उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा रहेको ज्ञानप्रकाश माध्यमिक विद्यालय नमुना विद्यालयमा छनौट भएको छ । गत हप्ता सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयतर्फ औसत नतिजामा जिल्लामै अगाडि देखिएको हो ।
विद्यालयलाई गत असार ६ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले ज्ञानप्रकाशसहित देशभरका १६ वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट भएको विद्यालयका प्रधानाध्यापक शान्त नेपालीले बताए । ‘यो ठूलो उपलब्धि हो, ‘यहाँको शैक्षिक विकासमा कोशेढुङ्गा सावित हुन्छ’ उनले भने ।
उत्तरी क्षेत्रमा गुणस्तरीय शिक्षासहित विभिन्न शैक्षिक गतिविधिमा अघि रहेको विद्यालयको पूर्वाधार, सिकाई उपलब्धि, समुदायको लगानीमा पूर्वाधार, मापदण्ड अनुसारको पूर्वाधार, पाँचवर्ष यताको एसईई नतिजाको औसत जिपिएलगायत विभिन्न सूचकहरुमा अगाडि रहेकाले छनौट भएको स्थानीय अगुवा एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाले बताए ।
‘समुदायको मेहनतले पनि सफलता प्राप्त गरेको छ, ‘प्रवासबाट दानावासीले गरेका धेरै सहयोगले पनि सहज भएको छ’ पूर्जाले भने । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुने विद्यालयलाई युके्लगायत विभिन्न देशमा रहेका दानावासीले पूर्वाधारसहित शैक्षिक गतिविधिमा समेत ठूलो सहयोग गरेका छन् । नमुना विद्यालयको मापदण्ड अनुसार पूर्वाधार निर्माण तथा व्यवस्थापनमा विद्यालयको नाममा रहेको १० रोपनीमा कक्षाकोठा भवन, छात्राबाससहित आवश्यक पूर्वाधार बनाउने विद्यालयले जनाएको छ ।
Previous Articleमंगला गाउँपालिकाको बजेट पारित
Next Article बेनीमा चर्चीत दुस्मनको आगमन