जिल्ला भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी सदरमुकाम बेनीदेखि नजिकको पर्यटकीयस्थल लभ्लीहिल पु¥याउनका लागि निर्माण थालिएको पदमार्ग निर्माणकार्य अझै सकिएको छैन । मोना–बेनी–लभ्लीहिल पदमार्गको नाम दिएर चालु आर्थिक वर्षको गत भदौ ८ गते शिलान्यास गरिएको पदमार्ग निर्माणको काम अत्यन्तै सुस्त गतिमा भैरहेको छ ।
शिलान्यास भएको झण्डै ६ महिनापछि गएको माघ २८ गतेबाट निर्माण सुरु गरिएको पदमार्गको हालसम्म भौतिक प्रगति करिब ६० देखि ७० प्रतिशत मात्रै भएको बेनी नगरपालिकाका इन्जिनियर हरि आचार्यले बताए । उनका अनुसार हालसम्म १ हजार ५५ ओटा सिँढी बनाइएको पदमार्गको स्टिमेट अनुसार ६ सय ७७ मिटर लम्बाई रहेको छ । २ मिटर चौडाईको सिँढीमा ६ इन्च उचाई रहेको छ भने पैताला १२ देखि १४ इन्चसम्म रहेको उनले बताए । पदमार्गको दुवैतर्फ रेलिङ हालिने भएको छ ।
पदमार्ग निर्माणको कुल लागत अनुसार अहिलेसम्म रनिङ बिलको आधारमा ४२ लाख रुपैयाँ भुक्तानी भैसकेको इन्जिनियर आचार्यको भनाइ छ । चालु आवको असार मसान्तसम्म पदमार्ग सक्नुपर्ने भए पनि यसअघि मोनाले समयमा पैसा उपलब्ध गराउन नसक्दा पदमार्ग निर्माणको काम रोकिएको उनले बताए । पदमार्गको प्रारम्भिक चरणमा ५७ लाख आठहजार नौसय छ रुपैयाँ लागत अनुमान गरिए पनि हाल ७९ लाखमा पदमार्ग सम्पन्न गर्नेगरी काम भैरहेको जनाइएको छ । पदमार्गको करिब १ सय मिटर निर्माणकार्य र रेलिङ लगाउने काम भने बाँकी नै रहेको छ ।
सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तव्यको रुपमा विकसित भैरहेको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्गमा आवश्यक जनशक्तिको अभाव, वर्षात्को समय जस्ता कारणले तोकिएको समयमा पदमार्ग निर्माण हुन नसकेको हो । म्याग्दी नदीमाथि रहेको बेलिब्रिज नजिकैबाट लभ्लीहिलसम्म पुग्ने पदमार्ग निर्माणमा बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि मोना–बेनी–लभ्लीहिल पदमार्ग नामाकरण गरी पदमार्ग निर्माणको काम अगाडि बढाइएको थियो ।
बेनी–बगरफाँट सडक नजिकबाट सुरू गरिएको पदमार्गको सिँढी निर्माण र ढलानसहित आवश्यक संरचनाहरु बनाउने कामलाई तिव्रता दिइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । उनका अनुसार पदमार्ग निर्माणमा खटिएको कामदारको जनशक्तिलाई कालीगण्डकी नदीमा तटबन्ध लगाउन लगेपछि पदमार्ग निर्माण केही ढिलाई हुन गएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई चिनाउने अभियानलाई पदमार्ग निर्माणमा बेनपाले ५०, मोना आईइसीले ४० र म्याग्दी उद्योग वाणिज्य संघले १० प्रतिशत रकम बेहोर्ने गरी त्रिपक्षीय साझेदारीमा पदमार्ग निर्माणको काम अगाडि बढाइएको थियो ।
बेनी नगरपालिकाले नगर क्षेत्रभित्रका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा विकासमा जोड दिने भने पनि निर्माण थालिएका योजनालाई ताकेता लगाउन नसक्नु, अनुगमन नगर्नु जस्ता कारणले गर्दा योजनाहरु समयमै निर्माणसम्पन्न हुन सकिरहेका छैनन् । नगरपालिकाले समेत पदमार्ग निर्माणमा ध्यान नदिँदा बेनी–लभ्लीहिल पदमार्ग निर्माणमा ढिलाई भैरहेको छ ।
Previous Articleडाँडागाउँमा व्यावसायिक कुुखुरापालन तालिम
Next Article महामारी समबन्धी अभिमूखिकरण