काठमाडौं, २५ कात्तिक- नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थासँग साढे ३ करोड भन्दा बढी प्रतिवन्धित भारतीय रुपैयाँ (भारु) रहेको पाइएको छ ।
बुधवारदेखि भारत सरकारले ५ सय र १ हजारका भारुको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएसँगै राष्ट्र बैंकले नेपालमा पनि भारुको लगत राख्न सुरू गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार बिहीवार साँझसम्म विभिन्न बैंकहरूबाट साढे ३ करोड भारु भन्दा बढी संकलन भएको जानकारी दिए । ‘बैंकहरूसँग योभन्दा बढी भारु छ,’ उनले भने, ‘चार करोड जति भारु बैंकहरूसँग मौज्दात रहेको अनुमान छ ।’ बैंकसँग रहेका भारु संकलन गरिरहेको उनले बताए ।
बैंकका अनुसार अझै केही वाणिज्य बैंकबाट भारुको यथार्थ विवरण आइनसकेको राष्ट्र बैंकले बताएको छ । वाणिज्य बैंकबाहेक विकास बैंक, लघुवित्तसँग पनि केही परिमाणमा प्रतिवन्धित भारु हुनसक्ने बैंकले बताएको छ । सर्वसाधरणसँग भएको भारुको भने हालसम्म कुनै औपचारिक तथ्याङ्क छैन ।
बैंकका अनुसार नेपालमा रहेका प्रतिवन्धित ५ सय र हजारका भारु साट्न पाउने सम्बन्धमा हालसम्म भारत सरकारबाट कुनै औपचारिक जानकारी आएको छैन । बुधवारै बैंकले सटहीका लागि भारत सरकार, भारतीय रिजर्भ बैंकलाई पत्र पठाएको थियो । ‘हामी फलो गरिरहेका छौं, कुनै औपचारिक जानकारी आइसकेको छैन,’ प्रवक्ता पौडेलले भने ।
Previous Articleसाहित्यकार न्यौपाने र अधिकारी पुरस्कृत
Next Article अधिकांश महिला श्रीमानकै कारण विदेसिन्छन्