म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोरेपानीमै सडक सञ्जाल पुग्ने भएको छ । अन्नपूर्ण गाउँपालिका–६, चित्रेदेखि घोरेपानी जोड्ने सडकको बिहीबारदेखि विस्तार कार्य सुरू गरिएको हो ।
लामो समयसम्म सडक विस्तारमा देखिएको विवाद समाधान भएसँगै गण्डकी प्रदेशमार्फत विनियोजित ५० लाख रुपैयाँको बजेटले सडक विस्तारको कार्य सुरू भएको चित्रे–घोरेपानी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष विरेन पुनले बताए । ‘सडक विस्तारको कार्यले तीव्रता पाउने छ, ‘प्रदेशको राजधानी जोड्ने लक्ष्य समेत रहेको छ’ उनले भने । उनका अनुसार करिब ५ किलोमिटर सडक विस्तारसँगै घोरेपानीमा सडक पुग्ने बताए ।
उक्त सडकका लागि प्रदेश सांसद विनोद केसीको पहलमा ५० लाख विनियोजन भएको थियो । चित्रे हुँदै घोरेपानी पुग्ने सडकलाई भविष्यमा कास्कीको उल्लेरी हुँदै पोखरा जोड्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताएका छन् । ‘सडक सञ्जाल विस्तार गरिए पनि पदमार्गलाई समेत सहज आवतजावत गर्ने गराउँछौं, ‘सडक पदमार्ग दुवैलाई सँगसँगै लैजान्छौ’ अध्यक्ष पुनले भने । सडक सञ्जाल विस्तारको क्रममा लालीगुराँसको जङ्गललाई असर नगर्ने गरी विस्तार गरिने बताउँदै उनले अपुग बजेट प्रदेश सरकारबाट थप तथा गाउँपालिकाबाट समेत उपलब्ध गराउने बताए ।
सडकको विकास र विस्तार स्थानीयको माग र आवश्यकता भएको बताए । सडक सञ्जालसँगै पोखरेबगर भएर आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल समेत बढ्ने अनुमान गरिएको छ । कच्ची सडकका कारण पदमार्ग जिर्ण बन्दै गैरहेको अवस्थामा घोरेपानीमा सडक पुग्नु पदयात्रीलाई असहज भए पनि विकासको आधार सडक नै भएकाले स्थानीयको चाहना अनुसार सडक विस्तार गरिएको जनप्रतिनिधिको भनाइ छ ।
वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा, नेकपाका नेता नारायण पुनलगायत स्थानीय अगुवाको उपस्थिति रहेको थियो । अन्नपूर्ण पदमार्ग अन्तरगत रहेको घोरेपानी, पुनहिल जिल्लाकै प्रमुख तथा विश्वमै एकपटक पुग्नैपर्ने पर्यटकीय गन्तव्यको सूचीमा रहेको छ ।
Previous Articleअध्यक्षले दिए क्याम्पसलाई आफूले पाएको सेवासुविधा
Next Article दोवामा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम