाय गर्दै गरेकी युवतीको फोटोले मिडियामा धमाका ल्यायो । त्यस्ता अबोध धमाकादार युवतीहरू दूर्गम विकट गाउँहरूमा कति छन्(छन् । तिनका सपना के के थिए होलान् । यिनलाई आफ्ना सपना साकार पार्ने अबसर राज्यले कहिल्यै जुटाउँदैन । युद्धकालमा कति सुन्दरी युवतीहरू क–कसका यौनदासी बनेर सखाप् भए । कतै लेखाजोखा छैन । अहिले पनि गाउँगाउँमा त्यस्ता थुप्रै कुसुमहरू एनजीओ, आईएनजीओ, मास्टर र सिपाहीहरूका शिकार बनिरहेका छन् । यसरी फँसाईएका कैयौं कुसुमहरू खेतीपाती र गाईगोठालोमै जीवन सडाएर फाल्न विवश बनेका छन् । लेखपाखामा फिस्लिङमा झिल्किने कैमेराको प्रकाश त्यता फाल्न सकेका खण्डमा हजारौं अरू कुसुमहरूको जीवन, यौवन र भविष्य जोगिंदो हो । यिनै तरकारीवाली कुसुमलाई पनि उनको पढाईलाई डाईभर्ट गरेर मोडेल बनाउन कति आत्तुरी परेको होला । उनको शैक्षिक योग्यता नबने सम्म मोडल र हिरोईन बनाउन खोज्नु अबोध ग्रामीण युवतीहरूलाई रमाईलो ‘मार्केट’ देखाई दिनु हो । असमय मै आधुनिक रमझममा त्यस्ता युवतीहरूलाई आकर्षक मार्केटमा पार्नु भनेको किशोरी युवा समाज भाँड्नु हो । गर्न त्यही खोजिंदैछ, त्यसो नहोस् ।