राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुद क्षेत्रको चौतर्फी विकास गर्नका लागि पर्याप्त लगानी र पूर्वाधारको आवश्यकता रहेको बताएका छन् । शनिबार टोड्के हिल रिसोर्ट प्रालिद्वारा आयोजित म्याग्दी जिल्लामा ५० वर्षमाथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।
उपाध्यक्ष तिम्सिनाले खेलकुद क्षेत्रको विकासका लागि पर्याप्त लगानी र पूर्वाधारको आवश्यकता रहेकोमो जोड दिँदै राष्ट्रिय खेलकुद परिषद खेलकुद क्षेत्रको बृहत्तर विकास गर्न आवश्यक नीति बनाउन लागिरहेको जानकारी दिए । खेलाडीहरु भनेको राष्ट्रको विभूति भएकाले सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै उनले ओलम्पिक खेल र साउथ एसिएन खेलहरुमा जिल्ला जिल्लाबाट खेलाडीहरु उत्पादन गरेर सहभागिता जनाउनुपर्ने बताए । उपाध्यक्ष तिम्सिनाले स्थानीय तहलाई खेलकुद क्षेत्रको दीगो विकासका लागि आवश्यक वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।
नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदले राष्ट्रिय एकतामाथि थप बलियो बनाउने भन्दै खेलकुदका विभिन्न क्षेत्रमा लागेका व्यक्तिहरु समाजमा सजिलै घुलमिल हुन सक्ने बताए । उनले २०७७ सालमा राष्ट्रिय खेल गण्डकी प्रदेशले आयोजना गर्ने जानकारी दिँदै गण्डकी प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि राम्राराम्रा नीतिहरु बनाएको बताए ।
खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न विभिन्न खेल विधा अन्तर्गतका खेलाडीहरुलाई टोड्के हिल रिसोर्ट प्रालिले म्याग्दीका पाँचजना खेलाडीहरुलाई सम्मान गरेको छ । म्याग्दी जिल्लामा ५० वर्ष उमेर पुगेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी उनीहरुलाई नेपाल भ्रमण वर्ष–२०२० पूर्वसन्ध्याको अवसर पारेर रिसोर्टद्वारा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा अन्नपूर्ण गाउँपालिका–६, घोरेपानीका ६३ वर्षीय पौडी खेलाडी क्या. डमबहादुर गर्बुजा पुन र मंगला–१, थाईबाङका ७७ वर्षीय बक्सिङका खेलाडी मानबहादुर बुढाथोकी रहेका छन् ।
यसैगरी रघुगंगा गाउँपालिका–५, झीँका एथ्लेटिक्सतर्फका खेलाडी ६२ वर्षीय मिनबहादुर पाईजा, बेनी नगरपालिका–८, बेनीबजारका भलिबल खेलाडी ५७ वर्षीय मिलन श्रेष्ठ र मंगला गाउँपालिका–५, अर्मनकी भलिबल खेलाडी ५४ वर्षीया कौसिला खत्रीलाई सम्मान गरिएको रिसोर्टले जनाएको छ । खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तिम्सिना, नेपाल ह्यान्डबल संघका अध्यक्ष गुरुङ, टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मिनबहादुर पाईजाले अबिर लगाई सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।
टोड्के हिल रिसोर्ट प्रालिका निर्देशक भीम शेरचनले खेलकुदको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित जिल्लाको उच्च क्षेत्रमा खेलाडी सम्मान तथा ह्यान्डबल सो म्याच प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपूर्णका अध्यक्ष क्या. डमबहादुर पुन र झीँका वडा अध्यक्ष मनबहादुर शेरपुन्जाले मन्तव्य राखेका थिए ।
कार्यक्रम टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मिनबहादुर पाईजाको अध्यक्षता, निर्देशक शेरचनको स्वागत र स्थानीय युवा धनबहादुर शेरपुञ्जाको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच सोही कार्यक्रमको अवसरमा नेपाल ह्यान्डबल संघका पूर्व खेलाडीहरुको बिचमा मैत्रीपूर्ण ह्यान्डबल सो म्याच प्रतियोगिता सञ्चालन गरिएको थियो ।