होम कार्की
काठमाडौँ, २५ कात्तिक – ‘उहाँ फोन नै गर्नुहुन्न । किन हो, थाहा छैन ?’
आफ्नो श्रीमानकाे कुरा गर्दा गोमा कुमारी वाइवा निराश भइन् । शिखरपुर २ मकवानपुरकी २७ वर्षीया वाइबाकी श्रीमान् दुई वर्षदेखि मलेसियामा छन् ।
‘खै के भन्नु ? बेपत्ता भएको हो भने उसका दाजुभाइसँग कुरा हुन्छ । मसँग मात्रै हुँदैन,’ उनले भनिन्, ‘मैले धेरैपटक गरेँ । कहिले बोलेनन् ।’
श्रीमानलाई मलेसिया पठाउँदा गोमा खुसी नै थिइन् । घरको आर्थिक अवस्था सुध्रेला भन्ने आशा थियो । उसले पैसा पठाउनु त के सम्पर्क नै नगरेपछि उनीले जीकेजीमा पढ्ने छोरी माइतीमा आमालाई जिम्मा लगाइन् । आफैं वैदेशिक रोजगारीमा जान काठमाडौं आइन् ।
‘खानुपर्यो । छोरीलाई पढाउनुपर्यो,’ काठमाडौं सिनामंगलमा भेटिएकी गोमाले भनिन्, ‘दु:ख गरेर सुख पाइन्छ भने किन विदेश नजाने ?’
उनी संयुक्त राष्ट्र इमिरेट्स (यूएई) मा घरेलु कामदार (हाउसमेड) मा जाने दिन पर्खिबसेकी छिन् ।
‘कम्पनीमा जाने रहर थियो । त्यसमा जान पाइनँ । धेरै पैसा पनि लाग्छ भन्ने भयो । घरको काममा जान पैसा पनि नलाग्ने रहेछ । अर्काको देशमा जान त डर लाग्छ नि,’ उनी भन्दै थिइन्, ‘त्यहाँ जान पाए महिनामा ३० हजार रुपैयाँ कमाउन सकिन्छ । हामी गरिबका लागि यो धेरै ठूलो हो ।’
गोमाका साथमा खजुरा २ नेपालगन्जकी २९ वर्षीया अजिता विक, दमक ८ झापाकी २८ वर्षीया ज्ञानु श्रेष्ठ, गरास ४ उदयपुरकी २६ वर्षीया दिलु मगर र कोरक ८ चितवनकी ३१ वर्षीया टीकामाया तामाङ पनि थिए ।
अजिताले यूएईको नाम पहिलोपटक सुनेकी हुन् । उनी ९ वर्षकी छोरी र ५ वर्षका छोरा घरमा सासूसुसुराको जिम्मा लगाएर उड्न लागेकी हुन् । श्रीमान् ग्रिलको काम गर्थे । महिनाको १०/१२ हजार रुपैयाँ खानामा मात्रै ठिक्क भएपछि उनले बच्चाहरूलाई पढाउनका लागि घरेलु कामदार बन्न जाँदै छिन् ।
‘घरको काम गर्न त दु:ख हुन्छ नि ?’ भन्ने प्रश्न खस्न नपाउँदै उनको जवाफ आइहाल्यो ।
‘दुख नगरी सुख कहाँ पाइन्छ र ?’ भन्दै थिइन्, ‘पीडित भएको, अलपत्र भएको समाचार त सुनेकी छु । यो सबै आआफ्नो नसिबको कुरो हो ।’ उनले आफूलाई घरको काममा जानका लागि मानसिक रूपमा तयार बनाइसकेकी छिन् । ‘सधैं कति अभावको जिन्दगी जिउनु,’ उनी भन्छिन्, ‘अभाव देखेर नै विदेश हिँड्ने कुरामा श्रीमान्सँग सल्लाह गरिनँ । काठमाडौं आएपछि मात्रै श्रीमान्लाई फोन गरेर विदेश जान लागेको बताएँ ।’
उदयपुरकी दिलुका लागि भने घरको काम नयाँ होइन । उनी १६ वर्षको उमेरमा कुबेतमा घरको काम गरेर फर्किसकेकी हुन् ।
‘मेरो पनि श्रीमानले राम्रोसँग घरजम गरिदिएको भए मलाई फेरि खाडीमा छिर्नुपर्ने अवस्था थिएन,’ उनले भनिन्, ‘कुबेतमा दुई वर्ष काम गरेपछि नेपाल आएँ । बिहे गरें । अब त फर्किनु पर्दैन होला भन्ने ठानेको थिएँ ।’
दिलुले सोचेको जस्तो भइदिएन । बिहे गरेपछि छोरो जन्मियो । श्रीमान् चार वर्षदेखि कतारमै छन् । तर, सम्पर्कमा आउँदैनन् ।
‘तीन वर्षदेखि हाम्रो सम्र्पक टुट्यो । मैले उहाँलाई बुझ्न सकिनँ । सम्झाउने प्रयास गर्दा बढी रिसाउने मात्रै । म माइतीमा आएर बसें,’ उनले भनिन्, ‘यहाँ बसेर कमाए पनि खाँदैमा ठिक्क भयो । कमसे कम बाहिर बस्दा एकमुष्ठ पैसा आउँछ । छोरालाई पढाउन सकिन्छ ।’
कोरक ८ चितवनकी ३१ वर्षीया टीकामाया तामाङको कथा पनि फरक छैन । श्रीमान् गतिलो नभइदिएकाले आफू खाडी छिर्नुपरेको उनले बताइन् । उनले २१ वर्षको उमेरमा साउदी अरबमा पाइला टेकेकी थिइन् । भारतको बाटो हुँदै दलालले साउदी लगेको थियो । ‘सुरुको तीन चार महिना त भाषा नै नबुझेर हैरान । बच्चासँग घुलमिल भएपछि छिटो भाषा सिक्न सजिलो भयो । ६ महिनापछि त अरबी भाषा खररै,’ भनिन्, ‘त्यसपछि आफ्नै घरमा काम गरेको जस्तो लाग्यो ।’
दुई वर्ष बसेर फर्केको ६ महिनापछि आफ्ना श्रीमान्लाई मलेसिया पठाएँ । मलेसिया गएको ६ महिनासम्म पैसा पठाएनन् । आफूले गरिजानेको काम भनेर फेरि साउदी नै गए । ‘५ वर्षसम्म एउटै घरमा काम गरेँ,’ भनिन्, ‘श्रीमान् मलेसिया जाँदा लागेको ऋण आफैंले तिरें । गाउँमा घडेरी किने । बस्नका लागि एकतले पक्की घर पनि बनाएँ ।’
त्यसको ७ वर्षपछि श्रीमान्सँग भेट भयो । ‘म साउदी । उनी मलेसिया,’ भनिन्, ‘उनले कहिले पनि पैसा जोगाएनन् । सबै तास र रक्सीमा सिध्याए ।’ साउदीबाट फर्केको ३ वर्षपछि फेरि यूएई जाने तयारीमा छिन् । ‘रहर होइन बाध्यता भइदियो,’ भनिन्, ‘श्रीमान्बाट भर छैन । दाजुभाइले पनि सल्लाह दिए । १५ वर्षको छोरो छ । उसलाई पढाउन लेखाउन पर्यो ।’
दमककी २८ वर्षीय ज्ञानु श्रेष्ठका श्रीमान् यूएईमै छन् । ज्ञानु कुबेतमा दुई वर्ष काम गरेर स्वदेशमै गरिखान किराना पसल चलाएर बसेकी थिइन् । ‘कुबेत हुँदा कहिले आफ्नो देश जाऊँ जस्तो हुने गर्दथ्यो,’ भनिन्, ‘देश आएपछि आम्दानी हुन्न । अनि विदेश जान पाए पनि हुन्थ्यो भन्ने हुने रहेछ ।’ श्रीमान्कै सल्लाहमा ज्ञानु दुबई जान लागेकी हुन् । ‘अब पहिलाजस्तो पनि होइन रहेछ । म्यानपावरले नै पठाउने भए केही भए समात्ने ठाउँ छ,’ भनिन्, ‘भारतबाट कुबेत जाँदा डर लाग्थ्यो । केही भए के गर्ने भन्ने चिन्ता थियो । अहिले मलाई केही डर लागेको छैन ।’
संस्थागत रूपमा पहिलोपटक यूएईमा घरेलु कामदार पठाउन थालेपछि म्यानपावरहरूमा इच्छुक उम्मेदवार बढेका छन् । ‘हामीले पहिलोपटक २० वटा भिसा पाएको थियौं । भिसा आएकालाई पठाउन थालेका छौं,’ श्ररोण म्यानपावरका सञ्चालक श्याम क्षेत्रीले भने, ‘१ सय ३ जना महिलाहरू हाम्रो रेकर्डमा आइसकेका छन् । जसमा अधिकांश खाडीबाट फर्केका घरेलु कामदारहरू नै हुन् ।’
संस्थागत रूपमा जानेको सबै खर्च म्यानपावरको नै हो । ‘उनीहरूलाई ३० दिनको आवासीय तालिम पनि नि:शुल्क हुन्छ,’ उनले भने, ‘हाउसमेडको सुरक्षाको प्रबन्ध पनि म्यानपावरले नै लिन्छ ।’
वैदेशिक रोजगार विभागले घरेलु कामदार पठाउन ३२ म्यानपावरलाई सूचीकरण गरेको छ । घरेलु कामदार पठाउने म्यानपावरले छुट्टै २५ लाख रुपैयाँ धरौटी बुझाएपछि मात्रै अनुमति दिएको विभागले जनाएको छ ।
‘हामीले यूएईमा रहेका एजेन्सीलाई पठाउने हो । ती एजेन्सीले नेपाली दूतावासमा १० हजार डलर धरौटी राखेका छन् । स्पोन्सरले पनि प्रतिकामदार तीन हजार दिराम धरौटी बुझाउनुपर्छ,’ घरेलु कामदार सरोकार समाजका महासचिव डीबी तामाङले भने, ‘संस्थागत रूपमा पठाउन सके अहिले अवैध रूपमा भइरहेको महिलाको तस्करी रोकिन्थ्यो ।’ कान्तिपुर
अधिकांश महिला श्रीमानकै कारण विदेसिन्छन्
Previous Articleसाढे तीन करोड प्रतिवन्धित भारु नेपाली बैंकसँग
Next Article कथा – कठै चम्पा !