दीपक घिमिरे
‘र अन्त्यमा लीले मिस्त्री खाडी जाने फिक्सजस्तै भयो । गुडिया जस्ता दुई बहिनी छोरी र फूलजस्ती चम्पालाई छाडेर लालबहादुर साउदी उड्ने टिकट हातमा च्यापेर अन्तिम भेटका लागि गाउँ फर्कियो ।
जुम्ल्याहा छोरीहरुको राम्रो रेखदेख र पढाइको जिम्मा चम्पालाई सुम्पिदै लीलबहादुर बोल्यो– ‘यिन्को ख्याल राखेस्, उज्ज्वल भविष्यका लागि तीन बर्ष दुख गर्छु ।’
चम्पा केही बोलिनन्, छोरीहरु सुतिसकेका थिए । सात बर्षअघि अग्निलाई सात फन्को मारेर लीलेकी भएपछि यसरी तीन बर्षका लागि अलग्गिनुपर्छ भनेर सोचेकै थिइनन्, चम्पाले । तर बाध्यता थियो । गाउँकै मनबीरे, सिबु अनि गोतामे जेठाहरु साउदी छिरेपछि लीलेलाई पनि खाडीको नशाले सुस्त सुस्त छुन थालेको थियो । मिस्त्री कामबाट आउने दैनिक तीन सय ज्यालीले घर चल्ने तर भबिष्य नचल्ने देखेपछि लीलेले पासपोर्ट बनायो अनि गाउँकै सन्तबीर दलालमार्फत साउदीको भीषा लगायो ।
धेरै बेर लीलेको अनुहारमा रसिला आँखा पारेर हेरेकी चम्पा सहनै नसक्ने भएपछि लीलेलाई ग्वाम्म अंगालो मारी अनि धित मरुञ्जेल रोई । लीलेले चम्पालाई अंगालोबाट छुट्ट्यायो , निधारमा चुम्यो अनि दुबै आँखामा तैरिरहेका आँसुका ढिक्का लाई बुढी औलाको सहारामा निचोर्दियो । बिझाएका आँखालाई कुर्थाको टुप्पोले पुछि अनि हिक्का छाडेको स्वरमा भनी– ‘बरु एक छाक खाऊ, तर नजाऊ ।’सुतिरहेका दुईटा कोपिलाजस्ता छोरीहरुलाई हेर्दै लीलेले भन्यो ‘हामी भोकै बसौला चम्पु, तर यिन्का लागि म परदेश जानै पर्छ । मलाई आँसुको धाराले नरोक ।’ एकछिन दुबै जना रोए । भोलि बिहानै शहर जानू थियो, रातभरी गफ गरे, निद्रै परेन ।
छोरीहरु नउठ्दै लीले शहर जान तम्सियो । चम्पाले भेटेर जानुस्, बिदा लिएर जानुस् भन्दा पनि मानेन । छोरीहरुको आखामा आँसु देख्न सक्दैन लीले । त्यसैले पनि सुतिरहेका छोरीहरुको पाउमा ढोग गरेर लीले बिदा भयो । अलि तल कान्लासम्म चम्पा पनि साथमा आई । तर घरमा छोरीहरु मात्र भएकाले बस स्टेन्डसम्म आउन सकिनन् ।
बाध्यताले लीले बिदेसियो । बाजेबाट बाउमा अनि बाउबाट आफूमा आएको खरबारी बन्धकी राखेर निस्केको १ लाख रुप्पे तिरेर लीले साउदी उड्यो, सन्तानको भविष्यका लागि ।
लीले उडेपछि चम्पा एक्लो महसुस गरी । लीले पनि उता धेरै दिन उज्यालो अनुहार बनाउन सकेन रे । प्रत्येक हप्ता हुने फोनमा उताबाट लीले रुन्थ्यो । यता चम्पा । चम्पा रुँदा नरोऊ भनेर सम्झाउने लीले छोरीहरुसँग गफिँदा आफै रुन्थ्यो । लीले रुँदा छोरीहरु नरुनु बाबा भन्दै सम्झाउँथे । लीलेको रुवाई सुनेर चम्पा दलिनमा अडेस लागेर झन बेस्सरी रुन्थी । फोन आएको दिन त्यो घरमा रुवाबासी नै चल्थ्यो । दिनभर अँध्यारो हुन्थ्यो तर पनि सबै लीलेको फोनको पर्खाईमा बस्थे ।
आँगनमै आएको दशैंलाई लत्याएर लीले बिदेसिए पनि छोरीहरुलाई भने जस्तो खुशी पार्नु चम्पाको कर्तब्य थियो । भए जति पैसा दलाललाई बुझाएर साउदी गएको लीलेले गएको तीन महिना पैसा पठाउन सक्दैन भन्ने पहिल्यै थाहा थियो । यी तीन महिना जसरी तसरी चलाउनु थियो । यिनै तीन महिनाभित्र दशैं थियो, अनि तिहार पनि । चाडपर्व टार्नु चम्पाका लागि पहाड खनेजस्तै थियो तर हिम्मती चम्पा डराईन, जे पर्ला, टर्ला भन्दै हासीरही ।
दशैं नजिकै आउँदा घरमा चामल थिएन ! राम्रो लुगा तीजमा किने पनि मासु खाने पैसा कतैबाट जुरेन । उधारोमा बोइलर कुखुरो किनेर दशैं कटाउने योजना बुनेकी चम्पा रने साहुसँग सयकडा तीन प्रसेन्ट ब्याजमा ३ हजार सापट लिएर चामल किनी । अनि दशैंको तयारीमा बसी ।बोइलर कुखुराको मासुसँग भात खुवाएर यो पटकको दशैं सकियो । छोरीहरु बाबाले टीका लगाईदिन आउनुभएन भनेर पिर माने तर चम्पा हाँसेरै छोरीहरुलाई खुशी पारी । टीका टालो सकिँदा लीलेले फोन ग¥यो । फेरि एकछिन रुवाबासी चल्यो, खुशीका आँसु सबैका झरे ।
चम्पाले लीले बिनाको दशै मनाई, लीलेले चम्पाको फोटोमा टीका लगाईदिएर दशैं मनायो । पहिलो पटक चम्पाबिना दशैं बित्यो, यता लीलेले छोरीहरुबिनै दशैं मनाउँदा निक्कै खल्लो महसुस ग¥यो ।
चौथो महिनामा जीबनकै पहिलो कमाई भन्दै लीलेले तीस हजार नेपाली रुपैयाँ घर पठायो । नागरिकता बोकेर सुकेदह बजार झरेकी चम्पा तीस वटा हजार हजारका नोट देखेर दंग परी । जीबनमा सयका नोट मात्र आफ्ना हुन्, बाँकी ठूला नोट त साहुका मात्र हुन्छन् भन्ने सोच पालेकी चम्पाले आज आफ्नै लीलेको कमाई बुझी । तीस हजारलाई तीन पटक गनी । कहिले औलामा थुक लगाएर गनि त कहिले प्रत्येक नोटलाई अलग अलग राखेर । अन्तमा मुसुक्क हाँसेर ब्यागमा कोची ।
बाटोभरी हिसाब गरी । दशैं मान्न काडेको ब्याजे तीन हजार सबैभन्दा पैला तिर्ने हिसाब लगाई । अनि लीले जाँदा लिएको ऋणको ब्याज मात्र भए पनि तिर्ने हिसाब लगाउँदै घर आई ।
पठाएको पैसा महिना दिन नपुग्दै लीलेले अर्को महिनाको तलब बुझ्थ्यो । बुझेकै दिन चम्पाको नामना पठाउथ्यो । पैसा निकालेकै दिन समय मिलेसम्म ऋण तिर्दै खाली हात घर फर्कन्थी अनि औला भाचेर हिसाब निकाल्थी । अब कति ऋण बाँकी रह्यो भन्दै । सुस्त सुस्त ऋण सकियो । पैसा जम्मा हुन थाल्यो ।
प्रत्येक हप्ता फोन गरेर रुने लीले र चम्पा आजभोली रुन छाडेका थिए
। लीलेले उताबाट जिस्काउँथ्यो । चम्पा छोरीहरु नभएको मौका पारेर मस्किन्थी । जिस्किनमा चम्पा पनि कम्तीकी थिइन । उनीहरु हल्का जिस्कन्थे, बढी त भबिष्यकै बारेमा गफिन्थे । परार साल खरले छाएको छानो यसपाली छाइएन भए बस्न नसकिने चम्पा बताउँथी । उता लीले हिम्मतका साथ भन्थ्यो– ‘अरे यार ! चिन्ता नले, टिन लगाइदे । अलिकती गारो माथि उठाएर लगाएस् । अलि अग्लो देखाउनु पर्च हाम्रो घर । ‘लीलेको कुराले चम्पा खुशी हुन्थी, अब घरमा टिन लाग्ने भो ।
हिम्मती लीलेको कमाई राम्रै थियो । कमाएको पैसा आव्श्यकता भन्दा बढी खर्च नगरेर चम्पाले जम्मा गरिरहेकी थिई । चम्पा अनावश्यक खर्च गर्दिन भन्ने लीलेलाई पूर्ण विश्वास थियो । तर पनि बेला मौकामा चम्पालाई सम्झाउँदै भन्थ्यो– ‘धनको आडमा इज्जत नफाल्नु । पल्तिर साईलीजस्तो उत्ताउली नबन्नू ।’
हुन पनि समाज यति खराब भैसकेको थियो कि बिदेशिएका लाउरेका श्रीमतीहरु बदनाम हुने क्रम जारी थियो । लीले बिचरो यिनै कुराबाट डराउथ्यो । चम्पाले गलत बाटो पकड्ली अनि खाडीमा बगाएको पसिनाको मूल्य बालुवामा पानी हाले सरी होला भन्ने डर लीलेलाई पनि थियो तर ऊ चम्पामाथि विश्वस्त थियो । चम्पा साईलीजस्ती उत्ताउली जवानीमा भैन, झन बुढेसकालमा के हुन्थी ?
यता चम्पालाई पनि डर यही मात्र थियो । परदेशिएका लोग्नेहरु आधा आधी पुरानै माया बोकेर फर्किदैनथे । उतै माया जालमा फसेर कति त नेपालै आउन छाडे, कतिले उतैबाट अर्की नक्कलीको माला भिरेर फर्किए त कति काठको बाकसमा बन्द भएर फर्किए । सोच्दा पनि झसङ्ग हुन्थी । तर उसलाई पनि बिश्वास थियो जवानीमा नक्कल नपारेको लीलेले अर्की नक्कली ल्याउनै सक्दैन । बाँकी दैबको खेला । यस्तै सोचेर दिन बिते, चम्पाको मन बुझे ।
एक्कासी लीलेको फोन आउन छाड्यो । चम्पाले फोन बिग्रियो भन्ने ठानी । गाउँकै सानो मोबाइल पसलमा मोबाइल देखाई । सबै ठीक छ तर लीलेको फोन आउदैन । डिउटीमा ब्यस्त होलान् भनेर अलिक दिन कुरी । हरेक महिनाजस्तो पैसा पठाउने दिन पनि आएर गयो तर न पैसा आयो न त फोन ।
गाउँकै रामलाल कहाँ कुरा बुझ्न गै । रामलाल पैला ६ बर्ष साउदी बसेर आएको थियो । उसले पनि आश्वासन मात्र दियो । भन्यो– ‘कहिले काहीँ फोन नै नलाग्ने ठाउँमा पठाउछन् मालिकहरु । सायद त्यतै गएका होलान् लीले दाइ । आत्तिनुपर्दैन, ढुक्क भएर घर चलाउनू ।’
मन अलिकती भए पनि उकास्सियो चम्पाको । अनेकौ कल्पना गर्ने मनले आज हे भगवान मेरो पोईलाई केही नहोस्बाहेक केही कल्पना गर्न सकेको छैन । छोरीहरु बाबासँग गफिन नपाउँदा नून खाएका भाले जस्ता न्यास्रा देखिन्थे । तर छोरीहरुका अगाडि कहिल्यै चिन्ता देखाउन चाहिन । बरु हसाइरही ।
दिन बित्दै जादा हप्ता बिते, हप्ता हप्ता गर्दै महिना बित्यो तर न लीलेको फोन आयो न त खबर । कुर्दा कुर्दै चम्पा दुब्लाउन थाली । हसिली चम्पा एकसुरे हुन थाली । पहिले आएका नम्बरमा फोन गर्दा अरबी भाषामा खै के बोल्ने तर उताबाट फोन नआउने हँुदा गाउँलेहरु पनि अनेक अड्कल काट्न थाले ।
लीले हरायो । पसिना बेचेर खुशी किन्न साउदी छिरेको लीले एक्कासी हरायो । साउदी पुगेको दुई बर्षमा लीले हरायो । झोला बोकेर गाउँ पस्ने टपरे ज्योतिषहरु लीलेको बारेमा अनेक भबिष्यबाणी गरे । कसैले पत्थर बेचे कसैले माला बेचे । लीलेको आशामा चम्पा ती ज्योतिषहरुलाई खुशी पार्दै बसी । तर लीलेको पत्तो लागेन ।
दुई घण्टा टाढा बस्ने पुरेत खगराज नामी ज्योतिष थिए । उनी नाम र जन्ममितिबाटै भबिष्य हेर्न माहिर थिए । एक माना चामल र एक हजार दाम चढाएर लीलेको बारेमा खगराजलाई सोध्दा पनि उस्तै खबर दिए । ‘जिउदै त छ तर दुःखमा छ । आउँछ एक दिन ।’
फेरि भेटिने झिनो आशा लिएर चम्पा गाउँ फर्की । तर महिनौ बित्दा पनि लीले आएन । जिउँदै छ या मरेको, कुनै खबर चम्पाको गाउँसम्म आएन । महिना–महिना गर्दै बर्ष बिते तर लीले फर्किएन ।
लीलेलाई साउदी पठाउने दलाल शहरमा बस्ने थाहा पाएर ऊ बिहानै शहर गै । सात घण्टाको मोटर बाटो पार गरेर शहर पसेकी चम्पालाई न दलाल बस्ने ठाउँ थाहा थियो । न त लीले हराएको उजुरी दिने ठाउँ । उपलब्धिबिहीन भएर फेरि गाउँ फर्किई । अर्ध पागल जस्ती भएकी चम्पा लीलेको फोटोमा हेरेर हरदम रुन थाली । तर उसको रुवाई सुनेर न भगवानले लीलेलाई घर पठाए न सम्पर्कमै ल्याए । आजसम्म लीले फर्केन, चम्पा एक्ली भएको पनि बर्षौ भयो ।
Previous Articleअधिकांश महिला श्रीमानकै कारण विदेसिन्छन्
Next Article अदुवा कृषकलाई बजार नपाएकाेमा चिन्ता