म्याग्दीको सदरमुकाम बेनीबजारस्थित रहेको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार स्थलगत अध्ययन तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको निमावि तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा जानकारी गराउने उद्देश्यसहित स्थलगत अध्ययन तथा अवलोकन गराइएको हो ।
दैनिक जीवनयापनका लागि आवश्यक वस्तु तथा सामग्रीमा समेत बालबालिका अनविज्ञता हुने समस्या हटाउन कक्षागत रुपमा स्थलगत अवलोकन (फिल्ड भिजिट) गराउन थालिएको विद्यालयले जनाएको छ । २ सयजना विद्यार्थीहरुलाई ७ जना विषयगत शिक्षकहरूको उपस्थितिमा बेनीमा ल्याइएको खानेपानीको पाइप, निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना र गायत्री मन्दिरदेखि पारीको धानखेत अवलोकन गराइएको छ ।
विद्यालयको निमावि तह संयोजक शिक्षक चन्द्रमान छन्त्यालले दिएको जानकारी अनुसार विद्यार्थीहरुलाई रघुगंगा जलविद्युत आयोजनाको विद्युतगृह क्षेत्रमा भैरहेको विकास निर्माणको बारेमा स्थलगत रुपमा अवलोकन र निरीक्षण गराइएको थियो । यसैगरी राममन्दिर परिसरमा रहेको धानखेतमा धान रोपार्इँदेखि चामल बन्ने प्रक्रियाको अवस्थाको विषयमा समेत जानकारी गराइएको संयोजक छन्त्यालले बताए ।