सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले गुनासै गुनासा गरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा सोमबार गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासिन्दाले विकास निर्माण, कार्यालयको कामकारवाही र जनताले भने जस्तो सेवासुविधा पाउन नसकेको भन्दै गुनासो पोखेका हुन् ।
कार्यक्रममा स्थानीयले नियमित रुपमा अवरुद्ध हुने विद्युतको समस्याले हैरानी व्यहोर्नुपरेको, मिटर रिडिङ गर्ने व्यक्ति घरघरमा नपुगेको, विद्युत मशसुल बुझाउन सदरमुकाम पुग्नुपर्ने झण्झट रहेको भन्दै सम्बन्धित कार्यालयसँग समन्वय गरी समस्या हल गर्न गाउँपालिका र जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा सहभागी स्थानीयवासीले वडा कार्यालयमा तत्काल वडा सचिवको व्यवस्थापन गर्न, भौतिक पूर्वाधारयुक्त स्वास्थ्यचौकीमा स्तरीय स्वास्थ्य सेवाको लागि जनशक्ति र अत्यावश्यक औषधीको बन्दोबस्त गर्न माग गरे ।
यसैगरी उनीहरुले कृषिलाई आधुनिकीकरण गर्न बजेट व्यवस्थापन गर्न, महिला सामुदायिक भवनको घेराबारको लागि बजेट व्यवस्थापन गर्न, कृषि र पशुपालनमा अनुदानको व्यवस्था गर्न तथा युवाहरुको लागि खेलमैदान निर्माण गर्न माग गरेका छन् । त्यस्तै सहभागीहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने, सामुदायिक विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिकमा भर्ना गराउनुपर्ने, बालशिक्षाका सहयोगी कार्यकर्ताहरुलाई प्रोत्साहनको व्यवस्था गर्नुपर्ने, गाउँपालिकाको ढुवानी दररेट परिवर्तन गर्नुपर्ने र सडक सञ्जालको पहुँचलाई सहज बनाउनुपर्ने लगायतका माग गरेका थिए ।
कार्यक्रममा सहभागीले उठाएको जिज्ञासा र प्रश्नको उत्तर दिँदै गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गाउँपालिकाले टुक्रे योजनालाई निरुत्साहित गर्न लागेको बताउँदै बस्तीस्तरका अत्यावश्यक र दिर्घकालीन योजनाहरुलाई आगामी आर्थिक वर्षको लागि प्राथमिकतामा राखिने जानकारी दिइन् । उनले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकाससँगै महिलाहरुको क्षमता विकासका कार्यक्रमहरुलाई गाउँपालिकाले जोड दिएको बताउँदै बस्तीस्तरमा भित्रिने योजनालाई प्रभावकारी कार्यान्वयनमा जुट्न आग्रह गरेकी छिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले चालु आर्थिक वर्षमा गाउँपालिकाबाट सञ्चालन भएका पूर्वाधार निर्माण र अन्य कार्यक्रमहरु अधिकांश सम्पन्न भैसकेको बताउँदै बस्तीस्तरबाट गाउँपालिकाको सेवा प्रवाहको अवस्था र विकास निर्माण तथा कार्यक्रमको प्रभावकारीतालाई बुझ्नका लागि हरेक वडामा सार्वजनिक सुनुवाई गर्न सुरु गरिएको बताए ।
सार्वजनिक सुनुवाइमा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामीले गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लागिपरेको बताउँदै विद्यार्थी, अभिभावक र समुदायस्तरबाट समेत शिक्षाको क्षेत्र सुधारमा रचनात्मक सहयोग हुनुपर्ने बताए । कार्यक्रममा राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजाले वडाको सबै बस्तीका योजनाहरुलाई कार्यान्वयनमा जुटेको बताउँदै आगामी वर्षका लागि दीगो र उपलब्धिमूलक योजनाहरुलाई प्राथमिकता दिइने बताए ।
उक्त कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखाका संयोजक भरत पुन, योजना शाखाका हरिकृष्ण आचार्य, पशु सेवा शाखाका कृष्ण चौधरीले पनि सहभागीले उठाएका पश्नको जवाफ दिएका थिए । गाउँपालिकाका उपाध्यक्ष मगरको अध्यक्षता, म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्री र सदस्य प्रताप बानियाँको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleकांग्रेसको हिस्तानमा जागरण अभियान
Next Article वुद्धि विकासमा लागूपर्दाथविरुद्ध सचेतना कार्यक्रम