उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानस्थित रिममा आइतबार व्यवसायिक टिम्मुर खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा हिस्तानको रिममा टिम्मुर खेती तालिम सञ्चालन गरिएको हो ।
तालिमको सहजीकरण गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकिय सचिव चन्द्रमणि सापकोटाले वनपाखामा खेरजाने टिम्मुरको संरक्षण गरी उत्पादनमा लगाउन सकेमा राम्रो आम्दानी गर्न सकिने बताएका छन् । उनले टिम्मुर स्वास्थ्यका लागि समेत बहुउपयोगी जडिबुटी रहेकाले यसको दीगोपनाका लागि स्थानीय स्तरबाटै संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत समेत रहेका मन्त्रीका स्वकिय सचिव सापकोटाले तालिमको अवधिमा टिम्मुर खेतीको परिचय, यसको सम्भावना, उत्पादन तथा प्रयोग, टिम्मुरले स्वास्थ्यमा पार्ने प्रभाव, बजारीकरण लगायतका विषयहरुमा सहजीकरण गरेका थिए । यसैगरी कार्यक्रममा टिम्मुरसहित सतुवा, चिराईतो, लौठेसल्ला, पाँचऔंले जस्ता विषयमा पनि सहभागीहरुलाई प्रशिक्षण दिइएको छ । तालिममा रिमका स्थानीय बेलबहादुर पूर्जाले समेत सहजीकरण गरेको औलबाट कविता पुनले टेलिफोनमा जानकारी दिएकी छिन् ।
गत शुक्रबारदेखि ३ दिनसम्म चलेको तालिममा हिस्तान, रिम, औल, राम्चे र काफलडाँडाबाट गरी ३९ जनाले सहभागिता जनाएका थिए । तालिमको अवसरमा सहभागीहरु कविता पुन, दिलबहादुर पूर्जा र मतिलाल क्षत्रीले आ–आफ्नो अनुभव मन्तव्य समेत राखेका थिए ।
Previous Articleएसईईमा उत्कृष्ट अङ्क ल्याउनेलाई सम्मान
Next Article तातोपानीमा नमस्ते मोबाइलले काम गरेन