राष्ट्रिय रुपमा नेपाली कांग्रेसले सुरु गरेको जागरण अभियान अन्तरगत नेपाली कांग्रेस म्याग्दीले सोमबार अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा आमसभा तथा कार्यकर्ता भेटघाट गरेको छ ।
नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दीका सदस्य तथा जागरण अभियानको संयोजक ओम छन्त्यालले वर्तमान सरकारले राष्ट्रविरुद्ध दमन गरेको र दुई तिहाइको दम्भ देखाएको आरोप लगाए ।
नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले नेपाली कांग्रेसले सरकारले गरेको गलत कामको सधैं विरोध गरेको बताउँदै कांग्रेस स्थापना कालदेखि नै जनताको सेवामा लागेको र अहिले पनि जनताको साथमा रहेको बताए । कार्यक्रममा नेपाल महिला संघ म्याग्दीका सभापति बिमला गौचनले अहिलेको सरकारले महिलाहरुको लागि कुनै पनि काम नगरेको हुँदा आफ्नो अधिकारको लागि सडकमा जानुपर्ने बाध्यता आउन लागेको बताइन् ।
कार्यक्रममा जागरण अभियानका सह–संयोजक हिरा पुन मालिका, यामबहादुर पूर्जा, टिका घताने, टिकाराम पुन, तुलबहादुर गर्बुजा र कुमबहादुर पुनले बोलेका थिए । कार्यक्रम वडा अध्यक्ष तथा नेपाली कांग्रेसको गाउँ इकाई सभापति गमबहादुर पुनको अध्यक्षता र जिल्ला सदस्य मनकुमारी विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Article‘पत्रकारको हत्या गर्ने दोषीलाई उन्मुक्ति दिनुहुँदैन’
Next Article सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयको गुनासा