पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । आइतबार गाउँपालिका केन्द्र दरबाङमा आयोजित गाउँपालिकाको तेस्रो गाउँसभामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले समृद्ध गाउँपालिकाको खाकासहितको वार्षिक नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
गाउँपालिका अध्यक्ष रोकाले गाउँसभाको उद्घाटन गर्दै विगत दुई वर्षको अनुभव र सिकाइका आधारमा गाउँपालिकाको विकास र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याएको बताए । गाउँसभामा पेश भएको आगामी वर्षको नीति तथा कार्यक्रममा गाउँपालिका सडकहरुलाई स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालन गरिने उल्लेख गरिएको छ । एक वडा एक सडक गाउँस्तरीय योजनाको रुपमा निर्माण गरिने नीति मालिकाले ल्याएको छ ।
आगामी पाँचवर्ष भित्र १० किमी सडकलाई पक्की बनाउने गुरुयोजना अनुसार आउँदो वर्षमा एक किमी सडकलाई कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राख्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सडकलाई व्यवस्थित बनाउन मर्मतसम्भार कोषको स्थापनाका लागि “मेरो सडक मेरो पनि लगानी, गाडी नचल्दा हामीलाई नै हुन्छ हैरानी” कार्यक्रम अन्तर्गत ३ प्रतिशत रकम जुटाई मर्मतसम्भार कोष खडा गरिने नीतिमा उल्लेख गरिएको छ । गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई व्यवस्थित बनाउन पार्किङको व्यवस्था गरिने, दरबाङदेखि बेनीसम्म वर्षैभरी यातायात सञ्चालनका लागि गाउँपालिकाले सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ ।
नयाँ प्रविधिमा आधारित र समुदायको सहभागितामा लिफ्ट सिँचाइको लागि संघीय, प्रदेश तथा विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्ने उल्लेख गरिएको छ । यसैगरी गाउँपालिकाभित्र विना स्वीकृती मापदण्ड विपरीत प्लटिङ गरी बेच्ने कार्यलाई निरुत्साहित गरिने, सबैको रहर स्वच्छ, सुन्दर समृद्ध दरबाङ शहर सुरक्षित गाउँ बनाउन र सम्भावित भूकम्पीय जोखिमबाट हुन सक्ने क्षतिलाई न्युनीकरण गर्न तथा घर नक्सा पास कार्यलाई व्यवस्थित गर्ने नीतिमा समावेश गरिएको छ । “घरघरमा उज्यालो हाम्रो शान, उज्यालो मालिका गाउँपालिका निर्माण हाम्रो अभियान” कार्यक्रम सञ्चालन गरी तीन वर्षभित्र उज्यालो गाउँपालिका घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
दाङखोला, रितुङखोला, खोप्तीखोला, दुखुखोला, शिवरात्रीखोलामा सम्भावित लघुजलविद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्ने, छिमेकी गाउँपालिकाको समन्वयमा सामुदायिक एफएम सञ्चालन गर्ने उल्लेख गरिएको छ । यसैगरी उपाध्यक्षसँग स्वास्थ्य सरसफाई कार्यक्रम सञ्चालन गरिने मालिकाले नीति लिएको छ ।
खेलकुद विकासमा समय दान, प्रत्येक वडामा खेलमैदान निर्माण, अध्यक्ष कप खेलकुद प्रतियोगिता, उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने नीति लिएको छ । विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, संस्थागत विकास, राजश्व परिचालन, वित्तीय व्यवस्थापन, वित्तीय जोखिम न्युनीकरण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, आन्तरिक र अन्तिम लेखापरीक्षण जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । गाउँसभामा अध्यक्ष रोकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि गाउँसभाका सदस्यहरुले दिएको सुझावहरुलाई समावेश गरी आजै गाउँसभाबाट पारित गरिएको उपाध्यक्ष खरमाया बिटालुले बताइन् ।