आज साउन १ गते अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिन । साउने सक्रांन्ति तथा तुलो फाल्ने दिनको रुपमा पनि परिचित यो दिन सबै हिसाबले महत्वपूर्ण मानिन्छ । हिन्दू धार्मिक ग्रन्थअनुसार आजबाट दक्षिणायन शुरु हुन्छ । वर्षात्को समयको करिब करिब अन्तिम तिरको यो समय पछि हिन्दू धार्मिक ग्रन्थहरुका मुख्य चाडहरुको पनि आगमन हुने भएकाले पनि यो दिन निकै महत्वपूर्ण मानिन्छ । नागपञ्चमी हुँदै शुरु हुने हिन्दू चाडहरुको मौषम साउन पछि नै थालनी हुन्छ । जब साउनको संक्रान्ति आर्थत् १ गते लुतो फाल्ने गरिन्छ त्यसैगरी अन्य चाडको स्वागतको रुपमा पनि यस दिनलाई लिन सकिन्छ । वर्षाको याममा हिलोमा काम गरे आएका घाउखटीरा तथा लुतो पिलोलाई सफा गरेर पुजा गर्दै बेलुका आगोको अगुल्ठो फालेर चिच्याउदै कराउँदै वर्षात्लाई बिदाइको मार्गमा पठाउने दिन हो आज ।
हिन्दु चाडहरुको महिला तथा बोलबम यात्रा गर्ने महिना समेत हो यो । साउन महिनाको प्रत्येक सोमबार शिवालयहरुमा भक्तजनहरुको भिड लाल्ने तथा बोलबम यात्रा गर्नेहरुका लागि पनि यो महिनालाई उत्तम मानिन्छ । यो महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् । भगवान शिवको महिनाका रुपमा पनि यो महिनालाई लिइन्छ, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि आएको छ । पौराणीक मान्यतालाई हेर्ने हो भने यस महिनालाई समुन्द्र मन्थन गरेको महिना पनि भनिन्छ । सोही समयमा निश्केको बिषलाई महादेवले सेवन गरेर संसार जोगाएको कथन हाम्रा धार्मिक ग्रन्थहरुमा पाइन्छ ।
उत्तरमा रहेका सूर्यले साउन संक्रान्तिबाट दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिन विशेषलाई दक्षिणायन भनिएको हो । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो । हरेक सोमबारको विशेष महत्व रहिआएको छ । श्रावणको प्रत्येक सोमबार महिलाहरु शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सु–स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ । विवाहीत महिलाहरुले भने आफ्नो सन्तान र श्रीमानको आयु लामो होस भनेर कामना गर्ने गर्दछन् । सबै प्रकारले उत्तम रहेको यस महिना सँगै ठूला चाडहरु दशै तथा तिहार पनि नजिकीने भएकाले यो महिनाबाट खुशीको मौषम सुरु हुने दिन पनि हो । साउने संक्रान्तिको शुभकामना ।
Previous Articleकृषि र भेटेरीनरीको संयुक्त सार्वजनिक सुनुवाई
Next Article ‘दाइ’हरूको डर