नेपाल पत्रकार महासंघले पत्रकारको हत्या गर्नेलाई कारवाही गर्न माग गरेको छ । राज्य पक्षले पत्रकार कृष्ण सेन इच्छुकलाई मारेको दिन पारेर महासंघले स्मृति सभा आयोजना गरेर दोषीलाई कारवाही गर्न माग गरेको हो ।
राज्य र विद्रोही पक्षबाट मारिएका पत्रकारहरुको सम्झनामा आयोजना गरिएको स्मृति सभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले अहिलेसम्म राज्य र विद्रोही पक्षबाट ३७ जना पत्रकारहरु मारिएको तर दोषीलाई कारवाही नभएको भन्दै उनीहरुलाई कडा कारवाही गर्न माग गरे ।
’३७ जना पत्रकारको कुनै पनि युद्ध वा भिडन्तका क्रममा नभई दुवै पक्षले नियन्त्रणमा लिइसकेपछि हत्या गरिएको हो । तर, दोषीलाई उन्मुक्ति दिएर दण्डहिनताले प्रश्रय पाइरहेको छ, दोषीलाई कारवाही हुनुपर्छ’, अध्यक्ष आचार्यले भने । यो विषयलाई महासंघले गम्भीरताका साथ उठाउने उनले बताए । आगामी वर्ष सबै जिल्लामा स्मृति सभा गरिने उनले जानकारी दिए ।
महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारहरु समाचार लेखेकै आधारमा मारिनु दुःखद् भएको भन्दै महासंघले यसको विरोधमा आवाज उठाइरहेको बताए । त्यस्तै महासंघका पूर्व महासचिव उजिर मगरले कृष्ण सेनको हत्या गरिएको दिनलाई आधार मानेर हत्या गरिएको पत्रकारहरुलाई सम्झिनु सह्रानीय भएको धारणा राखेका थिए ।
Previous Articleविप्लव भन्छन्- मारिएका चारै जना आफ्ना कार्यकर्ता
Next Article कांग्रेसको हिस्तानमा जागरण अभियान