समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सोमबार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको वुद्धि विकास माविमा एकदिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना, इलाका प्रहरी कार्यालय दरबाङको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा प्रहरीको अभियान डरलाग्दो नभई रहरलाग्दो भएकाले सहकार्यको अपेक्षा गरिएको बताइएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बालबालिकाको प्रयासमा समाजमा अपराध रोकथाम, सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गराउने अभियानलाई प्रभावकारी बनाउने बताए । उनले गाउँपालिकाबाट बालहिंसाको अन्त्य तथा बालविवाहलार्ई निरुत्साहित गर्ने कार्यक्रमलाई तीव्रता दिएको बताउँदै गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा विभिन्न कार्यक्रममार्फत जनचेतना फैलाउनुका साथै बालबालिकालाई समाजप्रति जिम्मेबार बनाउने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले विद्यालय केन्द्रित कार्यक्रमहरुले बालबालिकालाई सचेत बनाउने बताएका छन् । इलाका प्रहरी कार्यालयका निरीक्षक रामप्रसाद पाण्डे र सहायक प्रहरी निरीक्षक नवीन चालिसले अपराध, बिकृति, दुव्र्यसनी न्युनीकरण लगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सवबहादुर घर्ती, स्वागत निमित्त प्रअ टिकाराम सुवेदी, स्वागत लोकबहादुर घर्ती र सञ्चालन शिक्षक चिरञ्जीवि पौडेलले गरेका थिए । कार्यक्रममा वुद्धि विकास माविका कक्षा ८, ९ र १० का विद्यार्थीको सहभागिता रहेको थियो ।
Previous Articleसार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयको गुनासा
Next Article कहिले सम्म त्रास