गरिमा विकास बैंक बेनी, शाखाले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी शनिबार र अन्य सार्वजनिक विदाका दिनहरुमा होलिडे काउन्टर सञ्चालन गरेको छ । म्याग्दी जिल्लामा सबैभन्दा धेरै ग्राहकको सञ्जाल रहेको बैंकले बेनी शाखामार्फत दिउँसो १० देखि १ बजेसम्म काउन्टर सञ्चालन गरेको हो ।
काउन्टर सञ्चालनमा ल्याएपछि सहज भएको बताउँदै शाखा प्रबन्धक कमलप्रसाद ढुङ्गानाले सेवाग्राहीलाई सहज भएको हुँदा होलिडे सेवासँगै वित्तीय साक्षरता कार्यक्रम लिएर ग्रामीण क्षेत्रमा पुग्ने बताएका छन् । देशभरका शाखामध्ये म्याग्दीको बेनी, पोखराको महेन्द्रपुल, काठमाण्डौको गोंगबु, न्युरोड, रुपन्देहीको बुटवल र चितवनको नारायणघाट शाखाबाट होलिडे सेवा दिइएको उनले जानकारी दिए ।
काठमाण्डौको न्युरोड शाखाले दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म सेवा दिने भए पनि अन्य शाखाको सेवा दिने समय एउटै रहेको बैंकले जनाएको छ । होलिडे काउन्टरमार्फत एउटा चेकमा २ लाखसम्मको भुक्तानी, इसिसी, निक्षेप तथा खाता खोल्न मिल्नेछ । शनिबार र विदाको समयमा गाउँबाट आउने सर्वसाधारणलाई सहज हुने भएकाले काउण्टर सञ्चालन भएको समयमा भीड लाग्ने गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था राष्ट्रियस्तरको कार्यक्षेत्र भएको गरिमा विकास बैंकको ८० शाखा रहेको छ । म्याग्दीको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बाबियाचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा विस्तार गरेको गरिमाले जिल्लाका सबै वस्तीमा जनतालाई बैङ्किङ पहुँचभित्र राख्ने गरी शाखाबाट सेवा उपलब्ध गराउने भएको छ ।