शिलान्यास भएको झण्डै एकवर्ष बितिसक्दा पनि मोना–बेनी–लभ्लीहिल पदमार्गले अझै पूर्णता पाउन सकेको छैन । जिल्ला भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी सदरमुकाम बेनीदेखि नजिकको पर्यटकीयस्थल लभ्लीहिल पु¥याउनका लागि निर्माण थालिएको पदमार्गको निर्माणकार्य अझै नसकिएको हो ।
मोना–बेनी–लभ्लीहिल पदमार्गको नाम दिएर गएको वर्ष भदौ ८ गते शिलान्यास गरिएको पदमार्ग निर्माणको काम ११ महिना पुरा बितिसक्दा पनि अहिलेसम्म निर्माणसम्पन्न हुन सकेन । स्थानीय तह, प्रवासी नेपाली र निजी क्षेत्रको त्रीपक्षीय साझेदारी अनुसार निर्माण गर्ने उद्देश्यसहित संयुक्त रुपमा शिलान्यास गरी पदमार्ग निर्माणको काम अघि बढाइएको थियो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, मोनाका प्रतिनिधि ओमनारायण जुग्जाली र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले एकैसाथ पदमार्ग निर्माणको शिलान्यास गरेका थिए ।
आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई चिनाउन लागि पदमार्ग निर्माणमा क्रमशः बेनपाले ५०, मोना आईइसीले ४० र म्याग्दी उद्योग वाणिज्य संघले १० प्रतिशत रकम बेहोर्ने गरी त्रिपक्षीय साझेदारीमा पदमार्ग निर्माण गर्न सम्झौता गरिएको थियो । तर, शिलान्यास भएको झण्डै ६ महिनापछि गएको माघ २८ गतेबाट मात्रै पदमार्ग निर्माणको काम सुरु गरिएको थियो । शिलान्यासका क्रममा छोटो समयमै पदमार्ग निर्माणसम्पन्न गर्ने भनिए पनि कामदार तथा बजेटको अभाव, प्रतिकुल मौसम, तोकिएको समयमा काम नहुनु र व्यवस्थापकीय कमजोरीका कारण पदमार्ग निर्माणमा ढिलाई भएको जनाइएको छ ।
बेनपा–२, का वडा अध्यक्ष हिराबहादुर थापाले असार मसान्तभित्रै पदमार्ग निर्माणको काम सक्ने भनेपनि नसकिएको बताउँदै नगरपालिकाको बजेट क्रमागतमा राखिएको हुँदा अहिले काम भैरहेको बताए । उनका अनुसार अब छिटै पदमार्ग निर्माणको काम सकेर रेलिङ राखेपछि करिब डेढ महिनाको अवधिमा निर्माणसम्पन्न हुने देखिएको छ । अहिले दैनिक रुपमा काम भैरहेकाले पदमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ भने रेलिङ राख्ने, फिनिसिङसहितका केही कामहरु बाँकी नै छन् ।
पदमार्गको हालसम्म भौतिक प्रगति करिब ७५ प्रतिशत मात्रै भएको बेनी नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिए । पदमार्गको स्टिमेट अनुसार ६ सय ७७ मिटर लम्बाई रहेको छ । २ मिटर चौडाइको सिँढीमा ६ इन्च उचाई रहेको छ भने पैताला १२ देखि १४ इन्चसम्म रहेकोमा पदमार्गको दुवैतर्फ रेलिङ हालिने भएको छ । पदमार्ग निर्माणको सबै काम यही साउन अन्तिम वा भदौ पहिलो साताभित्रै सकेर पदमार्ग सञ्चालनमा ल्याइने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।
पदमार्गको प्रारम्भिक चरणमा ५७ लाख आठहजार नौसय छ रुपैयाँ लागत अनुमान गरिए पनि हाल ७९ लाखमा पदमार्ग सम्पन्न गर्नेगरी काम भैरहेको छ । सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तव्यको रुपमा विकसित भैरहेको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिलमा पछिल्लो समय पर्यटकहरुको चहलपहल बढ्दै गैरहेको छ ।
Previous Articleगरिमा विकास बैंकको होलिडे काउन्टर
Next Article सिद्धार्थ बैंकद्वारा गलेश्वरमा वृक्षारोपण