प्रकाश थापा
लौठ सल्लाको सामान्य परिचय
नेपालको वन जंगलहरुमा पाइने रुख विरुवा मध्ये एक महत्वपूर्ण प्रजाति लौठ सल्ला हो । समशितोष्ण र अर्धलेकाली हावापानीमा प्राकृतिक रुपमा पाइने लौठ सल्ला नेपालको पूर्वदेखि पश्चिमसम्मका जिल्लाहरुमा सामान्यतया १८०० देखि ३४०० मिटर उचाइमा चिस्यानयूक्त र छायाँदार क्षेत्रहरुमा पाइन्छ । लौठ सल्ला ढिलो बढ्ने सदाबहार र हाँगाबिङ्गा धेरै हुने प्रजाति हो । यसको गोलाई ५ देखि ५.५ फिटसम्म र उचाइ ३० देखि ९० फिटसम्म हुन्छ । यसको बोक्रा खैरो रातो र काठ फिक्का रातो हुन्छ । यसको पात २.५ से.मि देखि ३.८ से.मी सम्म लामो, मसिनो, फिजिएको, माथिल्लो भाग गाढा हरियो र तल्लो भाग फुस्रो हरियो हुन्छ । लौठ सल्लाको पात जेठ असारमा झर्दछ र फूल चैत्रदेखि जेठसम्म फुल्दछ भने ससानो गोलाकार आकारको रातो फल असोज कार्तिकमा पाक्दछ ।
लौठ सल्लाको महत्व
लौठ सल्लाको पात तथा बोक्रालाई प्रशोधन गरी निस्कने ट्याक्सोल (पदार्थ) ले प्राणघातक रोग क्यान्सरलाई निको पार्ने हुनाले वर्तमान समयमा यसको महत्व बढिरहेको छ । विश्वव्यापी रुपमा ट्याक्सोलको माग धेरै छ । अन्तराष्ट्रिय बजारमा ट्याक्सोलको मूल्य हजारौं डलर पर्दछ । यसै गरी लौठ सल्लाको घरेलु उपचारको रुपमा रुघा खोकी, दम, स्वास नली सुन्निएको, खाना रुचाउने तथा स्वास्थ्यवर्धक औषधिको रुपमा लिने प्रचलन छ । गाउँघरमा लौठ सल्लाको काठ बलियो हुने भएकोले पोलको रुपमा प्रयोग गर्ने गरिन्छ । यस बाहेक गाइ भंैसीका लागि घाँस समेत दिने गरिन्छ । तर कतै यो गाइ भैंसीलाई विषालु हुने कुरा पनि सुन्न पाइन्छ ।
लौठ सल्लाको संरक्षण अवस्था
लौठ सल्लालाई विश्व संरक्षण संघले यसको संरक्षण अवस्थालाई मध्यनजर गरी ूसंकटापन्नू सूचीमा राखेको छ । यसै गरी साइटिस महासन्धीको अनुसूची २ मा समेत लौठ सल्ला सूचिकृत छ । लौठ सल्लाको पातलाई प्रशोधन नगरी विदेश निकासी गर्न पाइदैन । नेपाल भित्र रहेका प्रशोधन गर्ने कम्पनीहरुलाई मात्र यसको पात विक्री गर्न पाइन्छ । वन नियमावली २०५१ अनुसार लौठ सल्ला पातको राजश्वप्रति के.जि. रु २५ रहेको छ ।
बागलुङ जिल्लामा लौठ सल्लाको अवस्था
पुस्ताकलय अध्ययन तथा छेत्र भ्रमणको प्रारम्भिक अध्ययनबाट बागलुङ जिल्लाका तारा, हिल, अर्गल, पाण्डवखानी, दुदिलाभाटि, वोवाङ, धम्जा र अधिकारिचौर गाविसमा लौठ सल्ला रहेको देखिन्छ । यी गाविसहरुका सामुदायिक वन तथा सरकारबाट व्यवस्थित वनहरुमा उल्लेख्य रुपमा लौठ सल्ला रहेको देखिएको छ । तारा गाविसको जुल्फे सामुदायिक वन, अल्वाङ सामुदायिक वन, डुडे लेक सामुदायिक वन, ठुलोभिर सामुदायिक वन र तिनचुले सामुदायिक वनमा लौठ सल्ला प्रचुर मात्रामा छ । यसै गरी हिल गाविसको गुफा सामुदायिक वन र वुकखोला गजेनी सामुदायिक वनमा लौठ सल्ला रहेको छ । पाण्डवखानी गाविसको शिवधुरी सामुदायिक वन, शंखद्वार महिला सामुदायिक वन, रमुवा सामुदायिक वन, वाइगाम बतासे सामुदायिक वन, लोङ्गा देउराली सामुदायिक वन र ककने सामुदायिक वनमा समेत लौठ सल्ला पाइन्छ । दुदिलाभाटी गाविसको झप्रेनी सामुदायिक वन र ज्यामिरे सामुदायिक वन लौठ सल्ला रहेको स्थानीय उपभोक्ताहरुको भनाइ छ । अर्गल गाविसको खाल्डाँडा सामुदायिक वन पनि लौठ सल्ला रहेको छ । वोवाङ गाविसको देउराली सामुदायिक वनमा समेत लौठ सल्ला छ । धम्जा र अधिकारिचौर गाविसका केही सामुदायीक वनमा पनि लौठ सल्ला छ । सामुदायिक वन बाहेकका यी उल्लेखित गाविसहरुका सरकारबाट व्यवस्थित वनमा पनि लौठ सल्ला राम्रो मात्रामा रहेको जनिफकारहरुबाट सुन्न पाइन्छ । यसरी सर्सर्ती हेर्दा बागलुङ जिल्लामा लौठ सल्लाको स्रोत उल्लेख्य मात्रामा रहेको देखिन्छ ।
यसरी समग्रमा हेर्दा ज्ञ लौठ सल्ला खेतीका लागि बागलुङ जिल्लाको हावापानी उपयुक्त देखिएकाले स्थानीय जनताले यसको व्यवसायिक खेती विस्तारतर्फ समेत ध्यान दिनुपर्ने देखिन्छ । लौठ सल्लाको उपयोगीतालाई मध्य नजर गर्दै यसको प्रवद्र्घनमा गर्न सके जिल्लाले समग्र रुपमा व्यापक आर्थिक फाइदा लिने संभावना छ । यसको प्रवद्र्घनले रोजगारी, पर्यटन र वातावरण संरक्षणका क्षेत्रमा विशेष भूमिका खेल्नेछ । (लेखक थापा
जिल्ला वन कार्यालयका सहायक वन अधिकृत हुन् ।)