जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘बेस्ट पुलिस अफ् द मन्थ अवार्ड’बाट जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रहरी जवान बैकुण्ठ पौडेललाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा आयोजित एक समारोहबीच उनलाई अवार्डमार्फत सम्मान गरिएको हो ।
म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले एकैपटक दुई युवतीसहित ६ जना लागूऔषध प्रयोगकर्तालाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका पौडेललाई कदरपत्र हस्तान्तरण गरी सम्मान गरेका थिए । सम्मानपछि बोल्दै प्रनाउ मरासिनीले राम्रो काम गर्ने व्यक्ति ओझेलमा नपर्ने भन्दै पहिलोपटक म्याग्दीमा अवार्डको घोषणा गरी उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गर्ने गरिएको बताएका छन् । उनले हरेक महिना एकजना उत्कृष्ट प्रहरी कर्मचारीलाई छनोट गरेर अवार्डमार्फत सम्मान गरिँदै आएको जानकारी दिए ।
गत जेठ ३२ गते पौडेलले सूचनाको आधारमा सदरमुकाम बेनीबजारबाट लागूऔषध प्रयोगकर्ता ६ जना युवायुवतीलाई ८६ सेट डाईजापाम, फेनेरागन, नुर्फिन, १२ थान सिरिन्जसहित पक्राउ गर्नुका साथै उनीहरुको साथबाट लागूऔषध बरामद गरिएको थियो । लागूऔषध प्रयोगकर्तालाई समात्ने पहिलो प्रयास पौडेलले नै गरेकाले साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरुप उनलाई नगद र कदरपत्रसहित ‘बेस्ट पुलिस अफ द् मन्थ अवार्ड’बाट सम्मानित गरिएको प्रहरीले जनाएको छ ।
साङ्गठनिक नीति तथा प्राथमिकतालाई अनुसरण गरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न र कार्यसम्पादनमा सफलता प्राप्त गर्ने उद्देश्यसहित गएको बैशाख महिनादेखि नयाँ कार्यक्रम ‘पुसिल अफ द मन्थ’ सुरु गरिएको थियो । यसअघि सम्मानित हुने प्रहरीले समेत जोखिम मोलेर उद्धारमा खटिएकालाई सम्मान गरिएको थियो । पुलिस अफ् द मन्थ कार्यक्रम छनोटका लागि प्रहरी निरीक्षकको अध्यक्षतामा ३ सदस्यीय छनोट समिति गठन आवश्यक गृहकार्य अगाडि बढाउने गरिएको छ ।
Previous Articleचुनौतीपूर्ण हुनसक्छ ग्रिजम्यानका लागि बार्सिलोना
Next Article कृषि र भेटेरीनरीको संयुक्त सार्वजनिक सुनुवाई