रत्नेचौर महिला बचत तथा ऋण सहकारी सस्थाको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष चण्डीप्रसाद शर्माले आर्थिक सशक्तिकरणले मात्र महिलाको जीवनस्तरमा परिवर्तन आउने बताएका छन् ।
उनले महिलालाई आर्थिक रुपमा सशक्त हुन सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सहकारीमार्फत उत्पादनमुखी क्षेत्रमा महिलालाई लगानी गर्न सकेमा परिवारमा पुरुष सरहको हैसियत हुनेमा जोड दिए । सोही अवसरमा वडा अध्यक्ष टेकबहादुर रावलले वडामार्फत महिलालाई आर्थिक रुपमा सबल बनाउन आफ्नो निरन्तर प्रयास भैरहेको बताउँदै सिपमूलक तालिम सिकाएर गाउँमै आत्भनिर्भर हुने कृषि, पशुपालन लगायतका क्षेत्रमा वडामार्फत बजेट समेत विनियोजन गर्ने गरिएको जानकारी दिए ।
साधारणसभामा सहकारीका उपाध्यक्ष सरिता शर्माले स्वागत, लेखा प्रतिवेदन सहसचिव सुलोचना केसीले प्रस्तुत गरेको कार्यक्रममा अध्यक्ष कल्पना थापाले अध्यक्षता र सञ्चालन सचिव सुनिता बोगटीले गरेकी थिइन् । सोही अवसरमा गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र रोहित बोगटी र छात्रा रिया रावललाई सम्मान गरिएको थियो । प्लान नेपालको सहयोगमा स्थापना भएको सहकारीमा ४ सय ५० जना शेयर सदस्य आबद्ध छन् ।