बागलुङ, २४ कात्तिक
दृष्टीविहिन अमिट केसीले सगरमाथा चढ्ने तयारी गरिरहेको समयमा आर्थिक संकलन अभियानलाइ सबैले सहयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । आगामी सन् २०१७ को अप्रिलमा सगरमाथा आरोहणको अन्तिम तयारी गरेका केसीको लागि गठित सहयोग तयारी समितिले आयोजना गरेको छलफलमा सहभागिले सबै क्षेत्रले सहयोग गर्नुपर्ने धारणा राखेका हुन् ।
केसीले सगरमाथा आरोहण गर्नका लागि विभिन्न शुल्क र सामाग्री खरिद समेतमा झण्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान छ । उक्त कार्यका लागि नेपाल सरकारले ५ लाख रुपैयाँ नगद र ७५ हजार रुपैयाँ राजश्व छुटको व्यवस्था गरिदिएको छ । विभिन्न संस्थाले सहयागको आश्वासन दिएपछि उनले आरोहण तयारी गरेको बताए । आरोहणका लागि तयारी स्वरुप अहिले सम्म ६ हजार २ सय मीटर अग्ला आइसल्याण्ड पिक र मेरापिक हिमाल चढी सकेका छन् । दृष्टीविहिनले अहिले सम्म सगरमाथा आरोहण गरेको इतिहास छैन ।
उनले आरोहण गरेमा बागलुङ सहित देशकै नाम रहने देखिएपछि सरोकारवालाले पनि सहयोगको क्रमलाइ बढाउनुपर्ने बताए । यो अभियानका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै सभासद, जिविस, नगरपालिका सहितका सामाजिक व्यक्तिले पनि सहयोग गर्नुपर्ने समेत बताइएको छ । तयारी समितिका संयोजक कृष्णराज शर्माको अध्यक्षता, पत्रकार दिल शिरिषको संचालनमा सम्पन्न कार्यक्रममा जिल्लाका सामाजिक अगुवाहरुले बोलेका थिए । उनीहरुले देशका सबै क्षेत्रमा पुगेर सहयोग जुटाइ सगरमाथा आरोहणका लागि केसीलाइ हौसला थप्नुपर्ने समेत बताएका थिए । बागलुङको सर्कुवाका केसी दुइ बर्षदेखि यो अभियानका लागि आर्थिक संकलन सहित प्रचारका लागि समेत देश दौडाहामा पनि हिडेका छन् । उनको आरोहणटोलीमा एक जना क्याप्टेन, ३ सहयोगी सहित ५ जना हुने बताइएको छ ।