भरतपुर महानगरपालिकाको चुनावको मतगणनाको क्रममा मतपत्र च्यात्ने दुईजनालाई अदालतले दोषी ठहर गर्दै एक लाख जरिवाना फैसला गरेको छ ।
निर्वाचन कसुर सम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले २ वर्षपछि गत जेठ ३१ गते दोषी ठहर गरेको थियो । तर, उनीहरुको कसुर निर्धारण भने गरेको थिएन ।
सोमबार जिल्ला अदालत चितवनका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजालासले भरतपुर महानगरपालिका-१९ को मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यात्ने पूर्वमाओवादी केन्द्रका कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेलाई दोषी ठहर गर्दै एक लाख जरिवाना गरेको हो ।
निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार यस्ता दोषीलाई एक लाख जरीवाना वा दुई वर्ष जेल वा दुवै सजाय हुने व्यवस्था छ ।
यसअघि नै उनीहरुले धरौटीमा छुट्दा एक लाख रकम बुझाएका कारण थप रकम भने बुझाउन नपर्ने अदालतका श्र्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा २०७४ जेठ १४ गते मध्यरातमा उनीहरुले मतपत्रहरु च्यातिएका थिए ।
कुल २९ वटा वडाहरु रहेको भरतपुरमा वडा नं. १९ को मत गनेर लगभग सकिन लागेको थियो ।
गन्न बाँकी वडा नम्वर २० मात्रै थियो । मतपत्र च्यातिएपछि भरतपुर-१९ मा साउन २० मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो ।
उक्त चुनवामा कांग्रेस-माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराएकी थिइन् ।
मतपत्र च्यात्नेलाई गत असार ९ गते नेकपा चितवनले जिल्ला कमिटी सदस्य बनाएको छ ।