स्वास्थ्य कार्यालय म्याग्दीका चार जनालाई आइतबार अख्तियारको कार्यालयले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले उनीहरुलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ ।
पोखराबाट आएको अख्तियारको टोलीले स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा आचार्यसहित स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारीचालक भवदत्त जैसी रहेका छन् । पक्राउ परेका सबैलाई आइतबार साँझ नै पोखरा लगिएको छ ।
गएको आर्थिक वर्षमा सम्पन्न कार्यक्रमवापतको पेश्की फछ्र्योट गरिदिने वाहनामा लिएको एकलाख ३० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको अख्तियारको भनाइ छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले स्वास्थ्य कार्यालय प्रमुखसहित चार जनालाई अख्तियारले नियन्त्रणमा लिएको आफूले थाहा पाएको बताए ।
यसअघि डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई घुस लिँदालिँदै पक्राउ परेका थिए ।
Previous Articleदुइ वर्ष पछि नेपाल
Next Article लायन्स क्लबद्वारा १०८ पिपलका विरुवा रोपियो