म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोमबार चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १ हजार १ सय ३३ जना शेयर सदस्य रहेको सहकारीले शेयर पुँजी एक करोड ५० लाख ९६ हजार नौसय, बचत सङ्कलन १२ करोड ९३ लाख ३७ हजार सातसय नौ र लगानी ११ करोड ६६ लाख ७४ हजार सातसय १६ रुपैयाँ रहेको जनाएको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले सहकारी संघसंस्थाहरु सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुसार चल्नुपर्ने बताए । उनले आर्थिक कारोबारसँगै सहकारीले सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने भन्दै उत्पादन र व्यावसायिकमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीले संस्थामार्फत आर्थिक कारोबारसँगै सामाजिक क्षेत्रमा समेत लगानी गरिएको जानकारी दिए ।
साधारणसभाको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका–२, बगरफाँटमा आएको बाढीमा परेर बेपत्ता प्रविना र अनुस्का परियारको परिवारलाई क्रमशः १० हजार, बाढीबाट घर गुमाएका रेशम जुग्जाली र माया परियार पाँचहजार तथा बुद्ध एकेडेमीलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यसैगरी प्रकाश माविका सुस्मिता कार्की, देवी मल्ल, रघुगंगा गाउँपालिका–३, मौवाफाँटस्थित ज्ञानोदय माविका जबिना भण्डारी र सन्जय खत्रीलाई क्रमशः सातहजार पाँचसय रुपैयाँका दरले जेहेन्दार छात्रवृत्ति दिइएको छ ।
संस्थामा उत्कृष्ट कारोबार गर्ने मीनबहादुर खत्री, रुकबहादुर राम्जाली, भवेश्वर थापा, डम्बरबहादुर बरुवाल र कृष्णबहादुर खत्री तथा समग्र उत्कृष्ट कर्जातर्फ लालबहादुर बरुवाललाई सम्मान गरिएको छ । साधारणसभामा बेनपा–८, का वडा अध्यक्ष रामकृष्ण बराईली, मुक्तिनाथ बहुउद्देश्यीय सहकारीका अध्यक्ष लिलाराम गौतम र संस्थाका कार्यसमिति सदस्य क्याप्टेन नन्दबहादुर पुनले मन्तव्य राखेका थिए ।
संस्थाका सहसचिव नरेन्द्रकुमार श्रेष्ठले प्रगति, कोषाध्यक्ष हिराप्रसाद श्रेष्ठले आर्थिक र लेखा समिति सदस्य नारायणप्रसाद सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेको साधारणसभाको उद्घाटनसत्र सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष क्या. झलप्रसाद गौचनको स्वागत र शेयर सदस्य मोहन बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleज्येष्ठ नागरिकलाई घरमै सम्मान
Next Article वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता