मायाँ, प्रेम र विश्वास भन्ने चिज निकै फरक हुन् भन्नेहरुको जमात निकै ठूलो भएको भएपनि सबैको सहि रुप र ध्रुव सत्य भनेको नै मित्रता हो । मित्रता जुन सुकै प्रकारको पनि हुन सक्छन् । प्रेमी प्रेमिका बिचको मित्रता होस या परिवार भित्रको मित्रता । जुन सुकै पनि चिजहरुमा हुने मित्रतालाई हेर्ने फरक फरक दृष्टिकोण हुन सक्ला तर पनि त्यसको अन्त्य कदापी हुँदैन । भगवान श्रीकृष्णले आफ्ना मित्र सुदामलाई भनेका थिए । जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात् मतलब या भनौं स्वार्थ लुकेको कुरा मित्रता होइन र मित्रता हुनकालागि निस्वार्थ हुन जरुरी हुन्छ । त्यसैले मित्रतामा कुनै पनि सर्त र सम्झौता हुँदैन भने त्यो नै सच्चा मित्रता हो ।
नेपाली हिन्दू ग्रन्थहरुमा पनि मित्रताका चर्चा निकै गरीएको हुन्छ । भगवान श्रीकृष्ण र सुदाम बीचको मित्रता, रावण र कुम्भकर्ण, सुग्रिप र राम, श्रीकृष्ण र बलरामको मित्रताको चर्चा निकै छन् । मित्रताको अवस्थाको फरक भूमिका देखिन्छ । स्कूलमा पढ्ने समयमा पेन्सीलले लेखेको मेट्नका लागि माथिएको इरेजर सापटी होस् या पछिल्लो समय आएको मोबाइलको ब्यालेन्स सापटी माग्ने मित्रताको अवस्था हेर्ने हो भने पनि कुनै तुलना हुन सक्दैन । गाँस छाड्नु तर साथ नछाड्नु भन्ने उखान त्यसै कथीएको पनि कहाँ हो र ? मानव जीवनको हरेक पानाहरुमा सहृदय र सदभाव भएका मित्रहरुको पाइलाका डोबहरु यादगार रहनेगर्दछ । युवा अवस्थामा फरक लिङ्गीहरु प्रतिको मित्रताले निकै महत्व राख्दछ । मित्रता दिवस मनाउने धेरै मुलुकमा फरक फरक दिन हुने भएपनि दक्षिण एसिया तथा विश्वका केही देशहरुमा अगष्ट महिनाको पहिलो आइतबार मित्रता दिवस मनाउने गरिन्छ ।
मदर टेरेसाले आफ्ना मित्रलाई सिद्ध हुन भनेंर आश नराख बरु आफ्ना मित्रका कमीकमजोरी हटाएर सिद्ध र उत्तम बन्न सहयोग गर भनेकी थिइन् । यसअर्थमा हामीहरुले मित्र अनि संगतबाट पनि धेरै कुराहरु सिकेका हुन्छौं । अर्कोतर्फ सत्य अनि सही मित्रहरु छान्न नसक्दा हुने पथभ्रमता पनि आफ्नो ठाँउमा छ, सही मित्र अनि सत्य मित्रता छान्न सक्नु हाम्रो भागको दायीत्व पनि त हो । धार्मिक साँस्कृतिक तथा अन्य सबै स्थानमा चाहिने साथ र मित्रताले नै सबैलाइ सक्षम र सफल बनाउन सक्छन् भन्ने पनि हो । त्यसैले मित्रताको कुनै तुलनाहुदैन । त्यसैले सत्य र सहि मित्रतालाई सबैले अपनाउन सकौं मित्रता दिवसको शुभकामना ।