म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबार कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मा वार्षिक कार्यक्रम अनुसार जिल्लामा सञ्चालित योजना र बजेटबारे जानकारी गराउन तथा गुनासो सङ्कलनका लागि सार्वजनिक सुनुवाई गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले कार्यालयमार्फत चालु आर्थिक वर्षमा जिल्लामा सञ्चालित कार्यक्रम तथा योजनाहरुको बारेमा जानकारी गराएका थिए । चालु वर्षमा संघीय सरकारले पठाएको ३२.९८ र प्रदेश सरकारका कार्यक्रमको २७.९१ प्रतिशत मात्र बजेट खर्च भएको हो । संघ सरकारका कार्यक्रम सञ्चालनका लागि पाँच करोड २३ लाख ७९ हजार रुपैयाँ आएकोमा एक करोड ७२ लाख ४१ हजार खर्च भएको छ । यसैगरी प्रदेशबाट चार करोड १३ लाख १३ हजार रुपैयाँ आएकोमा एक करोड १५ लाख ३१ हजार रुपैयाँ मात्रै खर्च भएको प्रमुख कोईरालाले बताए ।
त्यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले भने संघीय सरकारका कार्यक्रमको ८२.२२ र प्रदेश सरकारका कार्यक्रमको ९२.८ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ । दुई करोड २२ लाख ४७ हजार रुपैयाँ बजेट आएकोमा एक करोड ९८ लाख ७१ हजार रुपैयाँ खर्च भएको केन्द्रका प्रमुख पशु चिकित्सक जीवनप्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रममा नेकपाका प्रदेश सदस्य तथा पूर्व सांसद नवराज शर्मा र नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्की र प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले मन्तव्य राखेका थिए । सोही अवसरमा गाईभैंसीमा कृत्रिम गर्भाधान सेवा प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै पशु सेवा प्राविधिक सुवास रेग्मी, पशु स्वास्थ्य प्राविधिक गणेश रिजाल र नायव पशु सेवा प्राविधिक प्रदिप गौतमलाई नगदसहित सम्मान गरिएको छ ।