पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको आइतबार बाबियाचौरमा सम्पन्न सातौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड तीनलाख छ सय रुपैयाँको बजेट पारित गरेको छ ।
असार ९ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सातलाख छ सय ९२ र पुँजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार रुपैयाँ बजेट प्रस्ताव गरेकी थिइन् । गाउँसभाका सदस्यहरुबीच छलफलपछि सर्वसम्मत रुपमा बजेट पारित भएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिए ।
बजेटका विषयमा गाउँसभाका सदस्यहरुले राखेका जिज्ञासा र प्रश्नको अध्यक्ष शतप्रसाद रोका, उपाध्यक्ष केसी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जवाफ दिएका थिए । गाउँसभामा वडा न. २ का अध्यक्ष धनबहादुर खाती क्षेत्रीले प्रस्तुत गरेको विनियोजन विधेयक–२०७६, आर्थिक विधेयक–२०७६ पनि पारित भएको छ । गाउँसभाले वडास्तरमा प्रदेश र संघीय सरकारका लागि प्रस्ताव गरिने आयोजनाहरु समेत छनौट गरेको छ ।
गाउँपालिकाको क्षमता, स्रोत र साधनले नसक्ने आयोजना सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग माग गरिने भएको छ । गाउँसभाको समापन गर्दै अध्यक्ष रोकाले विनियोजन भएको बजेटको सदुपयोग, प्रभावकारी कार्यान्वयन, पारदर्शी र उपलब्धिमूलक बनाएर जनताले सुविधा पाउने तथा विकासको अनुभव गर्ने बातावरण बनाउनका लागि कार्यान्वयनमा सबैको सक्रिय साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।
मंगलाले सडक, कृषि, पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम बनाएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा र वस्ती जोड्ने सडकलाई स्तरोन्नति गरी वातावरणमैत्री बनाउने र नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्य राखिएको छ ।
Previous Articleमतपत्र च्यात्नेलाई एक लाख जरिवाना
Next Article ज्ञानप्रकाश मावि नमुना विद्यालयमा छनौट