म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी आवासीय माध्यमिक विद्यालयले प्रवेशिका परीक्षा (एसईई)मा उत्तीर्ण तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको छ । शनिबार सदरमुकाम बेनीमा विद्यालयले एक कार्यक्रमकाबीच उत्तीर्ण एवं उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको हो ।
विद्यालयले एसईईमा जिपिए ए प्लस ८ जना, जिपिए ए १४ जना र जिपिए बी प्लस १ जनासहित ३२ जना विद्यार्थीहरुलाई बधाइसँगै शैक्षिक सफताको कामना गर्दै विदाई गरेको जनाएको छ । कार्यक्रममा विद्यालयका संस्थापक यशोदादेवी बानियाँले परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै शैक्षिक उज्ज्वल भविष्यको कामनाका साथ विद्यालयले आर्थिक आम्दानीलाई भन्दा शैक्षिक गुणस्तरमा जोड दिएकाले विगतदेखि नै उत्कृष्ट अङ्क हासिल गर्न सफल भएको दावी गरेकी छिन् ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल मनोहर गोर्खालीले उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै विद्यार्थी सफल हुनुमा विद्यार्थीको अध्ययनमा लगनसिलता, अभिभावकको सहयोग तथा विद्यालयले प्रदान गर्ने गुणस्तरीय शैक्षिक वातावरणको साथले मात्र सम्भव भएको बताए ।
कार्यक्रम संस्थापक बानियाँको अध्यक्षता, शिक्षक प्रकाश आचार्यको सञ्चालन र सुनिता आचार्यको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक सञ्जय श्रेष्ठ, विद्यार्थी सन्दीप पौडेल, अभिभावक मिता केसी र संज्ञा श्रेष्ठले बोलेका थिए ।
Previous Articleनेपाल र मलेसिया बीचको सेमी फाइनल लाइभ भिडियो
Next Article रिममा व्यवसायिक टिम्मुर खेतीसम्बन्धी तालिम