काठमाडौं, १८ कार्तिक/ भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको संविधानको स्वागत गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएकै दिन बुधबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्तामा मुखर्जीले नेपालको संविधान बनेकोमा यसको स्वागत गरेका हुन् । भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जीले तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डका साथै सरकारका मन्त्रीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । मुखर्जी नेपाली समकक्षीसँगै शीतल निवास पुगे, जहाँ औपचारिक भेटवार्ता भएको छ । भेटका क्रममा भारतीय राष्ट्रपति मुखर्जीले संविधान बनेकोमा राष्ट्रपति भण्डारी र नेपाली जनतालाई धन्यवाद दिएको शीतल निवासले जनाएको छ । मुखर्जीले समकक्षी विद्यादेवी भण्डारीलाई भारत भ्रमणको निम्तोसमेत दिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिए ।
राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा केहीबेर अघि एघघन्टा लामो भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवम् जनस्तरको सम्बन्धलाई थप सुदृढ तुल्याउनेबारे छलफल भएको छ । राष्ट्रपतिद्वयबीचको वार्ता पारस्परिक हितमा केन्द्रित रहेर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । उनले भने, ‘भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभाप्रति बधाई ज्ञापन गर्नुभयो ।’ पौडेलका अनुसार भारतीय राष्ट्रपतिले राष्ट्रपति भण्डारीलाई भारत भ्रमणको निम्तो दोहोर्याएर गरेको समेत जानकारी दिए । उनका अनुसारभेटवार्तामा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, राष्ट्रपतिका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी उपस्थित थिए । भेटमा भारतका रक्षा राज्यमन्त्री सुभास भामरे, सांसदहरू एल गानेसन, जगदम्बिका पाल, राजकुमार सिंह, भुवनेश्वर कलिता, विदेश सचिव एस जयशङ्कर, नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतको उपस्थिति थियो । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीन दिवसीय राजकीय भ्रमणमा बुधबार काठमाडौँ आएका हुन् ।
केपी ओली लैनचौर गएनन्
भारतीय राजदूताबासले बुधबार लैनचौरमा आयोजना गरेको समारोहमा पूर्वप्रधानमन्त्री केपी ओली सहभागी भएनन् । ‘उहाँ भारतीय दूताबासमा जानुहुन्न,’ ओलीनिकट स्रोतले भन्यो, ‘पूर्वप्रधानमन्त्रीले दूतावासमा धाउनुहुँदैन भन्ने मान्यता राख्ने भएकाले ओलीजी निम्तो पाएर पनि लैनचौर नजानुभएको हो ।’ लैनचौरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा भारतीय दूतावासले मंगलबार एक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागी नभए पनि त्यसपछि सोल्टी होटलमा आयोजना गरिएको रात्री भोजमा भने एमाले अध्यक्ष ओलीको सहभागिता स्वाभाविक भएको एमाले स्रोतले बतायो । दूतावासमा नजाने केपी ओलीको मान्यता भए पनि मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै भारतीय दूतावासको निम्तो मान्न लैनचौर पुगेका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि छिमेकीको निम्तो मानेका छन् । त्यसैगरी लैनचौरमा एमाले नेता सुवास नेम्वाङलगायत पार्टीका अन्य नेताहरु चाँहि उपस्थित थिए । दूतावासको निम्तो मान्न विभिन्न दलका नेताहरु पुगेका थिए । एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल भने भियतनाम र जापानको भ्रमणमा रहेकाले उनीहरु मुखर्जीको स्वागतमा आयोजित कार्यक्रममा सहभागी हुन पाएनन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिवीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति प्रवण मुखर्जीवीच बुधबार साँझ हायत होटलमा औपचारिक कुराकानी सम्पन्न भएको छ । भेटमा दुईपक्षीय हितबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटबारे सञ्चारमाध्यमलाई जानकारी दिँदै परराष्ट्रमन्त्री प्रकाश शरण महतले दुई देशवीच उच्चस्तरीय भ्रमणले आपसी सम्बन्ध थप मजबुद भएको प्रधानमन्त्री प्रचण्डको भनाइ उधृत गरे । मुखर्जीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले हालै आफूले गरेको भारतको औपचारिक भ्रमण र गोवा भ्रमणले दुई देशको सम्बन्ध मजबुद पारेको बताएका छन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले दुई देशको सम्बन्ध राम्रो बनाउन नेपालले कुनै कसर बाँकी नराख्ने बताएका थिए । साथै संविधान कार्यान्वयनको चरणमा असन्तुष्टिहरुलाई संविधानमा समेट्ने प्रयास भइरहेको प्रचण्डले भारतीय राष्ट्रपतिलाई जानकारी गराए । भेटमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मुख्यसचिव सोमलाल सुवेदी र परराष्ट्र सचिव शंकरदास बैरागी लगायतको सहभागिता थियो ।
Previous Articleबेनी–अर्थुङे जोड्ने सडकको स्तरवृद्धि
Next Article लौठ सल्लाः बागलुङ जिल्लामा यसको अवस्था