यस वर्ष केही ढिलो गरी प्रवेश गरेको मनसुनले शनिबारदेखि मध्य नेपालमा आफ्नो प्रभाव जमायो । मनसुनी वर्षाले शनिबार बेलुका देखि म्याग्दी लगायतका जिल्लाहरुमा देखाएको प्रभावले गर्दा कृषिमा आवद्ध नेपाली जनतामा निकै खुशी छाएको छ । आकासे पानीको भरमा खेतीपाती गर्ने नेपाली समाजका लागि वर्षातको समयमा आकासबाट पर्ने पानी नै खेतीकालागि मुख्य सिंचाइको आधार हो । नेपाली समुदाय अधिकांस कृषिमा आवद्ध रहेको छ भने अर्को माध्यम भनेको बैदेशिक रोजगारी हो । नेपालमा वर्षेनि एक लाख भन्दा बढी श्रमबजारमा आउने गरेको यथार्थ हो तर श्रमबजारमा आउने मध्ये कतिले रोजगारी पाएका छन् भन्ने तथ्य भने कसै सँग पनि छैन । श्रमबजारमा आएका नेपालीहरुलाई उनिहरुको क्षमता अनुरुपको रोजगारी सृजन ागर्न नसक्नु कस्को कमजोरी भन्ने छर्लङ्ग हुदा हुदै पनि त्यस तर्फ कसैले सोच्न नसकेकै हो कि?
अहिले आकासे पानी परेकै आधारमा मानिसहरु खुशी हुन पर्ने अवस्था छ । किन यस्तो भयो भन्ने तर्फ लाग्न भन्दा पनि यथार्थ धरातल नै यही भएपछि कसको के लाग्ने रहेछ र । जे भए पनि वैदेशिक रोजगारी भन्दा पहिला आम नेपालीहरुले सोच्ने भनेको कृषि क्षेत्र नै हो । कृषि क्षेत्रमा आम्दानी राम्रो हुने भए पनि त्यसलाई व्यवस्थीत र उत्पादीत सामग्रीको बजार ग्यारेन्टी नभए सम्म कसले पो त्यस तर्फ सोच्न लाग्छ र भन्ने पनि हो । हुन त वैदेशिक रोजगारीमा पुगेर फर्केपछि मात्र नेपाली युवाहरु कृषि तथा पशुपालन क्षेत्रमा लाग्ने गरेको यथार्थ पनि कसैको माझ लुकेको छैन ।
राज्यले जेठ १५ गते बजेट वक्तव्य ल्याउनका लागि संविधानमै व्यवस्था गरेको छ । त्यस्तै अन्य प्रकृयाहरु पनि संविधानमा अधिकांस प्रविष्ट गरेको छ । तर मनसुन अनि बालि लगाउने प्रसंग भने संविधानमा लेखेर वा त कानुन बनाएर गर्ने कुरा होइन । त्यसैले हामी नेपालीहरु आकासे पानीको भरमा खेतीपाती गर्ने भएको कारणले गर्दा अब कुनै पनि हालतमा यस्तो अवस्थाबाट छुटकारा पाउनका लागि हामी अगाडी बढ्नु पर्ने पक्का पक्की हो । त्यसका लागि सिंचाईको उचित व्यवस्था गर्नका लागि राज्यले लगानीगर्नु पर्ने हुन्छ । राज्यको मात्र भर पर्ने भन्ने पनि होइन । त्यसका लागि हामीले पनि आफ्नो तबरले लगानी गर्नु पर्ने र बनेको संरचनालाई मर्मत गर्ने र जोगाउने पनि हाम्रो जिम्मेवारी भित्रको कुरा हो । त्यसैले कृषिमा आधुनिकिकरण गर्नुका साथै नयाँ प्रविधि भित्राएर कृषि उत्पादन बढाउन तर्फ लाग्ने कि?