जनचेतनाको अभावमा महिलाहरुको पाठेघरमा समस्या बढ्दै जान थालेको पाइएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनामा आयोजित स्त्री रोगसम्बन्धी बृहत स्वास्थ्य शिविरमा केही महिलामा पाठेघरको मुखमा क्यान्सरको जोखिम देखिएको हो ।
स्वास्थ्य कार्यालयको आयोजना, घवलागिरी गाउँपालिकाको सहआयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालित स्वास्थ्य शिविरमा नियमित चेकजाँचको अभावमा रोग लुकाउने गरिएको बताइएको थियो । गाउँमै स्वास्थ्यचौकी भए पनि नियमित चेकजाँच तथा परामर्शको अभावमा मुनासहित गाउँपालिकाभित्रका विभिन्न वडाबाट शिविरमा आएका महिलामा स्तन तथा पाठेघर क्यान्सर समस्या देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद आचार्यले बताए । उनका अनुसार स्त्रीरोग शिविरमा भेटिएका महिलाले जटिल समस्यालाई सामान्य भन्दै आफ्ना घर परिवारका सदस्यलाई समेत जानकारी नगराउने गरेको पाइएको बताए ।
शिविरमा सामान्य चेकजाँचतर्फ ६ सय ७०, दन्तसेवा ९२ मध्ये ५२ जनाको दाँत झिकिएको, भिडियो एक्सरे ८९ जना, सुगर परीक्षण २ सय ८५, माइनर अप्रेसन ४ जना, हाईड्रोसिल, हर्नियाका २ जनाको पहिचान, परिवार नियोजन सेवा अन्तरगत इम्पलान्ट लगाउने ४ जना, आयुसिडी लगाउने १ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । शिविरमा गाँउपालिका उपाध्यक्ष रेशम छन्त्यालले ग्रामीण क्षेत्रका महिलामा देखिएको समस्यालाई आगामी दिनमा समेत शिविरसहित घरदैलोमै पुगेर सेवा दिने प्रतिबद्धता जनाएका छन् ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा. हेमा छन्त्याल, डा. विवेक सुनार, डा. मनु विक, डा. अनिल पाण्डे, डा. तिलक गौतमलगायत १८ जना स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए । शिवरले ग्रामीण क्षेत्रका महिलामा रोगको पहिचान नहुँदा पीडालाई लुकाउने, जटिल अवस्थामा मात्रै स्वास्थ्यचौकीमा जाने गरेको पाइएको छ । शिविरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । यसअघि रघुगंगा गाउँपालिकाको झीँमा आयोजित शिविरमा करिब ४ सयले सेवा लिएका थिए ।
Previous Articleमन्टेश्वरी शैक्षिक तालिम सम्पन्न
Next Article रोजगारी सिर्जना गर्नेगरी योजना बनाउन माग