प्रताप बानियाँ
पछिल्लो समय पर्यटकीय स्थलका रुपमा चर्चा बटुल्न सफल लभ्लीहिलमा ‘हरियाली–पार्क’को निर्माण भएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले अघि सारेको शहरी वन प्रवद्र्धन तथा उद्यानपार्क निर्माण कार्यक्रमबाट लभ्लीहिलमा हरियाली पार्क बनाइएको हो ।
म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा पर्ने खबरा गाउँको नजिकमा रहेको लभ्लीहिलमा प्रदेश सरकारको आर्थिक सहयोगमा डिभिजन वनकार्यालय म्याग्दी मार्फत हरियाली पार्क निर्माणको काम सञ्चालन गरिएको थियो । पिपलडाँडा सामुदायिक वन उपभोक्ता समिति खबरालाई छनोट गरी सो समूह मार्फत हरियालीपार्क निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
लभ्लीहिल क्षेत्रको कुल ३० मिटर लम्बाई र १५ मिटर चौडाइको जमिनमा बनाइएको पार्क भित्र धुपी, मसाला सहित सुगन्धयुक्त फलफुलका विरुवाहरु रोपिएको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्ष चन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पार्ककालागि आवश्यक जग्गालाई घेराबार गरी त्यसै भित्र विरुवा रोपिएको छ भने लभ्लीहिल क्षेत्रमा पनि विभिन्न किसिमका बोटविरुवा लगाइएको छ । लभ्लीहिललाई हरियाली क्षेत्रका रुपमा रुपान्तरण गर्ने हिसाबले कार्यक्रम लागू गरी अगाडि बढाइएको हो ।
सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाएर उपयोग गर्नका लागि पार्क निर्माण गरिएको बताइएको छ । जिल्लामा रहेका सामुदायिक वन अन्तर्गतका खाली जग्गा जमिन र पाखो क्षेत्रलाई उपयोग गर्ने गरी हरियाली बनाउनप ार्क बनाइएको छ । हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि गत वर्ष दुईवटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको थियो । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले गएको वर्षमा ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
कार्यक्रमबाट ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन समूह र पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वनमा पार्क निर्माण गरिएको छ । मंगलाको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूहलाई कार्यक्रम मार्फत १८ लाखर पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको डिभिजन वन कार्यालयको भनाइ छ ।
बदलिँदो वातावरणसँगै शहरी कोलाहलबाट मुक्त हुनका लागि स्वच्छ हावा लिँदै हरियाली दृश्यावलोकन गर्ने उद्देश्य सहित कार्यक्रम लागू गरिएको जनाइएको छ। शहर तथा बजार क्षेत्र वरिपरी रहेका खाली एवं पाखो जग्गा जमिनलाई प्रयोग गरेर हरियाली क्षेत्रका रुपमा विकास गर्न कार्यक्रम आएको हो । कार्यक्रम अनुसार सामुदायिक वन क्षेत्रको खाली जग्गामा गह्रा निर्माण गरी बगैंचा बनाउने, वृक्षारोपण गर्ने, शोभनीय खालका नयाँनयाँ विरुवाहरु लगाउने र बस्न मिल्ने ठाउँ बनाई हरियालीपार्क निर्माण गर्ने योजना रहेका थिए ।
लभ्लीहिलमा अहिले दिनहुँ जसो सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । सदरमुकाम बेनीबजारबाट नजिकको दुरीमा रहेको लभ्लीहिल व्यस्त दैनिकी जीवन बिताएका मानिसहरु, आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ ।