अमृत बास्कुने
बैशाख १ गते देखि विद्यार्थी भर्ना अभियान शुरु भएको भएतापनि अहिले सम्म सामुदायिक विद्यालयहरुले औपचारीक रुपमा विद्यार्थी भर्ना नलिँदा अन्यौल भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भएको भएतापनि अहिले सम्म विद्यार्थी भर्ना हुन भने सकेका छैनन् ।
२०७२ सालमा संविधानसभाबाट जारी भएको नेपालको संविधानले व्यवस्था भएको मौलिक हकको समेत उल्लंघन भएको देखिएको छ । संविधानको धारा ३१ मा भएको शिक्षा सम्बन्धी हक समेत अहिले खोसिने हो कि भन्ने तर्फ पनि चनाखो हुनु पर्ने अवस्था देखिएको छ । धारा ३१ को उपधारा १ मा प्रत्येक नागरिकलार्य आधारभूत शिक्षामा पहुँचको हक हुने छ भन्ने उल्लेख भए पनि शैक्षिकसत्र शुरु भएको ७ दिन विति सक्दा सम्म पनि भर्ना हुने नै अन्योल हुँदा पढ्नै नपाउने पो हो कि भन्ने तर्फ पनि अभिभावक तथा विद्यार्थीहरु चिन्तित बन्न थालेका छन् ।
एक जना राष्ट्र सेवक कर्मचारीले आफूले नैतिकता गुमाएर निजी विद्यालयमा आफ्नी छोरी भर्ना गरेको सार्वजनिक गर्नुभएको छ । आफूले निजीमा छोरी भर्ना गर्दै गर्दा अरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न भन्ने नैतिकता गुमेकोमा गुनासो गर्नुभएको छ । मुस्ताङको थासाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकाश परियारले शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालय नखुल्दा आफ्नो सन्तानलाई बाध्य भएर निजीमा भर्ना गर्न परेको गुनासो गर्नुभएको हो ।
शिक्षकको आन्दोलनले गर्दा सामुदायिक विद्यालयमा पढाइको अन्यौलता भएको समयमा विभिन्न क्षेत्रबाट गुनासाहरु आउन थालेका छन् । यसै सन्दर्भमा म्याग्दीका एक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्षले विद्यालयमा पढाइ नहुुँदा विद्यार्थी र स्कुललाई घाटा भएको गुनासो गर्नुभएको छ ।
परियारले सामाजिक सञ्जाल मार्फत आफ्नो सन्तानलाई बोर्डीङ स्कुलमा भर्ना गरेको सार्वजनिक गर्नुभएको हो । उहाँले लेख्नु भएको छ–‘एउटा सोच थियो, आफैले पढेको विद्यालयमा मेरी छोरीलाई पढाउने, तर आजदेखि छोरी निजी विद्यालयमा भर्ना भएर शैक्षिक सत्रको पहिलो दिनको सुरुवात गरिन । म वाध्य भए छोरीलाई निजी विद्यालय पठाउन ।’ उहाँले अगाडी लेख्नु भएको छ–‘यसमा गल्ती मेरो छ कि आन्दोलनरत शिक्षकहरुको कि सरकारको ? थाहा छैन । केही दिन कुरेर सरकारी विद्यालयमा भर्ना गरे पनि कुन बेला फेरि यसरी नै पठनपाठन बन्द हुने हो, थाहा छैन । कहिले सम्म यस्तो त्यो पनि निश्चित छैन ।’ अनि यो जोखिम बोक्न पनि सकिँन, जब मैले सकिँन भने मैले अन्य अभिभावकलाई आफ्ना नानीबाबु सरकारी बिद्यालयमा भर्ना गर्नुस् भन्ने सुझाव कुन नैतिकताले दिउँ ? तसर्थ मैले त्यो नैतिकता गुमाए । म एक राष्ट्रसेवक कर्मचारी, सरकारसङ्ग अनैको गुनासा छन्, अपेक्षा छन् तर पनि मेरो पहिलो प्राथमिकता मेरो कर्तव्य र सेवाग्राही हुनुपर्छ जस्तो लाग्छ । कसैसङ्ग वाद÷प्रतिवाद गर्ने मुडमा छैन, मात्र एक अभिभावक र कर्मकारीको मनले सोचेको अभिव्यक्ति हो, सहमत असहमत हुने सर्वाधिकार यहाँहरुसङ्ग सुरक्षित छ ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उहाँले आफ्नो छोरीलाइ बोर्डीङमा भर्ना गरेको बिल समेत राख्नु भएको छ । त्यस्तै बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरी माविका शिक्षक अभिभावक संघका अध्यक्ष मनबहादुर भण्डारी(महेश बाबु) पनि शिक्षकको आन्दोलनले गर्दा विद्यार्थी तथा स्कुललाई घाटा भएको उल्लेख गर्नुभएको छ । उहाँले मागहरु जायज होलान् तर यस्तै अवस्था हुने हो भने कक्षाकोठामा भएको बोर्डमा लेख्ने बाहेक पढ्ने विद्यार्थी स्कुलमा नहुने तर्फ सचेत गराउनु भएको छ । कुनै समय हजार विद्यार्थी पढ्ने स्कुलमा अहिले दुई सय थिए अब सय पनि रहन्छन् वा रहदैनन् भन्ने अन्यौल भएको उहाँको गुनासो छ ।