नारच्याङका स्थानीयवासीले आगामी वर्ष रोजगारी सिर्जना गर्नेगरी युवालक्षित नीति, बजेट तथा योजना बनाउन माग गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को विकास योजना र सेवा प्रवाहबारे बस्तीस्तरको गुनासो सुन्न र सुझाव सङ्कलन गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाईमा उनीहरुले यस्तो माग गरेका हुन् ।
गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको समन्वयमा वडानम्बर–४, नारच्याङमा भएको कार्यक्रममा युवाहरुलाई रोजगारी सिर्जना गर्ने गौरवका योजनाहरु बनाउन स्थानीयले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका थिए । विगतमा सञ्चालन भएका टुक्रे योजनाहरुले गुणस्तर काम हुन नसकेको बताउँदै आगामी आर्थिक वर्ष गौरवका योजना बनाएर लागू गर्न स्थानीयको माग छ ।
गाउँपालिकाबाट चालु वर्षमा सञ्चालन गरिएका योजनाहरु सम्पन्न भए पनि भुक्तानी लिने प्रक्रियामा ढिलासुस्ती, कृषि बिउबिजनसम्बन्धी तालिमको अभाव, स्वास्थ्य केन्द्रमा औषधी नहुनु, सुरक्षा अवस्था कमजोर, नारच्याङमा हाईड्रो सञ्चालनमा रहेपनि युवाहरुले रोजगारी नपाएको, महिलाको क्षमता अभिवृद्धि हुने खालका तालिम तथा गोष्ठीको अभाव, होमस्टे कार्यक्रमको जानकारी नभएको, पर्यटन प्रवद्र्धनात्मक गुरुयोजना नबनेको, स्वास्थ्यसम्वन्धी सचेतनामूलक कार्यक्रमहरु बस्तीस्तरमा नभएको जस्ता गुनासा सहभागीले गरेका छन् ।
स्थानीयवासीको गुनासोलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजाले गाउँको विकास र रोजगारका लागि राजनीतिक दल र धर्मको पछाडि लागेर विकासमा अवरोध सिर्जना नगर्न स्थानीवासीलाई आग्रह गरेका थिए । उनले स्थानीय स्रोतसाधनलाई परिचालन गरेर दीगो रोजगारी सिर्जना हुने योजनाहरु छनोट गर्न आग्रह गर्दै गाउँपालिकाले आगामी आर्थिक वर्षमा युवालक्षित रोजगारी सिर्जना गर्न गौरवका योजना छनोटमा लागेको समेत जानकारी दिएका छन् । वडा र पालिकामा खटिएका कर्मचारीलाई विकास निर्माण र सेवा प्रवाहमा जनताको मन जित्ने गरी काम गर्न अनुरोध गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले कर्मचारी समायोजनले गाउँपालिकामा कर्मचारीको अभावले सेवा प्रवाहमा ढिलासुस्ती भएको बताउँदै कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर योजना निर्माण गर्ने बताए । उनले सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधीको अभाव हुन नदिन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् । नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले सेवा प्रवाहमा भएको कमी कमजोरीलाई सुधार गर्दै आगामी आर्थिक वर्षमा जनसङ्ख्या र भूगोलको आधारमा योजना छनोट गर्ने बताए ।
सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले विकास योजना कार्यान्वयनमा रहेका उपभोक्ता समितिले प्रचलित नियम कानुन अनुसारको कागजपत्र लिएर गाउँपालिकामा सेवा लिन आउन आग्रह गरेका छन् । शिक्षा शाखाका संयोजक भरत पुनले एक विद्यालयबाट अर्का विद्यालयमा विद्यार्थीलाई भर्ना गराउन अनिर्वाय रुपमा सर्टिफिकेट लिनुपर्ने व्यवस्था लागू गराउन विद्यालयलाई अनुरोध गरेका थिए । गाउँपालिका अध्यक्ष गर्बुजाको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमको म्याग्दी मिडिया सोसाइटीका सचिव अमित विश्वकर्मा र सदस्य धिरन खत्रीले सहजीकरण गरेका थिए ।
Previous Articleजनचेतनाको अभावमा पाठेघरको समस्या बढ्दै
Next Article निजी स्वास्थ्य संस्था तथा क्लिनीकमा अनुगमन