म्याग्दीमा क्रियाशिल लायन्स क्लबले एकैदिन १ सय ८ वटा पिपलका विरूवाहरु रोपेका छन् । बेनी नगरपालिका–६, चुत्रेनीको सार्वजनिक क्षेत्रमा पिपलका विरुवा रोपिएको हो । पिपलको विरूवा रोपण कार्यक्रमको अवसरमा बेनपा–६, का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले वडाभित्र बरपिपल र चौतारी संरक्षणलाई प्राथमिकता दिएको बताए । उनले विभिन्न संघसंस्थासँग सहकार्य गरी वडाभित्रका अन्य सार्वजनिक क्षेत्रमा समेत बरपिपलसहितको चौतारी बनाउने बताएका छन् ।
लायन्स क्लबको रिजन चियरपर्सन सुनिता केसीले धार्मिकसँगै पिपलको वैज्ञानिक महत्व भएको बताइन् । उनले अक्सिजन दिएर मानव जातिलाई ठूलो गुण लगाउने पिपलको संरक्षणका लागि लायन्स क्लबले थप कार्यक्रम ल्याउने जानकारी दिएकी छिन् । ब्रह्माकुमारी राजयोग ईश्वरीय विश्वविद्यालय म्याग्दीका प्रमुख रिना दिदीले वायु, ध्वनी प्रदुषणलाई न्युन गरी वातावरण सन्तुलित बनाउने पिपलको संरक्षण गर्नुपर्ने बताइन् । उनले पिपलको महत्वका बारेमा हरेक नागरिकलाई जानकारी हुनुपर्ने बताइन् ।
विभिन्न चाडपर्वमा पिपलको पुजा गर्नुपर्ने मान्यता र प्रचलनका आभारमा स्थानीयवासीहरुलाई सहज होस र बातावरण तथा पर्यावरणको संरक्षण होस् भन्ने उद्देश्यले पिपलका विरुवा रोपिएको बताउँदै प्रति पिपलको बिरुवा संरक्षणका लागि ७ सय रुपैयाँको दरले ७२ हजार छ सय रुपैयाँको कोष समेत बनाइएको लान्यस सुविन श्रेष्ठले बताए । सामाजिक तथा मानवीय सहयोगलाई प्राथमिकता दिने गरेको लायन्सको पहलका हालसम्म विभिन्न कार्यक्रम भएका छन् ।
लायन्सको पहलमा जिललाको बेनपा–९, तोरीपानीको गलेश्वर माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७, विममा प्रति विद्यालय २ करोड रुपैयाँ बराबरको भवन निर्माणाधीन अवस्थामा रहेको छ भने हरेक वर्ष स्वास्थ्य शिविरसहित विभिन्न गतिविधिहरु हुने गरेका छन् ।
Previous Articleस्वास्थ्यका चारजना अख्तियारको नियन्त्रणमा
Next Article पर्यटकीयस्थल लभ्लीहिलमा ‘हरियाली–पार्क’ निर्माण