राष्ट्रिय खेलाडीहरु अहिले बन्द र वैदेशिक प्रशिक्षणमै रहेका छन् । उनीहरु हाल देश र विदेशका विभिन्न स्थानहरुमा अभ्यासमै व्यस्त छन् । नेपालमै अर्को महिनामा हुने दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिताका लागि नेपाली खेलाडीहरु तयारीमा लागेका छन् । २०७५ सालको अन्तिम समयदेखि २०७६ को पहिलो महिनामा सम्पन्न राष्ट्रिय खेलकुदका स्वर्ण तथा रजतपदक विजेता खेलाडीहरुबाटै छनौट भएका एकल इभेन्टका खेलाडी तथा टिम गेममा छनौट भएका खेलाडीहरु अहिले बन्द प्रशिक्षणको अन्तिम चरणमा रहेका छन् । तयारी कुन रफ्तारमा भएको छ त्यसको बारेमा सागमै थाहा हुनेछ । खेलाडीहरुले ल्याउने मेडल तथा उनीहरुले देखाउने प्रदर्शनबाट नै हामीले त्यसको बारेमा थाहा पाउन सकिएला । तर, जुन रफ्तारमा तयारी भएको छ त्यसले खासै आशा गर्ने स्थान नदेखिएको पो हो की जस्तो भान पनि हुन सक्ने देखिन्छ ।
देशको प्रतिनिधित्व गर्दै सागमा सहभागी हुने खेलाडीहरुले जुन रफ्तारमा अभ्यास गरेका छन्, उनीहरु त्यसलाई अब कहिले चुस्तता दिने ? अब समय थोरै छ । अबको ठीक एक महिनामा साग सुरु हुँदैछ । काठमाडौ तथा पोखरामा हुने सागका खेलकुदमा नेपालीले अहिले आशा गरेको जस्तो पदक आउने सम्भावना अहिले नै खेलाडीले गरेको तयारीबाट पनि प्रष्टै देखिन्छ । सागको लागि अन्तिम चरणमा पुगेका ह्याण्डबल टोलीले म्याग्दीको पर्यटकीय एवं हाई अल्टिच्युडको क्षेत्र टोड्केमा अभ्यास खेलमा देखाएको प्रस्तुती हेर्दा सागमा नेपालले स्वर्णपदक कति ल्याउने छन् भन्ने आँकलन गर्न सहज हुन्छ । सागको अन्तिम तयारीमा रहेको टोलीका खेलाडीहरुले ह्याण्डबलमा बल कलेक्ट गर्न समेत नसक्ने जुन प्रस्तुती देखियो यसले आशाभन्दा बढी निराशा हुने देखिन्छ । सागको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु नै ह्याण्डबलमा बल समात्न समेत राम्रोसँग सक्दैनन् भने त्यो खेलबाट पदकको आशा कुन स्तरमा गर्न सकिएला ?
टिम गेम तथा अन्य व्यक्तिगत प्रतिस्पर्धात्मक खेलमा नेपालको सम्भावना सकिएकै हो त ? नेपालमा साहसिक पर्यटनको निकै सम्भावना मानिन्छ र त्यसैमा अब नेपाललले साहसिक खेलकुदतर्फ पनि लाग्नुपर्ने हो ? प्याराग्लाइडिङलाई खेलको मान्यता दिँदै ओलम्पिकमा समावेश गराइएको छ भने त्यस्तै प्रकारको क्यानोइङलाई पनि नेपालले प्रथमिकता दिनुपर्ने अबको आवश्यकता हुन सक्छ । व्यक्तिगत मेहनत अनि व्यक्तिले आफ्नै तबरले गर्ने तयारीबाटै यदी सकियो भने पदक आउला । होइन भने नेपालमा अब खेलकुदको सम्भावना नै सकिएको हो या नयाँ तरिकाबाट सुरु गर्नुपर्ने हो यस विषयमा भने सोच्नैपर्ने टड्कारो आवश्यकता देखिन्छ । खेलकुदमा सम्भावना भएको नेपालमा अब खेल क्षेत्रको विकास गर्नका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने समय आएको छ । राज्यले पनि खेलकुद क्षेत्रको विकासमा पृथक योजनाहरु ल्याउनुपर्ने आगामी साग गेमले पक्कै देखाउनेछ ।