म्याग्दी, १८ कार्तिक/करिब साढे दुई करोड रुपैयाँको लगानीमा सदरमुकाम बेनीदेखि अर्थुङ्गे जोड्ने बेनी–देउराली सडक स्तरवृद्धि गरिएको छ । जिविस अन्तर्गतको विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) परियोजनामार्फत दुई करोड ४७ लाख ८२ हजार रुपैयाँको लागतमा तीन किलोमिटर १८० मिटर सडक स्तरवृद्धि भएको हो ।
चार सय मिटर सडक पिसिसी, आरसिसी ढलान गर्नुका साथै ग्राभेल गर्ने, नाली बनाउने, चक्लाउने, पक्की र ग्याबियन पर्खाल लगाइएको सडक विवादित बाहेकको ठाउँमा छ मिटर फराकिलो बनाएको आयोजनाले जनाएको छ । २०७१ असारमा सोही वर्षको फागुनमा सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरेको शिवशक्तिरुनाना जेभीले निर्धा्रितभन्दा करिब बीस महिना ढिला काम सकेको हो । ढिलाइ गरेपछि आयोजनाले ठेकेदार कम्पनीलाई २०७३ वैशाख १६ गतेदेखि दैनिक १२ हजार ६ सय पाँच रुपैयाँका दरले जरिवाना तिराएको आयोजनाका इन्जिनियर विवेक केसीले बताए । प्रभावित क्षेत्रका बासिन्दाको असहयोग, विवाद, दातृ निकाय एसियाली विकास बैंक, ठेकेदार र कर्मचारीको ढिलासुस्तीका कारण लक्ष्यभन्दा बढी समय लागेको हो । सडक स्तरवृद्धि भएपछि बेनी नगरपालिकाको अर्थुङ्गे, पुलाचौर, घतानका साथै पात्लेखेत, झीँ, पाखापानी, मल्कवाङ र कुइनेमङ्गले गाविसका बासिन्दालाई सुविधा पुगेको छ । विसं २०६९ मा करिब तीन करोड खर्च भएको काम असफल भएपछि त्यहाँ दोस्रो चरणमा अर्को आयोजना सञ्चालन भएको हो ।
यसैगरी, बेनी–पाखापानी सडक आयोजनाअन्तर्गत दोस्रो चरणमा सात किलोमिटर दूरीको देउराली–तोरीपानी खण्डको स्तरवृद्धिको आधा काम पूरा भएको छ ।
२०७३ साल भदौ २ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको र छ करोड १५ लाख रुपैयाँमा सम्झौता भएको आयोजनाको बाँकी काम यसै वर्ष सक्ने ड्रिलिपले जनाएको छ । रासस